पोखरा, ८ पुस/ पोखरा १३ मा रहेको भद्रकाली उच्च माविमा वार्षिक क्यालेण्डर अनुसार खेलकुद सप्ताह सुरु भएको छ । कक्षागत शिक्षावाहेक विद्यार्थीहरुलाई खेलकुदमा समेत सक्रिय बनाउनका लागि बर्सेनि खेलकुल सप्ताह आयोजना गरिने सहप्राचार्य तथा खेलकुद सप्ताह संयोजक रामप्रसाद आचार्यले बताए ।
मंगलबार बिहान आयोजित एक कार्यक्रमका बीच महिला भलिबल टिमलाई संयोजक आचार्य, प्रशाकीय अधिकृत राजेन्द्र भण्डारी र अन्य शिक्षकहरुले बल प्रदान गरी सप्ताहको उद्घाटन गरे । सप्ताह अन्तगर्त भलिबल छात्रछात्रा, फुटबल छात्रा, दौड, एक सय, चार सय, आठ सय र १८ मिटर खुल्ला, छेलो हान्ने, रस्साकस्सी, लङजम्प र टेबलटेनिस खेलहरु समावेश गरिएको छ । हरेक खेलका लागि एक एक जना शिक्षक प्रतिनिधिलाई संयोजक तोकेर कामको जिम्मा लगाइएको छ ।
छात्र भलिबलमा ११, छात्रा भलिबमा नौ, छात्र फुटबलमा १३ र रस्साकस्सीमा नौ टिम सहभागी भएका छन् । पहिलो दिन विद्यालय प्रांगणमा छात्रा र छात्र भलिबल सुरु भएको छ । यसैगरी अमरसिंह खेलमैदानमा छात्र फुटबलका खेल संचालन गरिएको छ । सबै प्रतियोगितामा विद्यालयका तीन सय भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन् । भद्रकाली उच्च माविको बिहानी शत्रमा दश जोड दुई अन्तर्गत मानविकी, ब्यवस्थापन र शिक्षा संकाय संचालित छन् । दिवा सेवामा विज्ञान समेत संचालन हुँदै आएको छ ।
खेलले विद्यार्थीलाई अनुशासन सिकाउने, शरिर र दिमागलाई फुर्तिलो बनाउने भएकाले विद्यालयले यस्ता प्रतियोगिता गर्दै आएको प्रशासकीय अधिकृत भण्डारीले बताए । विजेता विद्यार्थी र टिमलाई वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिने भएको छ ।
Comments are closed.