भुलभुलेमा जाे देखियो ‘मृत्युलाई जितेर बाँचेका जीवन’

एकराज गिरी
धादिङ, १९ बैशाख
मध्यान्हको १२ बज्दै थियो । एक्कासी जमिन हल्लियो । हेर्दाहेर्दै अगाडिका घरहरु गल्र्यामगुर्लुम्मै ढले । ढलेका घरले पाँच जनालाई पनि थिच्यो । थिचिएका पाँच जना मध्य तिन जनाको उद्धार तत्कालै भयो । तर, आगनमा खेल्दै गरेकी अनिसा र मन्जु गुरुङलाई भने बचाउन सकेनन् । रामबहादुर गुरुङ, सम्शेर गुरुङ र इन्द्रबहादु गुरुङलाई स्थानीयले जिवितै उद्धार गरे । चार र आठ वर्षीया अनिसा र मन्जु खेल्ने आगनसँगै अन्त्य भए ।IMG_4315
धादिङ जिल्लाको साविकको निलकण्ठ गाविस हालको निलकण्ठ नगरपालिका वडा नम्वर दुईका ४९ घर भूकम्पले भत्काएपछि सयौं घरपरिवार विहिन भए । विनाकारी भूकम्पले दुई बालिकाको ज्यान लियो । बास बस्ने घर, अन्नपात सवै पुरियो । अहिले खेतबारी उनीहरुको रात काट्ने घर भएको छ । भूकम्प गएको सात दिन वित्दा पनि उनीहरुका लागि राहत त टाढाको कुरा भयो पुरिएकाहरुको उद्धार र अवस्था बुझ्न कुनै सरकारी निकाय पुगेका छ्रैनन् । इन्द्रबहादुर गुरुङले आफ्नो चार बर्षिय छोरी र बास बस्ने घर गुमेपछि बारीमा बस्न बाध्य भएको बताए । ‘घर अन्नपात केही छैन, सवै पुरियो । बारीमा सुत्नुपरेको छ, ६ दिन भैसक्यो’ उनले भने ।
गुरुङले आफुहरुलाई खाद्यान्न नदिएपनि त्रिपाल मात्रै दिएपनि ठूलो राहत हुने बताए । ‘भूकम्पले घर भत्केपछि हामी नगरपालिका, जिल्ला विकास समितिको कार्यालयमा पुगेर त्रिपालमात्रै देउ भन्दा पनि दिएनन्’, उनले भने ‘जिविस जाँदा नगरपालिका जाउ भन्छन् नगरपालिका जाँदा जिविस जाउ भन्छन् ।’ राहत बारे कुनै निर्णय नआएको भन्दै फकाइएको उनले दुखेसो पोखे । आकासमा हेलिकप्टर उड्दा पनि आफ्ना लागि पनि आयो भन्ठान्ने तर क्षणभरमा आशा पनि निराशामा बद्लिने उनीहरुले सुनाए । ‘घरै माथिबाट हेलिकप्टर उड्थ्यो । एकछिन खुशी हुन्थ्यो हाम्रा लागि पनि अव राहत आयो’ गुरुङले भने ‘तर ‘हाम्रो आशा पुरा हुनै पाएन ।’

IMG_4268
भूकम्प आउँदा जिल्ला विकास समिति धादिङको दुई तलाबाट भागेर बाँच्न सफल बल बहादुर गुरुङले धादिङमा राहत वितरण नगरिएको गुनासो गरे । ६ दिन भैसक्यो अहिलेसम्म कसैले केही सहयोग गरेका छैनन्, भूकम्पले सवै गुम्यो के खाने, कहाँ बस्ने उनले दुखेसो पोखे । ‘सवै घर ध्वस्त छन्, अहिलेसम्म राज्यका निकाय कोही आएका छैनन्, राजधानी र सदरमुकामबाट नजिक भएर पनि बत्ति मुनिको अध्यारो जस्तो भएको छ’ उनले भने ।
राजधानी काठमाडौंबाट ८६ किलोमिटर र धादिङ बजारबाट तिन किलोमिटरमा पुगिने ठाँउमा समेत राहत नपाएको अवस्था छ । गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर गएको भूकम्पले राजधानी, सिन्धुपालचोक र धादिङमा ठूलो मानविय क्षति पु¥याएको छ । ‘हिजो गरिव, दुःखीहरु आउँदा माया लाग्थ्यो घरमा भएको खानेकुरा दिन्थे तर आज आफै माग्न पर्ने अवस्थामा छु’ पीडित कमला गुरुङले भनिन्, ‘घर सवै भत्किएको छ, बस्ने बास र खाने गास छैन, भएको पैसाले बनाएको घर पनि सोच्दै नसोचेको घटनाले क्षणभरमै भत्काइदियो ।’
भात खाँदै थिए, कसरी बाँचे थाहै पाइन् मोतिमाया गुरुङले भनिन् । ‘कुचुमुच्च घरबीचमा परे । दुई दिनसम्म होस उड्यो हिड्दै सकिन् गाँउलेले बचाए’ उनले भनिन् । उनीहरुले धादिङ जिल्लामा राहत विरतण नगरिएको बताए । राहत वितरण गर्दा विवाद हुने भन्दै वितरण नगरिएको जवाफ दिएको बताए । उनीहरुमा राजनीतिक दलका नेताहरुसमेत दुःख बुझ्न नआएकोमा दुखेसो छ ।

Comments are closed.