भरतपाेखरीमा युवाहरुले स्काभेटर चालकलार्इ भीरबाट धकेलेर हत्या

पाेखरा १४ असार/ कास्कीको लेखनाथ नगरपालिकास्थित भरतपोखरीमा दिनदहाडै स्थानीय युवाहरुले निर्दोष स्काभेटर चालकको भीरबाट धकेलेर हत्या गरेका छन् । लेखनाथ नगरपालिका वडा नम्बर १७ भरतपोखरीस्थित सिप्लेरी तरामा स्थानीय युवाहरुले दादागिरी देखाउँदै स्काभेटर चालक बुटवलका सुरज चौधरीको हत्या गरेका हुन् । भरतपोखरीको पशुपति घाटसम्म सडक खन्ने जिम्मा आफुहरुले पाउनुपर्ने भन्दै स्थानीय दिपक मल्लको समूह तथा श्रीधर पौडेल र महेश अर्यालको समूहबीच विवाद थियो ।

मल्लको समूहले सडक खन्नको लागि ल्याएको स्काभेटरलाई काम गर्न नदिईएपछि पौडेल र अर्यालको समूहले अर्को स्काभेटर ल्याएर आइतबार बिहान काम सुरु गरेका थिए । मल्लको समूहले सडक खन्ने जिम्मा आफुहरुले पाएको र विना अनुमति सडक खनेको भन्दै चालक चौधरीको कुटपिटपछि, भीरबाट धकेलेर हत्या गरेका हुन् ।

गम्भिर घाईते भएका चौधरीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले बताएको । हत्यामा संलग्न भनिएका दिपक मल्ल लगायतका अन्य दुईजना घटनापछि फरार रहेका छन् । घटनामा संलग्नहरुको खोजीकार्य भैरहेको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

यस्तो छ घटना विवरणः
भरतपोखरीको सिप्लेरी तरा नजिकै पशुपति घाट छ । यो घाटमा मृतकको शव जलाउने गरिन्छ । घाटसम्म पुग्ने सडकको ट्रयाक खोलिएको छैन भने केही समयअघि घाटको संरक्षणका लागि घाट संरक्षण समिति पनि गठन गरिएको छ ।

घाटसम्म पुग्न निकै समस्या रहेको स्थानीयको गुनासोपछि, स्थानीय दिपक मल्ल लगायतका युवाहरुले करिब दुई साताअघि उनीहरुकै नजिकको सम्पर्कका आधारमा स्काभेटर मगाएर सडकको ट्रयाक खन्न थालेका थिए ।

सडक खन्दा निस्किएको गिट्टी र बालुवा प्रयोग गर्ने र उक्त सामग्रि प्रयोग गरेबापत् घाटसम्म सडक पुर्याईदिने स्थानीयबीच नै सहमति भएको थियो । तर सडक खन्दा निस्किएको गिटी र बालुवा कति प्रयोग गर्ने भन्ने बिषयमा पछि कुरा नमिलेपछि, केही दिनयता काम रोकियो ।

काम रोकिएपछि, त्यहीँका स्थानीय बासिन्दा श्रीधर पौडेल र महेश अर्यालले पुनः अर्को स्काभेटर ल्याएर सडक खन्न सुरु गरे । त्यो थाहा पाएका मल्लले आफुले स्काभेटर मगाएर काम थाल्दा आफुहरुको ५ लाख रुपैयाँ खर्च भएको भन्दै उक्त रकम दिएमात्रै सडक खन्न दिने बताउँदै काममा अवरोध गरे । त्यतिबेला अर्याल सडक खनिरहेकै ठाउँमा थिए ।

मल्ल र अर्यालबीच सडक खन्दा निस्किएको गिट्टी र बालुवा मिलेर प्रयोग गर्ने सहमति भयो । मल्लले पहिला स्काभेटर ल्याउँदा लागेको खर्चसमेत चेकमार्फत् भुक्तानी दिने सहमति भयो ।

मौखिक सहमति भएपछि, अर्याल र मल्ल दुवैजना छुट्टिए । स्काभेटर चालक सुरज चौधरीले पुनः काम गर्न सुरु गरे । त्यसको लगत्तै मल्लकै पक्षका केही युवाहरु सडक खनिरहकै ठाउँमा आईपुगे । चालक चौधरीलाई ‘कसले काम सुरु गर्न भन्यो भन्दै’ स्काभेटर बन्द गर्न भन्दै थर्काउन थाले ।

विवाद मिल्यो भनेर काम सुरु गरेका चालकले फेरी अर्को समूह आएर काम रोक्न भनेपछि, स्काभेटरबाट झरे र नजिकैको डिलमा बसे । ती चालकलाई युवाहरुले थर्काउँदै लात्तीले हिर्काउन थाले । अभद्र व्यवहारसहित गालीगलौजमा उत्रिएका युवाहरुले कुटपिट गर्न थालेपछि, चालक चौधरी भाग्न खोजे । तर पछाडी डिल र अगाडी युवाहरु भएकाले भाग्न सकेनन् ।

बाटो खन्ने ठेक्का आफ्नो समूहले पाएको र आफुहरुलाई नटेरेको भन्दै उनीहरुले चालकलाई भीरबाट धकेलिदिए । त्यसपछि उनीहरु त्यहाँबाट भागे । भीरबाट लडेपछि गम्भिर घाईते भएका चालकलाई स्थानीय बासिन्दाले देखे र प्रहरीलाई खबर गरे । चालक चौधरीको उपचारका लागि अस्पताल लैजाने क्रममै ज्यान गयो ।

Comments are closed.