मत माग्ने अनौठो शैली : तमसुक पत्रमा सहिछाप गर्दै , मत माग्दै

प्रतिवद्धता पत्रमा ल्याप्चेसहितको तमशुक

  पोखरा,
                                       चुनावमा मत माग्ने आ–आफ्नै तरीका हुन्छन् । आफ्नो पक्षमा जनताको मत तान्न गरीने क्रियाकलापले नै मतदाताको मन छुने गर्छ । सबै राजनितिक दलहरु घरदैलोमा ब्यस्त हुँदै कोणसभासहित प्रचारप्रसारमा लागिरुहेका बेला उन्नत लोकतन्त्र पार्टी(एडिपी) का पोखरा महानगरपालिकाका उम्मेदवारको मत माग्ने शैली भने सबैमा चाखलाग्दो बनेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पोखराको प्रमुखसहित केही वडामा उम्मेदवारी दिएको पार्टीले घरदैलोमा जाँदा आफु विजय भएपश्चात के के गर्ने भन्ने प्रतिवद्धता पत्रमा ल्याप्चेसहितको तमशुक गर्ने शैली अपनाएको छ । प्रचारको यो शैली निक्कै प्रभावकारी बन्दै गएको पार्टीको दाबी छ । पोखराको मेयर पदका लागि उम्मेदवारी दिएका आशीस थापाले जनतालाई बाचा गर्ने तर चुनाव जितेपछि पुरा नगर्ने प्रवित्तीसँग जनता वाक्क भएकाले पहिल्यै सहिछापसहित प्रतिवद्धता जनाउने पार्टीको नीति बनेको जानकारी दिए । “ठूला भनिएका दलहरुले आम सभा र कोण शभा गरेर नागरीकलाई अनेक आश्वासन बाँड्छन् तर हामी प्रत्यक्ष रुपमा भेटेर कबुलियतनामा गरेर नै मत मागिरहेका छौँ । ”, थापाले भने ।
                            बिजयी भएपश्चात गर्ने कामहरुलाई पहिल्यै तमशुक गरेर प्रतिवद्धता जनाएकोमा आफुसँग आम पोखरेली समेत खुशी भएको उनको दाबी छ । उन्नत लोकतन्त्र पार्टीले जारी गरेको तमसुक पत्रै प्रतिवद्धता जनाएका काम हरु पुरा नगरे दिईसकेको मत समेत मतदाताले बदर गराउन सक्ने उल्लेख छ । पत्रमा लेखिएको छ–”उल्लेखित कार्यहरु निर्वाचित भएर नगरेमा हामीलाई दिएको भोट फिर्ता लिई ५१ प्रतिशतबाट प्रत्यावहन गरेमा समेत मञ्जुरी छ । पछि होईन छैन भन्ने छैनौ । भनेमा यसै कागजद्वारा बदर गरी हामीलाई पदबाट बर्दास्त गरेमा कतै उजुरबाजुर गर्ने छैनौ भनी मतदाताका नाममा सहिछाप गरी यो करारनामासरहको तमशुक गरी दिएको छु । ” तमसुक पत्रमा महानगरमा बत्ती पानी , स्वास्थ्य शिक्षा र भूमीहिनलाई आवास निर्देशिका बनाई निशुल्क रुपमा उपलब्ध गराउने जनाईएको छ ।
                                                  अनावश्यक रुपमा पालिकाले लगाएको दोहोरो तेहेरो कर अन्त्य विद्यालय , बन उपभोक्ता समितिमा राजनीतिकरणको अन्त्य , पालिका बाट हुने सबै राजनीतिक नियुक्तीको बदर , फोहोरबाट मल र ईन्धन उत्पादनमा जोड , निर्देशिका सहित युवाहरुलाई आवश्यक योजनाको तय , पालिकाभित्र रहेका सबै विदेशी कामदारको तथ्याङक राखि नीति निर्माण गर्नेसहितका २१ ओटा बुँदाको तमसुक पत्रमा सहिछाप गरी पार्टीको चुनाव चिन्ह ‘किताब’ मा मत मागिरहेको मेयरका उम्मेदवार थापाले जानकारी दिए । ठूला भनिएका दलहरुका कारण आम जनतामा दलहरुप्रति वितृष्णा फैलिएको घरदैलोका क्रममा आफुले महसुस गरेको पनि थापाको भनाई छ । “ठूला र स्थापित दलहरुसँग प्रतिस्पर्धा गर्ने हुँदा जित कसको हुन्छ भन्ने भन्दा पनि कसको एजेण्डालाई जनताले मनमा लिनेछन् भन्ने कुरा ठूलो हो । तर ठूला दलहरुप्रति जनताको वितृष्णा बढ्दो रहेछ । ” , थापाले भने ।          https://www.youtube.com/watch?v=BmZZAfw6S8M

Comments are closed.