पोखरा ६ बैशाख/ वैशाख १२ गते र त्यस पछाडी गएका भूकम्पका धक्काले देशमा ठूलो क्षति पु¥यायो । भूकम्पले कृषि क्षेत्रमा पनि अरबौंको क्षति पुग्यो । धेरै किसानलाई मर्माहत बनायो । कृषि याम सुरु भएका बेला गएको भूकम्पले कामको मेलो बिगारिदियो । अब भने विस्तारै कृषि क्षेत्र पनि तंग्रन थालेको छ । अहिले धानको बिऊ राख्ने समय सुरु भएको छ । किसानहरु भूकम्पको पीडा भुलेर धानको बिऊ राख्ने काममा लाग्न थालेका छन् । कास्कीका किसानलाई पनि अव धानको बिऊ राख्ने माचो सुरु भएको छ । कास्कीका फाँटहरुमा धानको बिऊ राख्ने काम केही समयपछि सुरु हुने भएपनि पहाडी क्षेत्रमा भने बिऊ राख्ने काम सुरु भैसकेको छ । भूकम्पका कारण देशका विभिन्न ठाउँमा धानको बिऊ तथा मलको अभाव भएको समाचार आइरहेपनि कास्कीमा भने मल तथा धानको बिऊ अभाव नभएको जिल्ला कृषि विकास कार्यालय कास्की र कृषि समाग्री केन्द्रले जानकारी गराएको छ ।
‘कास्कीमा अन्य जिल्लामा जस्तो धानको बिऊको अभाव छैन’ कृषि कार्यालयका वागवानी विकास अधिकृत मनहर कडरियाले भने, ‘कृषि कार्यालयले पनि केही मात्रामा अनुदानको धानको बिऊ वितरण गरेको छ । गुणस्तरिय बिऊको पुरानै समस्या भएपनि बिऊ राख्नै नपाउने चिन्ता किसानलाई छैन ।’ कार्यालयले ४ सय केजी खुमल–४ र पाँच सय केजी जेठो बुढो धानको मूल बिऊ वितरण गरेको छ । अहिले वितरण गरिएको धानको बिऊबाट आउँदो बर्ष बिऊ निकाल्ने उनको भनाई थियो ।
धानको बिऊ राख्दा प्रयोग गरिने युरिया मल पनि कास्कीका किसानलाई प्रयाप्त रहेको कृषि समाग्री केन्द्रले जनाएको छ । ‘कास्कीका किसानले मलको चिन्ता लिनुपर्ने अवस्था छैन’ केन्द्रका लेखा प्रमुख गोपालजंग गुरुङले भने‘हामीसँग कास्कीका किसानलाई पुग्ने युरिया छ । शहकारी मार्फत पठाइपनि सकेका छौं । आउने क्रम पनि जारी छ ।’
उनका अनुसार अहिले कृषि सामाग्री केन्द्रमा अहिले ६० टन युरियामल, १ सय ८३ टन डिएपी मल र २० टन पोटास मौज्दात छ । एक हस्तामा फेरी सबैखाले मल गरी ३ सय १५ टन मल पोखरा भित्रने उनले जानकारी दिए । अन्य जिल्लामा मलको अभाव भएपनि कास्कीमा अभाव नभएकाले नआत्तिन उनले किसानलाई आग्रह गरे । कास्कीका करिव ६५ वटा सहकारीले रासायनिक मल विक्री गर्न अनुमती लिएका छन् ।
कास्कीमा उन्नत जातको धान लगाउने किसान बढ्दै गएको कृषि कार्यालयले जनाएको छ । कास्कीमा अहिले ५० प्रतिशतले उन्नत धान लगाउने बताइएको छ । उन्नत धानको विउमा सुधारिएको जेठो वुढोसँगै खुमल, मनसुली, सावित्री, राधा ७, झिनुवा, विरमफूल, पंहेले, गुर्दी, मार्सी जर्नेली, लुम्ले २ लगायतको धान लगाईँदै आएको छ । धानको बिऊको गुणस्तरियता हेरेर मात्र बिऊ राख्न कृषि विज्ञहरुले सुझाव दिएका छन् । किरा, पुत्ला नलागेका बिऊ मात्र प्रयोग गर्न वा नजिकको कृषि सेवा केन्द्रको सहयोगमा बिऊ राख्नका लागि उनीहरुले किसानलाई आग्रह गरेका छन् । कास्कीको २७ हजार हेक्टर जग्गामा वर्षेनी धान खेती हुँदै आएको छ, भने प्रतिहेक्टर तीन मेट्रिक टन धान उत्पादन हुने गरेको कृषि कार्यालयको तथ्याङ्क छ ।
भूकम्पले कास्कीमा ८ सय मेट्रिकटन बढी खाद्यन्य नष्ट
भूकम्पले थोरैमात्र क्षति गरेको कास्कीमा पनि ठूलो मात्रामा खाद्यन्य नष्ट भएको छ । वैशाख १२ गते गएको भूकम्पले कास्कीमा ८ सय मेट्रिकटन खाद्यन्य नष्ट भएको जिल्ला कृषि विकास कार्यालय कास्कीले जनाएको छ । भूकम्पले कास्कीमा पूर्ण रुपमा क्षति भएका घरमा खाद्यन्य पनि लगभग पुरै पुरिएका छन् भने पुरै नभत्किएका घरमा पनि खाद्यन्य नष्ट भएको हो । कास्कीमा १ हजार ४ सय ९१ घरमा पूर्ण रुपमा क्षति पुग्दा धान, मकै, कोदो लगायतका खाद्यन्य पनि नष्ट भएको वागवानी विकास अधिकृत मनहर कडरियाले जानकारी दिए ।
Comments are closed.