भूकम्पले पोखराको बजार उतारचढाव

अमृत सुवेदीर/ पोखरा २३ बैशाख

शनिबार १२ गते गएको महाभूकम्पले देशभर जस्तै पोखरेली बजारमा पनि उतारचढाव आएको छ । भूकम्पका कारण पोखरा बजार सामान्य त छ तर, यसले व्यापार, व्यवसायमा भने असर गरेको छ । भूकम्पले पोखराको पर्यटन, उद्योगधन्दा, निर्माण व्यवसाय,  साना ठूला व्यापार व्यवसायमा उतारचढाप ल्याइदिएको छ । महाभूकम्पका कारण पोखराको पर्यटन प्राय सुनसान भएको छ । पोखरा आएका पर्यटक पनि धमाधम आफ्नो बसाइ छोट्याएर फर्किरहेका छन् । होटल व्यवसायमा पनि मन्दी लागेको छ । अहिले पोखराका ठूला होटलमा पनि पर्यटक कमै छन् । यसैगरी ठूलो डिपार्टमेन्टल स्टोर्सदेखि साना किराना पसलसम्म भूकम्पका कारण व्यापारमा हिरावट आएको व्यवसायी बताउँछन् । पोखरामा मनोरञ्जनात्मक दोहोरी तथा गजल साँझ, कपडा, खाद्यन्य, तरकारी तथा फलफुल, मासुजन्य व्यवसायमा पनि भूकम्पले असर पारेको छ । पर्यटकीय स्थानमा व्यवसाय गर्ने व्यापारीहरुमा पनि भूकम्पले निराश बनाइदिएको छ । धेरैजसो सटर तथा घर भाडामा लिएर व्यापार व्यवसाय गरिरहेकाहरुलाई भाडाकै चिन्ता हुन थालेको छ ।

सुनसान होटल तथा पर्यटन
पर्यटकहरुलाई स्वागत गर्न तयार- परिषद

सँधै पर्यटकहरुको चहलपहल हुने पोखरा तथा आसपासका क्षेत्रमा अहिले त्यति सारो पर्यटक छैनन् । पोखरा घुक्न आएका पर्यटकहरु बसाई अवधि छोट्याएर फर्किरहेका छन् भने नयाँ आउने वातावरण बनिसकेको छैन् । पोखराको सिंगो पर्यटन क्षेत्रमा भूकम्पले तत्काल खासै असर नगरेपनि दिर्घकालिन असर गरेको व्यवसायीले बताएक छन् । सँधै पर्यटकको चाप हुने फेवाताल, सारङकोट, डेभिड फल्स्, शान्ति स्तुपा लगायतका क्षेत्रमा अहिले फाट्टफुट्ट मात्रै पय्र्रटक रहेको पर्यटन परिषद्का अध्यक्ष सोम थापा बताउँछन् । भूकम्पले पोखराको पर्यटनमा ठूलो धक्का पारेको थापाको अनुभव छ । पोर्यटकहरुको संख्या घटेसँगै पोखराका होटल पनि सुनसान बन्दै गएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले बताए ।IMG_1314

‘अहिले पोखराका अधिकांश होटलमा ग्राहक छैनन् भएका पनि फर्कदै गएका छन्’, अध्यक्ष पराजुलीले भने । पोखरा आएका पर्यटकहरु पनि कतिपय नेपालीहरुको दुःखसँगै राहत तथा उद्धारमा लागेका छन् । टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष रामचन्द्र शर्माले भूकम्पको प्रभावले गर्दा पर्यटन क्षेत्र १० बर्ष पछि धकेलिएको बताउँछन् । पोखरा तथा नेपालका पर्यटन व्यवसायीले तत्काल सकरात्मक र सामान्य रहेको प्रचार गरी पर्यटक आकर्षित गर्ने योजनामा व्यवसायी लागेका छन् । सारङकोटबाट हुने प्याराग्लाइडिङमा, जिप फ्लायर, अल्ट्रालाइट गर्ने पर्यटकको संख्यामा पनि कमी आएको छ ।

यसैबीच पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषदले महाभूकम्पको महाबिपत्तिबाट निरास नहुन र पर्यटकको सेवामा तयार रहन सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई आग्रह गरेको छ । परिषदका अध्यक्ष सोमबहादुर थापाद्धारा मंगलबार जारी विज्ञप्तिमा संकटको यो घडीमा पर्यटन व्यवसायीहरुले, उद्धार र राहत बितरणमा देखाएको सक्रियता एवं धैयप्रति कृतज्ञता ज्ञापन गर्दै बिपत्तिले पर्यटन उद्योगमा ठूलो असर गरेकाले पर्यटन उद्योगलाई पूर्ववत् अवस्थामा फर्काउन सक्दो छिटो सरकारी तवरबाटै ‘हामी आतिथ्यता प्रदान गर्न सक्षम र तयार छौँ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिनुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।

