पुरानै खाद्यान्य पनि नयाँ मूल्य कायम गरी विक्री गरिएको गुनासो
अमृत सुवेदी/ पोखरा १ असार
पोखरामा विभिन्न खाद्यान्यको मूल्य बढेको छ । पोखराका व्यापारीहरुले भूकम्पपछि एकाएक खाद्यान्य बिक्रेताले दाल, गेडागुडी र चामलको मूल्य बढाएका हुन् । भूकम्पपछि राहतमा लैजानका लागि प्रयोग भएका दाल, चामल लगायतका खाद्यान्यको अहिले मूल्य बढेको छ । खुद्रा व्यवसायीका अनुसार, थोक बिक्रेताले मुसुरो दालको मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँबाट १ सय ५६ रुपैयाँ पुर्याएका छन् ।
यसैगरी रहरको दाल १ सय ७० रुपैयाँबाट १ सय ८० रुपैयाँ पुर्याएका छन् । थोक विक्रेताले एकाएक मूल्य बढाएपछि अहिले पोखरामा खुद्रा व्यापारीले मसुरोको दाल प्रतिकिलो १ सय ८० रुपैयाँदेखि २ सय रुपैयाँसम्म लिने गरेका छन् । यसैगरी रहरको २ सय रुपैयाँदेखि २०० रुपैयाँसम्म लिने गरेको भेटिएको छ भने मासको दाल पनि सर्वसाधरणले २ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । थोक व्यापारीले भूकम्पपछि १ सय ६५ पर्ने मासको दाललाई १ सय ७५ रुपैयाँ पुर्याएका थिए ।
चना र सोना मन्सुलीको चामलको मूल्य पनि बढेको छ । एक खुद्रा व्यापारीका अनुसार चना र चामलमा पनि एकाएक थोक व्यापारीले मूल्य बढाएका हुन् । चनामा प्रतिकिलो १० रुपैयाँ बढेको छ भने सोना मन्सुली चामलमा प्रतिकिलो ३ रुपैयाँ बढेको छ । थोक व्यापारीले चना ९० रुपैयाँ बनाएका छन् भने सोना मन्सुलीको चामल ३० किलोको बोरालाई १३ सय रुपैयाँबाट एकैपटक १४ सयमा बनाएका छन् । खुद्रा व्यापारीले सर्वसाधरणबाट चनाको १ सय १० रुपैयाँ र सोना मन्सुलीको चामल १५ सय ५० देखि १६ सय रुपैयाँसम्म उठाउने गरेका छन् ।
थोकको मूल्य बढेका कारण खुद्रा मूल्य पनि बढेको खाद्य तथा किराना व्यवसायी संघका अध्यक्ष धनिराम बरालले बताए । ‘मनलागी रुपमा खुद्रा व्यापारीले मूल्य बढाएका होइनन्’ अध्यक्ष बरालले भने ‘थोक विक्रेताहरुले नै मूल्य बढाएर दिएपछि घाटा खाएर बेच्ने कुरा हुँदैन ।’
भूकम्प प्रभावित क्षेत्रमा राहतका रुपमा दाल, चामल, बढी जान थालेपछि पुरानै खाद्यान्यलाई पनि नयाँ मूल्य कामय गरी विक्रि गरेको बताए । ‘पोखराबाट धेरै खाद्यन्य भूकम्प प्रभावित क्षेत्रमा गयो’ ति खुद्रा व्यवसायीले भने ‘त्यही मौका छोपेर थोक व्यापारीले मुल्य बढाए ।’ पर्याप्त खाद्यान्न हुँदाहुँदै दाल र गेडागुडीको मूल्य बढ्नुपर्ने कारण नभएको उनले बताए ।
पोखरामा झण्डै ५० भन्दा बढी थोक व्यवसायी छन् । त्यसो त खुद्रा व्यापारीले पनि मोटो रकम नाफा राखेर मौकामा चौका हान्ने गरेका कारण बजार मूल्य विग्रिएको व्यापारीहरुनै बताउँछन् ।
थोक विक्रेता भने खाद्यन्य आउँदा नै बढेर आएका कारण महङ्गो भएको बताउँछन् । खाद्यान्न आयात गर्ने मुलुकहरुमा वर्षातका कारण उत्पादन कम भएकाले मूल्य बढेको बताउँछन् । उनीहरुले पोखरामा एक महिना भन्दा लामो समय खाद्यन्य स्टक नै नरहने बताउँछन् । उनले राहत सामाग्री वितरण गर्दा मौज्दातमा रहेको खाद्यान्न सकिएको बताउँदै आयात गरेको खाद्यान्नको भाउ बढेर आएकाले मूल्य महँगो भएको दावी गरे ।
