पोखरा, पुस १७ गते ।
अखिल नेपाल फुटबल संघ कास्कीको आयोजनामा पुस २१ देखि माघ ३ गतेसम्म संचालन हुने चौंथो संस्करणको मनकामना केबुलकार पोखरा कप २०७१ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक एन्फा कास्कीले बुधवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रयोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । ‘पोखरा रगंशालाको फुटबल मैदान मर्मत र त्यसलाई हरियाली बनाउने काम सकिएको र अस्थायी प्यारापिट निर्माण अन्तिम चरणमा पुगेको छ ।’ एन्फा कास्कीका अध्यक्ष धर्मबहादुर लामिछानेले भने । प्रतियोगितामा दुई विदेशी सहित १२ टिमले प्रतिस्पर्धा गर्ने पक्का भएको समेत अध्यक्ष लामिछानेले जानकारी दिए ।
प्रतियोगितामा विभागीय टोली नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको एपिएफ क्लब, थ्रि स्टार, मनाङमस्र्याङर्दी, सरस्वती यूथ क्लब, धरान फुबटल क्लब, रुपन्देही, झापाको रोलिङ क्लब, आयोजक पोखरा ११ र विदेशी टोली भुटान फुटबल क्लब र हङकङ एभरेष्ट फुटबल क्लब गरि १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
तिनबर्ष सफल दुधको प्रायोजनमा ‘सफल पोखरा कप’को नामबाट संचालन हुँदै आएको प्रतियोगिता यस बर्षदेखि मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा मनकामना केबलकार पोखरा कपको नाममा सञ्चालन हुन लागेको हो । मनकामना प्रालिले बार्षिक दश लाख रुपैयाँ दिने सहमति भएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ५५ हजार र उपविजेताले २ लाख १ हजार, ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ठ खेलाडिलाई मोटरसाईकल प्रदान गरिनेछ भने उत्कृष्ट डिफेन्स, मिडफिल्ड, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैया पुरस्कार स्वरुप प्रदान गरिने प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए ।
प्रतियोगिताबाट ६२ लाख रुपैँया आम्दानी खर्च कटाएर १५ लाख बचत गर्ने लक्ष्य राखिएको आर्थिक संयोजक मदन केसीले बताए ।
Comments are closed.