तरकारी कारोबारमा ५० प्रतिशत कमी

b7ae60b4a9b4cbe3636ad257cf3fcfa9भूकम्पले पोखरामा तरकारी व्यापारमा पनि कमी आएको छ । साविक हुने कारोबार भन्दा भूकम्प पछाडी ५० प्रतिशत कारोबार खस्कीएको तरकारी व्यापारीहरु बताउँछन् । तरकारी कारोबारमा कमी आएसँगै तरकारीको मूल्यमा पनि उतारचढाव आएको छ । धादिङ, गोरखा लगायतका ठाउँबाट पोखरा आएर तरकारी व्यापार गरिरहेकाहरु भूकम्पले गाउँलाई नै प्रभावित पारेपछि घर फर्केका छन् । भूकम्पका कारण अधिकांश तरकारीको मूल्य घटेको छ । भूकम्पसँगै करिव तिन दिन पुरै तरकारी पसल बन्द हुँदा लाखौं रुपैयाँको तरकारी नष्ट भएको कृषि उपज बजार संचालक समिति शान्तिबन बाटिकाका निवर्तमान अध्यक्ष रामकृष्ण दवाडीले बताए । ५० देखि ६० टनसम्म तरकारी खपत हुने पोखरामा अहिले २० देखि ३० टन खपत भैरहेको छ । अहिले पोखराको बजारमा गोलभेंडा बाहेक अधिकांश तरकारीको मुल्य सस्तिएको तरकारी तथा फलफुल खुद्रा व्यापार संघका उपसचिव दीपक श्रेष्ठले जानकारी दिए । ३५ देखि ४० रुपैयाँ पर्ने काउली अहिले २५ देखि ३० रुपैयाँ भएको छ । एक सय रुपैयाँ पर्ने बोडी अहिले ५० रुपैयाँमा झरेको छ भने २० देखि २५ रुपैयाँ पर्ने बन्दा अहिले १५ रुपैयाँमा झरेको उपसचिव श्रेष्ठले जानकारी दिए । ६० रुपैयाँ पर्ने सिमी ४५ देखि ५० भएको छ भने ५० देखि ५५ रुपैयाँ पर्ने घिरौंला ३५ देखि ४० रुपैयाँ भएको संघले जनाएको छ । गोलभेंडाको मूल्य भने १० रुपैयाँ ६० रुपैयाँ भएको छ ।

मासु व्यापारमा कमी, मूल्य पनि घट्ने

chicken_meat_1भूकम्पका कारण अन्य क्षेत्रमा जस्तै पोखराको मासु व्यापारमा पनि कमी आएको छ । पोखराका ठूला होटलमा बस्नेको संख्या कम हुँदा, देशका विभिन्न ठाउँका व्यक्तिहरु घर फर्केका कारण पनि मासुको कारोबारमा कमी आएको व्यवसायीले बताएका छन् । ५० हजार केजी मासु खपत हुने पोखरामा अहिले करिव ४० प्रतिशत कमी भएको व्यवसायी बताउँछन् । भूकम्पले पोखरामा खासै जनधनको क्षति नगरेपनि व्यापार व्यवसायमा कमी आएसँगै मासु व्यापारमा पनि कमी आएको कास्की खसि तथा कुखुरा मासु व्यवसायी समितिका अध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिए । केही समय अघि मात्र घटेको कुखुराको मूल्य फेरी घट्ने व्यवसायीले बताएका छन् । ‘अब मासुको मुल्य घट्ने संभावना छ । कुखुरा तथा खसि उत्पादन भैरहेका छन् तर, व्यापारमा कर्मी आएपछि मूल्य घट्नुको विकल्प छैन’ अध्यक्ष पौडेलले भने । अहिले पोखरामा कुखुराको मासुको मूल्य स्पेशलको प्रतिकेजी ३ सय ६० रुपैयाँ र होल कुखुराको मासुको मूल्य ३ सय ३० रुपैयाँ रहेको समितिले जनाएको छ भने खसीको मासुको प्रतिकेजी ८ सय रुपैयाँ रहेको अध्यक्ष पौडेलले जानकारी दिए ।

