नवराज ढुङ्गाना/ भदौ १८ गते
सीमांकनको विरोधमा देशका विभिन्न ठाउँमा भैरहेको आन्दोलनको प्रभाव पोखराको तरकारी बजारमा पनि देखिन थालेको छ । पछिल्लो पटक मुख्य दलहरुले ७ प्रदेशसहितको संघीय संरचनामा सहमति गरेसँगै लामो समयसम्म ठाउँ ठाउँमा बन्द हड्ताल हुन थालेपछि यसको प्रभाव कृषि क्षेत्रमा पनि परेको हो ।
मधेशमा ३ हप्ता लामो आन्दोलन चलिरहँदा तरकारी बजारमै सबैभन्दा बढी खपत हुने गोलभेँडा लगायतका केही तरकारीको भाउ आधाभन्दा बढी सस्तिएको छ । बन्दका कारण तराईका अधिकांश जिल्ला र अन्य केही पहाडी जिल्लाहरुमा पछिल्लो समय तरकारीको खपत शून्य प्रायः भएको छ । यसैको प्रभावका कारण कहिल्यै तरकारी नआएका ठाउँबाट समेत पोखराको बजारमा तरकारी भित्रिन थालेको छ ।
“यसअघि सामान्य अवस्थामा पोखरामा गुल्मी, पाल्पा लगायतका ठाउँबाट तरकारी आउँदैनथ्यो ।” पृथ्वीचोकस्थित कृषि उपज बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामकृष्ण दवाडीले भने– “बुटवल लगायत तराईको बजार ठप्प भएपछि, त्यहाँको तरकारी यता पनि आउन थालेको छ ।”
नयाँ ठाउँबाट तरकारी आयात हुन थालेपनि तरकारीको खपत भने बन्द अघिको तुलनामा ६० प्रतिशतभन्दा बढी घटेको उनले सुनाए ।
“पहिले हामी ७ जना व्यवसायी मिलेर ३ सय क्रेट गोलभेँडा बोक्ने ठूलो ट्रक मगाउँथ्यौं त्यो सबै गोलभेँडा एकै दिनमा सकिन्थ्यो ।” उनले भने– “अहिले १ सय क्रेट गोलभेँडा बोक्ने सानो ट्रक मगाउँदा पनि गोलभेँडा नबिकेर हैरान छ ।”
पोखरामा बन्द हड्तालका त्यति धेरै कार्यक्रम नभएपनि बन्दका कारण बाग्लुङ्ग, कुश्मा, स्याङ्जा लगायतका ठाउँबाट माग नआउँदा व्यापार घटेको उनको भनाई छ । बाग्लुंगलाई अखण्ड राख्नुपर्ने मागसहित २ सातादेखी त्यहाँ चलिरहेको बन्दका कारण आसपासका बजारमा प्रभाव परेको दवाडी बताउँछन् ।
पोखराको तरकारी बजारमा अन्य तरकारीको तुलनामा गोलभेँडाको भाउ ह्वात्तै घटेको छ । बोटमा पनि धेरै समय नरहने र टिपिसकेपनि लामो समय टिकाउन गाह्रो हुने भएकाले जसरी पनि बिक्री गर्नुपर्ने भएकाले किसानले कम मूल्यमै गोलभेँडा उठाउन बाध्य भएका छन् ।
यही भदौ १० गते पोखराका होलसेल व्यापारीले प्रतिकिलो ७० रुपैयाँमा बेचेको गोलभेँडा भदौ १७ गते बिहीबार भने ३५ रुपैयाँमा झरेको छ । होलेसेल मूल्य आधाभन्दा कम सस्तिएपछि, उपभोक्ताले पनि ४०÷५० रुपैयाँमा गोलभेँडा खरिद गर्न पाएका छन् ।
“प्याजको मूल्य बढेजस्तै गरी गोलभेँडा पनि बढ्छ की भन्ने चिन्ता थियो थियो ।” पृथ्वीचोकस्थित सस्तो बजारमा गोलभेँडा खरिद गर्न पुगेकी प्रस्याङ्गकी सीता पौडेलले भनिन्– “दुई÷तीन दिनमै यति धेरै पो घटेछ । बन्दले बढ्छ होला भन्ने लागेको थियो, गोलभेँडा त झन् घटेछ ।”
उपभोक्ताले सस्तो मूल्यमा पाएपनि महंगो लागत लगाएर गोलभेँडा उत्पादन गरेका किसानलाई भने बन्दका कारण खपत कम हुँदा मर्का परेको छ । बाहिरी जिल्लाबाट अझै सस्तोमा आउने भएकाले स्थानीय स्तरमा उत्पादन हुने गोलभेँडाले भाउ पाउन नसकेको किसानहरुको गुनासो छ ।
स्थानीयस्तरमा पोखराको हेम्जा, लेखनाथको भरतपोखरी, लाहाचोक, पर्वतको तल्लो भेगका किसानले व्यावसायीक गोलभेँडा खेती गर्दै आएका छन् । यहाँ उत्पादन हुने गोलभेँडाको मुख्य बजार पोखरा हो । यी ठाउँको तुलनामा बढी गोलभेँडा उत्पादन हुने काठमाडौं, भक्तपुर, धादिङ्ग तथा तराईका जिल्लाबाट आउने गोलभेँडा निकै सस्तो हुन्छ । यसले गर्दा आफुहरु मर्कामा परेको किसानहरुको गुनासो छ । तर अहिले तराई र भारतबाट तरकारी आउन सकेको छैन ।
स्थानीयस्तरमा उत्पादन हुने तथा बाहिरी जिल्लाबाट आयात हुने सबै गरी पोखरामा यसअघि दैनिक करिब २० टनको हाराहारीमा गोलभेँडा खपत हुने गरेपनि अहिले भने ८÷१० टन पनि कट्न गाह्रो हुने गरेको तरकारी व्यापारीहरु बताउँछन् ।
गोलभेँडा जस्तै अन्य तरकारीको खपत र भाउ पनि घटेको उनीहरुको भनाई छ । गत साता ६५ रुपैयाँ प्रतिकिलो होलसेल मूल्य भएको सिमी पनि बिहीबार घटेर ३०÷३५ रुपैयाँमा कारोबार भयो । यस्तै, घिरौंला लगायतका अन्य तरकारीको भाउ पनि घटेको छ ।
देशको राजनीतिक अवस्था सामान्य नभएसम्म तरकारीको भाउ माथि नचढ्ने कृषि उपज बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामकृष्ण दवाडीले बताए । अब तीज सुरु नहुन्जेल यो क्रम जारी रहने तरकारी व्यवसायीहरुको भनाई छ ।
Comments are closed.