भूकम्पले थपियाे एकपछि अर्काे विपत ( अफडेट)

मंगलबारको भूकम्पले ६५ जना भन्दा बढीकाे मृत्यु, करिब २हजार घाईते, मर्नेकाे सङ्ख्या अझै बढ्न सक्ने


पाेखरा ३० बैशाख/ मंगलबार आएको शक्तिशाली भूकम्पले अहिलेसम्म  ६५ जना भन्दा बढीकाे ज्यान गएकाे छ । याे सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएकाे छ भने  करिब २ हजार भन्दा बढी घाइते भएका छन् ।

आठ हजार बढीको मृत्यु हुने गरी विनाशकारी भूकम्प गएको १८ दिनपछि ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । मंगलबार १२ बजेर ५० मिनेटमा भूकम्प गएपछि लगातार पराकम्पन भएको थियो ।

भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ८, पुर्व क्षेत्रमा २, मध्य क्षेत्रमा ५४ र पश्चिम क्षेत्रमा १ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १२११, पुर्व क्षेत्रमा ५२, मध्य क्षेत्रमा ५७४, पश्चिम क्षेत्रमा ८१ र मध्य पश्चिम क्षेत्रमा ८ जना रहेका छन् ।  घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । भूकम्पबाट ५ पूर्णरुपमा र ३६ आंशिक रुपमा गरी जम्मा ४१ भौतिक संरचनामा क्षति पुगेको छ ।यसैगरी  गत बैशाख १२ गते शनिवार ११: ५५ बजे, देशका विभिन्न भागमा आएको बिनाशकारी भूकम्पमा परी बुधबार बिहानसम्म ८ अाठ १ सय ५४ जनाको ज्यान गुमेको छ भने १७,८६४ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका अनुसार मंगलबार दोलखाको भ्याकुसुरी र चिलंगखाको केन्द्रविन्दु रहेकोे भुकम्पबाट सबैभन्दा धेरै दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर,भक्तपुर र रसुवा गरी ३२ जिल्लालाई क्षति पूर्याएको छ ।
मंगलबार आएको भूकम्पका कारण काठमाडौं, ललितपुर, सुनसरी, सिन्धुपाल्चोक, दोलखा। धनुषा, सर्लाही, सिन्धुली, रौतहट, रामेछाप र गोरखामा मानविय र भौतिक क्षति भएको छ ।  गृह मन्त्रालयका अनुसार मध्यान्ह १२ ५२ मा आएको भूकम्पमा परी भूकम्पबाट मध्यक्षेत्रमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । मध्यमा ३४ जनाको ज्यान गएको छ ।
काठमाडौं उपत्यकामा ८ जनाको ज्यान गएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता नारायणसिंह खड्काका अनुसार काठमाडौंमा ५ जनाको ज्यान गयो, भक्तपुरमा २ जना मारिए भने ललितपुरमा एक जनाको मृत्यु भएको छ ।
काठमाडौंको माछापोखरी, बालाज, सामाखुसी, मित्रनगर, कपन र निलोपुलमा घरहरु भत्किए । मित्रनगरमा ४ वटा घर ढलेका छन् । भक्तपरको सल्लाघारी क्षेत्रमा सबैभन्दा धेरै क्षति पुगेको छ भने ललितपुरको नक्खु र हरिसीद्धी क्षेत्रमा घरहरु भत्किए ।
घर भत्किएका स्थानमा खोजी र उद्धारमा सुरक्षाकर्मी परिचालित भएका थिए । प्रभावित क्षेत्रमा भत्किएका घरमा कोही च्यापिएको बारे जानकारी नआएको खड्काले जानकारी दिए । भूकम्पका कारण पुर्वमा १, र पश्चिम क्षेत्रमा १ जनाको मृत्यु भयो । प्रहरी प्रधान कार्यालयका अनुसार भूकम्पका कारण १ हजार १ सय १५ जना घाइते भएका छन् । उपत्यकामा घाइते हुनेहरुको संख्या सबैभन्दा धेरै छ । उपत्यकामा घाइते भएका ९ सय ७७ जनामध्ये सबैभन्दा धेरै काठमाडौंमा घाइते भएका छन् । आयुक्त कार्यालयका अनुसार भूकम्पका कारण काठमाडौंमा ७ सय ५७, ललितपुरमा २७० र भक्तपुरमा २ सय ५० जना घाइते भए । मध्यमा ३ सय ३३, पश्चिममा ४७, पुर्वमा १८ र मध्य पश्चिममा १० जना घाइते भएका छन् ।
निरन्तर पराकम्पन आइरहे पनि ठुलो धक्का नआएकाले जनजीवन सनमान्य बन्दै गएको बेला मंगलबार दिउस ठुलो धक्काको भूकम्प आउँदा भागदौड भएको थियो ।मंगलबारबाट शहरी क्षेत्रका कार्यालय, व्यापारिक केन्द्र र विद्यालय समेत सञ्चालनमा आएका थिए । अधिकांश पसलहरु खुलेका थिए । ठुला मल र सिनेमाहल समेत शुरु भएको अवस्थामा एक्कासी आएको भुकम्पको धक्काले भागदौड मच्चिदा धेरै घाइते भए ।
त्रिवि शिक्षण अस्पताल आकस्मिक कक्षका प्रमुख चिकित्सक रमेश आचार्यका अनुसार अस्पतालमा उपचारका लागि आएका घाइतेमध्ये ८० प्रतिशत भागदौडका कारण घाइते भएकाहरु धेरै छन् ।
दोलखामा गम्भिर घाइते भएका ३८ जनालाई उद्धार गरी हेलिकोप्टर मार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ । गृहका अनुसार अन्य जिल्लाहरुबाट समेत गरी ४६ जनाको उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइयो ।भूकम्प लगत्तै शहरी क्षेत्रका मुख्य सडक मार्गमा सवारी जामहुँदा आपतकालीन अवस्थामा परिचालीत हुने सवारीसाधनको आवागमनमा अवरोध पुगेको छ । भुकम्पको धक्का लगत्तै सवारीसाधन लिएर सुरक्षित स्थान जान चाहनेहरु एक्कासी सडकमा निस्कदा जाम भएको थियो । महानगरीय टाफिक प्रहरी महाशाखाका अनुसार भुकम्पपछि मुख्य शहरी क्षेत्रको सडकको आवागमन सहज बनाउन करिव १ घन्टा लागेको थियो । घाइते हुनेहरुमा काठमाडौंमा ३५५, ललितपुरमा १६८, भक्तपुरमा १८२, सिन्धुपाल्चोकमा १००, दोलखामा २४, काभ्रे ३८, रामेछाप ५, दाङमा २, तेह्रथुम ४, सिराहा ५, सप्तरी ३ र सुनसरी २ जना गरी ८८९ जना रहेका छन्।
भूकम्पबाट काठमाडौं माछापोखरीमा १ घर, डल्लु पुल पारी १ घर, दोलखाको सदरमुकामको बैंक रहेको भवन, गोरखाको ताकुकोट गाबिसका ५ घर भत्किएर क्षति पुगेको छ। नेपाल प्रहरीको विपद व्यवस्थापनसमेतको संयुक्त टोली तत्काल काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खटिई उद्धारलगायतका कार्यमा जुटीरहेको छ।