डिपार्टमेन्टलमा दाल, चामल, चाउचाउ बेच्न भ्याइनभ्याई

3dc582b7b5d00326581f276b3a1758e7_Genericभूकम्पपछि पोखरामा डिपार्टमेन्टर स्टोर्सदेखि साना किरानासम्म प्रभाव परेको छ । भूकम्प पीडितका लागि राहत वितरण गर्न लैजानेहरुका कारण डिपार्टमेन्टल स्टोर्समा दाल, चामल तथा चाउचाउ बिक्री तथा प्याकिङमा भ्याइनभ्याइ हुने गरेको छ भने साना किराना पसलहरुमा सबै सामान्य रुपमा गैरहेका छन् । ‘दाल, चामल, चाउचाउ, चिउरा, विस्कुट लगायतका खाद्यन्य विक्री तथा प्याकिङमा फुर्सदै छैन’ मुनाल स्टोर्सका अनुमोति भूजेलले भने ‘अरु खाद्यन्य भने एकदमै न्यून मात्रामा गएका छन् ।’

होटलहरुमा जाने खाद्यन्य तथा सामान भने अहिले एकदमै कम भएको भुजेलले बताए । राहतमा दाल, चामल, चाउचाउ, लगायतका खाद्यन्य लैजानका लागि दैनिक लाइन नै लाग्ने गरेको भजेलको भनाई छ । पोखराको विनायम, भाटभटेनी, मिन बहादुर शेरचन स्टोर्स, नेक्स्ट, एस एण्ड एस, यादव स्टोर्स, भागिरथ स्टोर्स लगायतमा भिड नै लाग्ने गरेको छ । सानाा किराना पसलहरुमा भने व्यापारमा कमी आएको भएपनि सबै खाद्यन्य तथा अन्य सामान सामान्य रुपमा गैरहेको व्यापारीहरु बताउँछन् ।

स्टोर्सहरुमा स्टक रहेको दाल सकिँदै गएकाले सप्लायर्सहरुले दालको मूल्य बढाएका छन् । १ सय ५५ रुपैयाँ पर्ने अडहरको दाललाई १ सय ७५ रुपैयाँसम्ममा विक्री गर्ने गरेका छन् भने १ सय ४८ रुपैयाँ पर्ने मसुरोको दाललाई १ सय ६० रुपैयाँसम्ममा विक्री गर्ने गरेका छन् । यसैगरी ४९ रुपैयाँ पर्ने चिउरालाई ५१ रुपैयाँसम्ममा विक्री गर्ने गरेको बताइएको छ ।

बजार अनुगमन भएन

भूकम्पका कारण पोखरामा पनि बढी मूल्य लिएर खाद्यन्य तथा अन्य सामाग्री विक्री भैरहेको गुनासो आएपनि पोखरा बजारमा अनुगमन भने हुन सकेको छैन । भूकम्पका कारण धेरै जिल्लामा बढी नै जनधनको क्षति पुगेपछि सबैको ध्यान त्यतै केन्द्रित भएको छ । यही मौकामा पोखरामा पनि कालोवजारी भैरहेको उपभोक्ताले गुनासो गरेका छन् ।

‘सबैको ध्यान भूकम्पले पु¥याएको क्षति तर्फ गैरहेको छ’ पोखराका सुदर्शन पौडेलले भने ‘यही मौकामा व्यपारीहरुले फाइदा उठाइरहेका छन् । राहतका लागि आफुहरुले लैजानका लागि किनेको सामानमा सबै महङ्गो मूल्य परेको छ ।’ पोखराका ठूला डिमार्टमेन्टल स्टोर्सदेखि साना किराना पसलसम्म यही मौकामा म्यान गुज्रेका सामाग्री तथा महङ्गोमा बेचिएको हुनसक्ने भन्दै उपभोक्ताले अनुगमनको माग गरेका छन् ।

प्रशासनले तत्काल छड्के अनुगमन गरी यस्तो विपतमा उपभोक्तालाई ठक्ने व्यापारीलाई कारवाही गर्न नयाँबजारमा निश्चल दुवाडीले माग गरे । यही विषयमा क्षेत्रीय प्रशासक दिनेश थपलियालाई जिज्ञासा राख्दा उनले तत्काल अनुगमन थाल्ने र त्यस्तो पाइए कारवाही गरिने दावी गरे । ‘मैले जिल्ला अनुगमन समितिलाई निर्देशन दिइसकेको छु’ थपलियाले भने‘ मानविय संवेदना नभएका त्यस्ता व्यापारीलाई भन्नुपर्ने ठाउँ त केही छैन् तर, हामी कारवाही गछौं ।’

Comments are closed.