भूकम्प- एक कुरुप इतिहास

rupindra–रुपिन्द्र प्रभावी

अचानक हुँडलेर धर्तीको आन्द्राभुँडी
विषवमन भयो यही धर्तीको छातीमा
दुख्ने गरी उही धर्तीको मुटु अद्वितीय ।

शत्रुताको पराकाष्ठामा उभिएको हो कि
इतिहासको संरक्षणमा हाजिर भएको हो
भन्नै नसकिने गरी
अड्कलसम्म पनि गर्न असमर्थ हुने गरी
खै कहाँबाट आयो यो फिलिङ्गो उड्दै उड्दै
र डढाएर गयो मान्छेहरुको स्वप्न महल ?

यतिखेरै
खरानीमाथि शासनको सपनामा तन्द्रान्मुख जमात
यतै कतै आवरणयुक्त कायाको छायामा डुलेको पनि देखियो
भर्खरै
आँसुको दहमा पौडिँदै गरेको मान्छेको
औँठा खरिद्ने दाउमा गाउँ छिरेको पनि देखियो उस्तै जमात
विद्वत्ताको सिरानी हालेर लम्पसार कुम्भकर्णावतार पनि देखियो
भर्खरै, यतै कतै ।

नियमित आकस्मिकताजस्तो
सपनाकै आत्महत्याजस्तो
गोडमेलमा निस्किएको किसानजस्तो
अरे बाबा !
स्वाभाविकजस्तो अस्वाभाविकताको रजाइँमा
कागले लगेको कानका पछि दौडिएर कहाँ पुगिन्छ ?
भनिदिनुस् न मलाई पनि
आकास हेर्दाहेर्दै गोडा ठेसिएर बगेको रगत कहिले सम्हालिन्छ ?
तपाईँ नै भनिदिनुस् मलाई ।

अज्ञातजस्तो भूमिगत रगत सम्झेर
आगत र विगतका अक्षरहरुको सम्मानमा
जति पोख्नुहुन्छ तपाईँ पसिना माटोमा
उति नै फल्छ आगोमा उज्यालोको दाना ।

कम्पनमा मस्त भूमिको शक्तिलाई शक्तिहीन तुल्याइदिऊँ अब
चेतना र एकताको हतियारले
निस्तेज बनाइदिऊँ भूकम्पको सयौँ ‘भोल्ट’को झट्का
चढेर कुरुप इतिहासकै भर्‍याङ
बिर्साइदिऊँ कुरुप इतिहास ।

समिभन्ज्याङ–५, लमजुङ
हाल – पोखरा
प्रधान सम्पादक-सम्मोहन साहित्यिक, पत्रिका
rupindrakatu@gmail.com

Comments are closed.