पोखरा, २० असार/बैंकमा जम्मा गर्न लैजान लागेको रकम लुट्नेदेखि अवैध हतियार बोक्ने आरोप लागेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
पोखराका विभिन्न बैंकहरुमा जम्मा गर्न लैजान लागेको रकम लुटेर फरार भएका रोल्पाको घोडागाउँका विजय केसीलाई कञ्चनपुरबाट प्रहरीले पक्राउ गरेको हो । उनी हातहतियार खरखजनामा मुद्धामा पनि संलग्न भई पोखराबाट फरार अभियुक्त हुन् ।
केसीले २०७० साल भदौ २८ गते पोखराको कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी शालिग्राम पौडेलको साथबाट ९ लाख रुपैयाँ लुटेर फरार भएका थिए । एपेक्स बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गरेको अवस्थामा पौडेललाई केसी लगायतका व्यक्तिले ट्राफिक प्रहरी हौं भन्दै बाटो छेकेर रकम लुटेका थिए ।
यसैगरी, २०७१ साल बैशाख १५ गते यती डेभलपमेन्ट बैंकका कर्मचारी भगवान बराललाई गोली हानेर रकम लुटेको घटनामा पनि केसी संलग्न रहेको प्रहरीले जनाएको छ । बराललाई मेगा सहकारी न्यूरोडबाट रकम झिकेर फर्किँदै गर्दा गोली प्रहार गरी ३१ लाख ४२ हजार रुपैयाँ रकम लुटिएको थियो । उक्त घटनामा संलग्न शुसिल कुमार दुलाल जेल चलान भैसकेका छन् ।
यी दुई घटनासँगै अवैध हतियार बोकेको आरोपमा समेत प्रहरीले केसीमाथी मुद्धा दर्ता गराएको छ । यही असार १८ गते कञ्चनपुरबाट पक्राउ परेका उनलाई कार्वाहीका लागि जिल्ला अदालत कास्कीका पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Comments are closed.