काठमाडौं : दोस्रो शक्तिशाली भूकम्पका कारण ईपीएस भाषा परीक्षा थप तीन महिना पछि सर्ने भएको छ। यसअघि वैशाख १२ को विनाशकारी भूकम्पका कारण एक महिना पछि सार्ने निर्णय गरिएको थियो।
वैशाख २९ गते पुन: अर्को शक्तिशाली भूकम्प गएपछि ईपीएस कोरिया शाखाले लामो समयसम्मका लागि परीक्षा सार्ने तयारी गरेको हो।
ईपीएस कोरिया शाखासम्बद्ध स्रोतका अनुसार आगामी असोज पहिलो साता परीक्षा सञ्चालन गर्ने योजना बनाइएको छ। औपचारिक निर्णय गर्न भने बाँकी छ।
सुरुमा जेठ ३० र ३१ मा सञ्चालन गर्ने तयारी गरिएको परीक्षा वैशाख १२ को भूकम्पपछि बढीमा एक महिनासम्ममात्र सार्ने निर्णय गरिएको थियो।स्रोतका अनुसार नेपालमा दुईवटा शक्तिशाली भूकम्प गइसकेको तथा त्यसपछि पनि बारम्बार पराकम्पन जानेक्रम नरोकिएकाले कोरिया सरकारले परीक्षा सार्न आग्रह गरेको हो।
यही अवस्थामा तत्काल कुनै हालतमा परीक्षा सञ्चालन गर्न नसकिने भन्दै कोरियाको मानव संसाधन विभाग (एचआरडी कोरिया) ले लामो समयका लागि परीक्षा पछि धकेल्न दबाब दिएको छ।ठूला भूकम्प गएका तथा पराकम्पन जारी रहेकाले खतरा हुने भन्दै सुरुमा कोरियाले यसपालि भाषा परीक्षा नै स्थगित गर्न नेपाल सरकारसँग आग्रह गरेको थियो। नेपालले कुनै पनि हालतमा नरोक्ने बरु कोरियाले चाहेकै मितिमा सञ्चालन गर्ने बताएपछि असोजमा परीक्षा गर्न कोरियाली पक्ष राजी भएको हो।
एक वर्ष परीक्षा रद्द गर्दा लामो समयदेखि कोरिया जाने तयारीमा रहेकाहरू निरुत्साहित हुने भएकाले नेपालले कोरियाकै चाहना अनुसार लामो समय सारेर भए पनि परीक्षा लिन लागेको हो। परीक्षा सञ्चालन गर्न एचआरडी कोरियाका अधिकारी नेपाल आउनुपर्ने भएकाले उनीहरू बढी भयभीत भएका हुन्।नेपालमा गएको भूकम्पका कारण कोरियाली पक्ष निकै त्रसित देखिएको सम्बद्ध अधिकारीले बताए। रोजगारदाता मुलुकले नै अहिलेको अवस्थामा परीक्षा सञ्चालन गर्नै नसकिने भनेकाले नेपालले बाध्य भएर लामो समयका लागि परीक्षाको कार्यतालिका पछाडि धकेल्न लागेको हो।
Comments are closed.