पोखरा १५ चैत्र/ यसैपनि भर्खरै सुरु हुँदै गरेको गर्मिलो भरतपुरमा यो शनिबार भूपिनका कविताले अरु गर्मि थपिदियो । सँधैजसो शनिबार कार्यक्रम भैरहने चितवन यो शनिबार भूपिनका कविताले बिषेश बन्यो । कार्यक्रम सुरु हुने समय हुँदानहुँदै हातहातमा टिकट लिएर भरतपुर उपमहानगरपालिको हलमा कविताप्रेमी हाजिर थिए । चैत महिनाको गर्मि त्यसमा पनि दिउँसो साढे एक बजे कालो सर्ट, जिन्सको पाइन्टमा गोरा अनुहार र अग्ला कदका हँसिला कवि भूपिन जब कविता वाचन गर्न मञ्चमा उक्लिए तब हलमा खचाखच भरीएका कविताप्रेमीहरुले परररर तालि बजाएर हौसला बढाईदिए ।
एक सय रुपैयाँ तिरेर आएका भरतपुर तथा आसपासका कविताप्रेमीहरु कविता सुन्न आतुर थिए । जब कवि भूपिनले ‘देब्रे हात’ शिर्षकको कविताबाट वाचन सुरु गरे । उनका कविताले घरी देशको चिन्ताले शिथिर बनाउँथ्यो त घरी जुर्मुराइदिन्थ्यो । कतिबेला गर्वले छात्ति ढक्क फुलाइदिन्थ्यो र जगाइदिन्थ्यो देशप्रेम र माटोको माया ।
उनले १३ वटा कविता वाचन गर्दा उनका सहकर्मी तथा अन्य साहित्यकाररले ७ वटा उनका कविता वाचन गरी साथ दिए । घरी आमालाई सम्झे, घरी देश र माटोलाई सम्झे । कविताबाटै विभिन्न आरोहअवरोहरु पार गरे । कुरीति विसङ्गतिप्रति व्यङ्ग्य गरे । हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले भूपिनका कविता सुन्ने मेसो मिलाएको हो । ‘टिकटमा कविता, कवितामा भूपिन’ नाम दिएर गरीएको एकल कविता वाचनमा उनले ‘ट्राफिक’, ‘स्वर्ग’, ‘म नदी बनेर बग्न चाहन्छु’, ‘नानीहरु’ लगायतका कविता सुनाए ।
समग्र कवितालाई तीन श्रृंखलामा विभाजन गरेर भूपिनले कविता वाचन गरेपछि कविहरु निमेष निखिल, सरिता तिवारी, हेमन यात्री, उदय अधिकारीले कवितामाथि टिप्पणी गरे । कार्यक्रममा भूपिनलाई प्रभाकर पण्डित, ईश्वर कँडेल, सुमनराज श्रेष्ठ, सुप्रदिप्ती भण्डारी र जेनन नेपालले वाचनमा साथ दिएका हुन् । हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले अध्यक्षता गरेको कार्यक्रममा वरिष्ठ गजलकार तथा गीतकार प्रेमविनोद नन्दन प्रमुख अतिथि थिए भने विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरुसहित करिव डेढ सय भन्दा बढी कविताप्रेमीको उपस्थिति थियो ।
Comments are closed.