‘भगवती माघे संक्रान्ति महामेला’मादी किनारमा हुने

पोखरा, १३ पुस – मादी गाउँपालिकाको वडा नम्बर ११ मा पर्ने भगवती मन्दिर रहेको ठाउँमा ‘भगवती बजार माघे संक्रान्ति महामेला’ आयोजना भएको छ ।
वर्र्षाैंदेखि परम्परागत रुपमा हुँदै आएको मेला स्थानीयको तदारुकतामा यसपालि ‘भगवती बजार जाऔं,माघे सङ्क्रान्ति महा मेला भब्यरुपमा मनाऔं’ भन्ने नाराका साथ महामेलाको रुपमा आयोजना हुन लागेको छ ।
पुस २९ गतेदेखि माघ २ गतेसम्म ४ दिन विभिन्न कार्यक्रम सहीत भगवती माघे संक्रान्ति महामेला आयोजना हुने आयोजक समितिका संयोजक ईन्द्रप्रसाद गुरुङले जानकारी दिए । यसअघि भगवती मन्दिर नजिकै माघ १ र २ गते स्वस्फूर्त रुपमा संक्रान्ति मेला हुँदै आएको थियो । त्यही परम्परालाई धान्ने गरी व्यवस्थित रुपमा महामेला आयोजना हुन लागेको हो ।
महामेलाका अवसरमा भजन चुड्का, सोरठी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, भलिबल प्रतियोगिता, घाटु नृत्य प्रदर्शन, छेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी र कुर्ची तान्ने खेल सहित राष्ट्रिय तथा स्थानीय दोहोरी कलाकारको प्रस्तुति हुनुको साथै गाँउ घरमा रहेका प्रतिभाहरुको प्रतिभा समेत प्रस्फुटन गराउने अवसर प्रदान गरीने आयोजक समितिका सचिव धनप्रसाद गुरुङले जानकारी दिए ।
मेलामा ए बि सि च्यानलमा प्रशारण हुने ईन्द्रेणी कार्यक्रमको टिम समेत सहभागी हुने छ भने तरेली सांस्कृतिक परिवारको उत्कृष्ट नृत्य समेत प्रद्र्रशन हुने छ । कार्यक्रममा गरीव तथा विपन्न वर्गलाई लक्षित गरी निशुल्क स्वाथ्य शिविर र निशुल्क औषधि वितरण समेत हुने भगवती बजार महा मेला सचिवालय सदस्य ज्ञान बहादुर कार्कीले बताए । वडास्तरी पुरुष भलिबल प्रतियोगिताको विजेता टिमलाई नगद रु ५०,००० उप विजेता टिमलाई नगद रु ३०,००० र तृतिय हुने टिमलाई नगद रु २०,००० प्रदान गरीनुको साथै विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगितामा प्रथम,द्दितीय तथा तृतिय हुने विद्यालयलाई क्रमश रु २५,०००,१५,००० र १०,००० पुरस्कार राखिएको र छेलो (ठेलो) हान्ने प्रतियोगितामा प्रथम तथा द्दितिय हुनेलाई क्रमश नगद रु १०,००० र ५,००० प्रदान गरीने मेलाका सचिवालय कार्कीले बताए ।
‘आजभन्दा २ दशकअघिसम्म पनि भगवतीको माघे संक्रान्ति मेलाको ठूलो रौनक थियो,’ महामेला संयोजक ईन्द्रप्रसाद गुरुङले भने, ‘त्यसलाई पुनर्जीवन दिने प्रयास हामी गर्दैछौं ।’ उनका अनुसार युवाहरुको सहर पलायनलाई रोक्ने, स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्ने, युवालाई कृषिमा ध्यानकृष्ट गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र खेलकुद तथा गीतसंगीतका माध्यमबाट युवाहरुको व्यक्तित्व विकासमा प्रेरणा दिने लगायत मेलाका उद्देश्य हुन् ।
परम्परागत रुपमा भगवतीको माघे संक्रान्ति मेलामा कास्कीका मादी नदी आसपासका गाउँका अलावा, लमजुङ र तनहुँबाट समेत सहभागी आउँथे । मेला भर्न पुग्नेहरुबीच कौडा, पासा र गीति जुहारी जस्ता प्रतिस्पर्धा हुन्थे । ठाडो भाका, चुड्काजस्ता गीतहरु गाइन्थ्यो । तत्कालीन सैमराङ गाविस र माझठाना गाविसको साँघमा पर्ने मादी नदी किनारको भगवती मन्दिर छेउको माघे मेलामा केही वर्षअघिदेखि बरालडाँडाका युवाहरुले भलिबल प्रतियोगिता आयोजना गरेर रौनक थपेका थिए ।
यसपालिको मेलाको क्रममा आयोजना हुने प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गर्नेदेखिका अन्य काममा २२ लाख ४० हजार खर्च हुने र त्यति नै आम्दानी गर्ने लक्ष्य राखिएको समितिका संरक्षक तथा बराल डाँडा तमु समाज सेवा समिति पोखरा १२ सितलदेवीका अध्यक्ष क्या.ढोल बहादुर गुरुङले जानकारी दिएका छन् ।

Comments are closed.