फितलो अनुगमन
बजारमा खाद्यान्यको मूल्य बढेको छ । अखाद्य बस्तुका कारण विरामी बढेका छन् । विभिन्न कम्पनीका तेल तथा सामाग्रीहरु विक्री गर्न प्रतिवन्ध लगाइएको छ । तर, अनुगमनको पाटो भने फितलो छ । प्रभावकारी रुपमा बजार अनुगमन नहुँदा मौकाको फाइदा उठाउनेहरुलाई हौसला मिलेको छ । तर, प्रशासन यो मान्न तयार छैन् । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण राउत भन्छन्, ‘हामीले अनुगमन गरिरहेका छौं ।’
जिल्ला प्रशासनको नेतृत्वपमा बनेको जिल्ला अनुगमन समितिले अनुगमन त गर्छ तर, कारवाही थर्छ की गर्दैन कसैलाई थाहा छैन । अनुगमनको कुरा त सार्वजनिक गर्छ तर कतिलाई कस्तो कारवाही भयो सार्वजनिक भने हुँदैन । यसले प्रशासनप्रति नै शंका गर्ने उपभोक्ता बताउँछन् । सरकारी ड्रेससँगै सुटबुट लगाएर अनुगमनमा निस्कने टोलीलाई कालो बजारी गर्नेले आफ्नो कर्तुत लुकाउन कुनै समस्या पर्दैन् । बास्तिविक अनुगमन नै गर्ने हो भने उपभोक्ता भएर सामान किन्नका लागि जानुपर्छ । क्षेत्रीय प्रशासक दिनेश थपलिया अनुगमन प्रभावकारी नभएको स्वीकार्छन् ।
यता खुद्रा विक्रेताले भने बास्तविक अनुगमन गर्न थोक विक्रेता र बाहिरबाट सिधै सामान आने कहाँ जानुपर्ने बताउँछन् । ‘साना किराना पसलहरुले पनि केही कमजोरी गरेका होलान् तर सामान ल्याउने भनेको थोक बिक्रेता मार्फत हो’ खाद्य तथा किराना व्यवसायी संघका अध्यक्ष बरालले भने, ‘जहाँबाट कमजोरी भएको छ प्रशासन त्यहाँ पुग्नै सक्दैन ।’ सरकारले थोक बिक्रेताको विलविजक नहेर्दा पनि मूल्य जथाभाबी बढेको खुद्रा व्यापारीहरुको आरोप त । ‘विल हेर्ने वितिकै मूल्यको वास्तविकता पत्ता लाग्छ । थोक तथा खुद्रा व्यापारीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ,’ एक उपभोक्ताले भने ।
आकासियो तरकारीको मूल्य
पोखरामा तरकारीको मूल्य पनि आकशिएको छ । केहीदिन अगाडीको तुलनामा धेरैजसो तरकारीको मूल्य बढेको छ । तरकारीको मूल्य आकासिएपछि उपभोक्ताहरु महंगो रकम तिरेर भए पनि तरकारी किन्न बाध्य भएका छन् । तरकारीको मूल्यमा १५ देखि ४० प्रतिशतसम्म मूल्य बृद्धि भएको कृषि उपज बजार संचालक समिति शान्तिबन बाटिकाका निवर्तमान अध्यक्ष रामकृष्ण दवाडीले बताए ।
पहिले गोलभेँडाको ६० देखि ७० रुपैयाँमा पाइने गोलभेंडा बढेर झण्डै एक सय रुपैयाँ पुगेको छ । प्याज, काउली, सिमी, पालुङको साग लगायत सबैजसो तरकारीमा १५ देखि २० रुपैयाँसम्म बढेका छन् । कतिपय तरकारी आउने ठाउँमा भूकम्पले प्रभाव पारेको र कतिपय तरकारीको सिजन नभएकाले महंगिएको बताउँछन् । व्यवसायीहरुले दशैसम्म मूल्य नघट्ने र त्यसपछि मात्र सस्तिन सक्ने अनुमान गरेको छन् । हिजोआज आलु अहिले सबै भारतबाट आउने गरेको र भारतबाट आउने भएका कारण महंगिएको व्यवसायीहरुको भनाई छ ।
Comments are closed.