एजेन्सी, १२ चैत/ विश्वकप क्रिकेटको दोस्रो तथा अन्तिम सेमिफाइनलमा भारतविरुद्ध अष्ट्रेलियाले ९५ रनको शानदार जित निकाल्दै फाइनल प्रवेश गरेको छ। पहिला ब्याटिङ गर्दै अष्ट्रेलियाले ३२९ रनको लक्ष्य दिएको थियो। भारत ४६.५ ओभरमा अलआउट हुँदा २३३ रन मात्र बनाउन सक्यो।
अब उसले आइतबार हुने उपाधि भिडन्तमा न्यूजिल्याण्डको सामना गर्नेछ । समूह चरणमा भएको भेटमा न्यूजिल्याण्डले अष्ट्रेलियामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको थियो । सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा विकेट ७ गुमाएर ३२८ रन बनायो । यो विश्वकपको सेमिफाइनलमा कुनै पनि टीमले बनाएको सबैभन्दा ठूलो स्कोर हो ।
उसले पहिलो विकेटका रुपमा भरपर्दा ब्याट्सम्यान डेभिड वार्नर १२ रनमा आउट भए, जतिबेला अष्ट्रेलियाले मात्र १५ रन बनाएको थियो । र, आरोन फिन्च र स्टिभ स्मिथले अष्ट्रेलियाको पारी सम्हाले । फिन्च र स्मिथले दोस्रो विकेटका लागि १८२ रनको साभेदारी गरे । स्मिथ १०५ रनमा आउट भए । ९३ बलको सामना गरेका उनले ११ चौका र २ छक्का हाने ।
फिन्चले ग्लेन म्याक्सवेलसँग ३५ रनको साझेदारी गरे । म्याक्सवेल २३ रनमा आउट भए । थप एक रन जोड्दा फिन्च ८१ रनमा पभेलिन फर्किए । अष्ट्रेलियाका कप्तान माइकल क्लार्क पनि मात्र १० रनमा आउट भए । म्याक्सवेल, फिन्च र क्लार्कको विकेट लगातार झर्दा अष्ट्रेलियाको रनको गति केही सुस्त भएको तियो । तर, अन्तिम ओभरमा मिचेल जोनसन र फल्कनरले केही ठूलो सर्ट खेलेर अष्ट्रेलियाको पारी ३ सय कटाए ।
फल्कनरले १२ बलमा २१ रन बनाए । जोनसन ९ बलमा चार चौका र एक छक्काको मदतमा २७ रनमा अविजित रहे । ब्राड हेडिल ७ रनमा अविजित रहे । भारतमा उमेश यादवले चार विकेट लिए भने मोहित शर्माले २ विकेट लिए । जवाफमा मैदान उत्रिएको भारत ४६.५ ओभरमा २३३ रन जोड्दा अल आउट भयो ।
Comments are closed.