ब्रह्माकुमारीज, पोखराद्वारा भर्चुअल विविध कार्यक्रमहरु

भर्चुअल विविध कार्यक्रमहरु यस

  ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, पोखराले सातौं अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा त्रिदिवसीय कार्यक्रमहरु सम्पन्न गरेको छ । जुमको माध्यमबाट ती भर्चुअल विविध कार्यक्रमहरु यस असार महिनाको ५, ६ र ७ गते (जुन १९, २० र २१) सम्पन्न भएका हुन् ।
प्रथम दिनको कार्यक्रममा “समृद्ध जीवनका लागि राजयोग मेडिटेशन” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । प्रशिक्षणमा राजयोग प्रशिक्षकद्वय ब्रह्माकुमारी सुधा र ब्रह्माकुमारी ईन्दिराले प्रशिक्षण दिनुभएको थियो भने ब्रह्माकुमारीज नेपालका सहनिर्देशक  राजयोगिनी कमला दिदीले राजयोगको महत्वको विषयमा मन्तव्य राख्नुभएको थियो । नेपाल तथा विदेशका विभिन्न स्थानबाट गरी करिब ४०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा राजयोगको विधि एवम् व्यवहारिक जीवनमा त्यसको प्रयोगको विषयमा प्रशिक्षण गराउँदै राजयोगको अनुभूति पनि गराइएको थियो ।
त्यस्तै दोस्रो दिनको कार्यक्रममा संस्थाका आन्तरिक सदस्यहरुका लागि “राजयोगद्वारा देवत्वतर्फको यात्रा” विषयक प्रवचन कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा संस्थाको पश्चिम नेपाल तथा बनारस, भारतका वरिष्ठ निर्देशक राजयोगिनी सुरेन्द्र दिदी, मुख्यालय माउण्ट आबूका वरिष्ठ राजयोग प्रशिक्षक एवं ब्रह्माकुमारीज युवा प्रभागका मुख्यालय संयोजक राजयोगी ब्रह्माकुमार आत्मप्रकाश र ब्रह्माकुमारीज, नेपालकी उपनिर्देशक राजयोगिनी दुर्गा दिदीले प्रवचन गर्नुभएको थियो । सो कार्यक्रममा करिब ३०० जनाको सहभागिता थियो ।
त्यस्तै तेस्रो दिन वर्तमान विषम परिस्थितिमा योगको भूमिका विषयक परिचर्चा कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा संस्थाको तर्फबाट ब्रह्माकुमारीज, नेपालका निर्देशक राजयोगिनी परनीता दिदी, महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बराल, राजयोग प्रशिक्षकद्वय ब्रह्माकुमारी अप्सरा र ब्रह्माकुमारी विष्णुले मन्तव्य राख्नुभएको थियो भने अन्य वक्ताहरुमा शिक्षा, संस्कृति, विज्ञान, प्रविधि एवं सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, आर्ट अफ लिभिङका प्रशिक्षक महेश्वर गिरी, पतञ्जली योग समिति गण्डकी प्रदेश संयुक्त प्रभारी दिपक सिग्देल, मानव धर्मका गण्डकी प्रदेश प्रभारी पिताम्बरा बाई, सत्य साई केन्द्र, गण्डकी प्रदेश प्रमुख राजेन्द्र कायस्थ, ब्राह्मण समाज नेपालका अध्यक्ष एवं विश्व हिन्दु महासंघ नेपालका सल्लाहकार शिक्षाविद् नारायण प्रसाद अधिकारी, विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष पार्वता पौडेल लगायतले योगको भूमिकाको विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । सो परिचर्चा कार्यक्रममा करिब २०० जनाको सहभागिता थियो ।

Comments are closed.