पोखरा १५ बैशाख/ भूकम्प पीडितलाई मध्यनजर गर्दै बुधबार पृथ्वी राजमार्ग बस संचालक समितिले काठमाडौंदेखि पोखरासम्म निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ । काठमाडौंमा अलपत्र परेका कास्की तथा आसपासका भूकम्प पीडितलाई सहयोग गर्ने उद्धेश्यले काठमाडौंदेखि पोखरासम्म निशुल्क सेवा दिन लागेको समितिले जनाएको छ ।
समितिले पीडितलाई पोखरासम्म ल्याउनका लागि ७० वटा गाडी निःशल्क गराउँदै छ । २0 वटा गाडी अहिले नै काठमाडौमा छन् । २५ बटा गाडी विहान नै काठमाडाैं गएका छन् भने २५ वटा बुधबार साँझ काठमाडौं पठाउन लागेको समितिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए । समितिले राहतको रुपमा बिशुल्क बस सेवा दिएको भन्दै आवश्यक परे अझै अरु दिन पनि सेवा थप गर्नसक्ने अध्यक्ष साईले बताए ।
‘माइक्रो, डिलक्स, मिनी तथा ठूला बसमा गरि निःशुल्क रुपमा पोखरा ल्याउने व्यवस्था मिलाएका छौं’ अध्यक्ष साईले भने, ‘आवश्यक्ता भन्दा बढी र ओभरलोड नगराइदिनको लागि हामी अनुरोध गर्दछौं ।’ काठमाडौंको कलङ्की तथा गोंगबु बसपार्कबाट बस छुट्ने ब्यवस्था मिलाईएको अध्यक्ष साईले बताए ।
Comments are closed.