मंगलबारको भूकम्प ६.८ रेक्टर स्केलको– भूकम्प मापन केन्द्र

मंगलबार दिउँसो गएको भूकम्पको वास्तविक म्याग्निच्यूडका बारेमा पनि छुट्टाछुट्टै मापन स्केल सार्वजनिक भएका छन् । दिउँसो १२ बजेर ५० मिनेट जाँदा गएको भूकम्पको धक्का सुरुमा केही अन्तराष्ट्रिय भूकम्प वेवसाईटहरुले ७.१ रेक्टर स्केलको बताएका थिए ।
त्यसपछि, अमेरिकी भूगर्भ विभाग युएसजिएसले ७.४ रेक्टरस्केलको भूकम्प नेपालमा गएको बतायो । धेरै वेवसाईट तथा अन्य अन्तराष्ट्रिय मापन केन्द्रहरुले ७.३ रेक्टर स्केलको भूकम्प गएको बताएपछि, पछि युएसजिले समेत सच्याएर ७.३ रेक्टर स्केलको भूकम्प गएको बताएको थियो ।
तर नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने आजको ठूलो भूकम्पको धक्का ६.८ रेक्टर स्केलको भएको बताएको छ । दोलखा र सिन्धुपाल्चोकको सीमालाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पको केही समयपछि पुनः ६.२ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले आफ्नो वेवसाईटमा उल्लेख गरेको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने आफुहरुले आधिकारिक म्याग्निच्युडअनुसार स्केल सार्वजनिक गरिरहेको बताएका छन् ।
विभिन्न देशले आफूअनुकूलका म्याग्निच्युड प्रयोग गर्ने हुनाले फरक–फरक तथ्यांक आएको भन्दै उनले नेपालले सधैं लोकल म्याग्निच्युड प्रयोग गर्ने बताए ।
भूकम्पको केन्द्रबिन्दुबाट स्थानीय स्टेसनहरूमा सिधै आउने तरंगबाट निकालिने म्याग्निच्युड नै लोकल म्याग्निच्यूड हो ।
देशअनुसार म्याग्निच्युड फरक हुने र उनीहरूले आफ्नो देशका भौतिक संरचना र तिनको भूकम्प थेग्ने क्षमतालाई आधार मानेर पनि म्याग्निच्युड प्रयोग गर्ने भएकाले फरक तथ्यांक आएपनि नेपालमा बैशाख १२ गते गएको भूकम्पको स्केल ७.६ रेक्टर स्केल र मंगलबार गएको भूकम्पको स्कले ६.८ रेक्टर स्केलको नै भएको अधिकारीको भनाई छ । यसअघि बैशाख १२ गतेको भूकम्पको मापन पनि फरक फरक आएको थियो । अन्तराष्ट्रिय मापन केन्द्रहरुले त्यो भूकम्पलाई ७.९ रेक्टर स्केलको बताईरहेपनि नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने ७.६ रेक्टर स्केल भएको बताएको छ ।

Comments are closed.