बुद्धजयन्तीमा सामूहिक कार्यक्रम स्थगित, धर्मशीला बुद्धविहारले अनलाईन मार्फत बुद्धपूजा गर्ने

पोखरा, बैशाख २५ गते ।
आज २५६४ औं बुद्धजयन्ती, कोभिड १९ संक्रमण जोखिमका कारण यसवर्ष बुद्धजयन्ती मूल समारोह कार्यक्रम आयोजना गरिएको छैन । पोखरामा बौद्ध गुम्बा तथा विहारमा पनि सामूहिक पूजापाठको कार्यक्रम स्थगित गरिएका छन् । पोखरा नदीपुरमा रहेको धर्मशीला बुद्धविहारले आज अनलाईन एवं रेडियो मार्फत बुद्धपूजा तथा धर्मदेशना गर्ने भएको छ । विहान ७ देखि ७ः४५ बजेसम्म धर्मशीला बुद्धविहारको अनलाईन र पोखरा एफ.एम.मार्फत बुद्धपूजा, शील प्रार्थना र धर्मदेशना हुने भएकाले सबैजना घरमै बसी ग्रहण गर्न सक्ने बुद्धविहार प्रमुख भिक्षु धज्जवन्तोले जानकारी दिनुभयो ।
बुद्धजयन्तीकै अवसरमा विभिन्न संघसंस्थाको संयोजनमा धर्मशीला बुद्धविहारमा भोजन दान गरिएकोे छ । युवा बौद्ध संघ, ईच्छाशक्ति अटोमोबाईल, सिद्धि सेतुली स्मृति प्रतिष्ठान, ईनर व्हील क्लब पोखरा मिड टाउन, मिलिजुली बुहारी समूह, भौमचा गु्रप र बौद्ध उपासिका संघद्धारा छुट्टाछुट्टै दिन विपन्न तथा मजदुर परिवारका लागि भोजन दान गरिएको हो ।
यसैगरि युवा बौद्ध संघले आज रक्तदान कार्यक्रम गर्दैछ । विहान साढे आठ बजे रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुदिप बुद्धाचार्यले जानकारी दिनुभएको छ ।
पोखरा रामघाटमा रहेको बौद्ध अर्घौं सदनले पनि सामूहिक बुद्धपूजा कार्यक्रम स्थगित रहेको छ । गुम्बामा रहेका सिमित लामा गुरुहरुबाट सामाजिक दुरी कायम राखेर बुद्धपूजा गरिने बौद्ध अर्घो सदन पूर्व अध्यक्ष विल बहादुर गुरुङले जानकारी दिनुभयो । साथै सम्पूर्ण उपासक उपासिकाहरुलाई विहान आ–आफ्नो घरमा बुद्ध झण्डा फहराउन र साँझ दीप प्रज्जवलन गर्न अनुरोध गरेको छ ।
यस्तै पोखरा अनदुमा रहको विश्वशान्ति स्तुपामा भिक्षु र त्यहीका कर्मचारकिो उपस्थितिमा बुद्धपूजा हुने विश्वशान्ति स्तुप समिति अध्यक्ष शंकर गुरुङले जानकारी दिनुभयो । केभिड १९ संक्रमण जोखिमका कारण विश्वशान्ति स्तुपमा चैत्र ९ गतेदेखि नै सर्वसाधारणका लागि प्रवेश बन्द गरिएको छ ।
यसअघि पोखरामा रहेका बौद्ध संघसंस्थाहरुले हरेक वर्ष संयुक्त रुपमा मूल समारोह कार्यक्रम गर्दै आएको थियो ।

Comments are closed.