भ्रष्टाचारविरुद्ध कालो कपडा लगाएर राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीको प्रदर्शन

पोखरा,
राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले बुधबार पोखरामा भ्रष्टाचार, नागरिकता विधेयक, महङ्गी लगाएतका विषयविरुद्धमा कालोपट्टी र कालो कपडा लगाएर विरोध प्रदर्शन गरेको छ ।
सम्पुर्ण जिल्लामा पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन गर्ने कार्यक्रम अनुरुप कास्कीले विरोध प्रदर्शन गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
पोखराको शहिदचोकमा भएको प्रदर्शनमा पार्टीका युवा नेता देखि पार्टीका नेताहरुको समेत सहभागिता रहेको थियो ।


२०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग राखेको राप्रपा भ्रष्टाचारको मुद्दामा कठोर बन्दै आएको छ । राप्रपाले गत १ असारमा विभिन्न २२ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । आफ्ना माग पूरा गराउन राप्रपा दोस्रो चरणको संघर्षमा होमिएको छ । यसअघि राप्रपाले १३–३१ असारसम्म पहिलो चरणको संघर्ष गरेको थियो ।११ साउनदेखि ३१ गतेसम्म दोश्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राप्रपा भदौमा काठमाडौं केन्द्रीत आन्दोलन गर्ने तयारीमा रहेको समेत प्रवक्ता गिरीले जानकारी दिए ।

हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्र प्रमुखको रुपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, आगामी प्रदेश र संघको निर्वाचनलाई धाँधलीरहित र विश्वसनीय बनाउन निष्पक्ष चुनावी सरकार गठन लगायत महँगी, बेरोजगारी, किसान, मजदुरका समस्या समाधानका विभिन्न २२ सुत्रीय माग राखी राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । सोही माग पूरा गराउन दबाबमूलक कार्यक्रम जारी रहेको उनले बताए ।

 

 

Comments are closed.