पोखरा, १७ असार
सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले संविधानको प्रारम्भिक मस्यौदा मै विरोध गरेर मस्यौदाको प्रति च्यात्नु गलत भएको बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री रिजालले संविधानको मस्यौदा राय सुझावका लागि जनतामा जाने र पार्टीको पनि सुझाव लिएर मात्रै नयाँ संविधान जारी हुने भएकाले प्रारम्भिक मस्यौदाको विरोध गर्नु र च्यात्नुमा कुनै तुक नभएको टिप्पणी गरे ।
रिजालले संविधान निमार्णको काम अन्तिम चरणमा पुग्दासम्म संविधान निमार्णको विरोधमा रहेका नेता तथा राजनीतिक दलहरुलाई मिलाएर लैजाने कोशिस गर्ने बताए ।
‘संविधानको प्रारम्भिक मस्यौदा भनेको नै त्यसमा भएका कमीकमजोरी पत्ता लगाएर काम अगाडि बढाउनु हो । मन्त्री रिजालले भने– ‘त्यसैले प्रारम्भिक मस्यौदामा आएका उहाहरुको विचारलाई समावेश गरेर समस्याको टु·ो लगाउन सकिन्छ ।’
रिजालले नयाँ संविधान जारी गर्न बहुमतले मात्रै नपुग्ने र दुई तिहाइ सभासद्को खाँचो पर्ने र सबै राजनीतिक दलका सभासद्को सहयोगबाटै संविधान बन्ने भएकाले यसलाई सहयोग गर्न सबैसँग आग्रह गरे ।
सत्ता लम्बाउने खेलमा नेपाली काँग्रेस नरहेको बताउँदै सञ्चारमन्त्री डा. रिजालले संविधानसभाबाट नयाँ संविधान बनाउने काँग्रेसको अभिलाषा ६६ वर्षपछि पूरा हुन लागेकाले पार्टीको महाधिवेशन अगाडि नै नयाँ संविधान जारी हुने र सत्ता छोडिने जानकारी गराए ।
फरक प्रस·मा बोल्दै मन्त्री रिजालले पार्टीको महाधिवेशन समयमा नै हुने दावी गरे ।
पार्टीको सदस्यतामा विवाद रहेको भन्ने खबर बाहिर आएपनि त्यस्तो कुनै विवाद नरहेको र केही समस्या भए त्यसको लागि छुट्टै समिति गठन गरेको उनले कार्यक्रममा जानकारी दिए ।
उनले संविधानको प्रारम्भिक मस्यौदा तयार पार्नुअघि पत्रकार महासंघका पदाधिकारीसँग सुझाव मागेपनि केही सुझाव नआएको बताए । अहिले आएको मस्यौदा प्रारम्भिक मात्र भएकाले यो विषयमा फेरी पनि छलफल गर्न सकिने मन्त्री रिजालको भनाई छ ।
प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको सभाध्यक्षमा भएको कार्यक्रममा स्वागत युनियनका उपाध्यक्ष माधव रेग्मीले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रेस युनियन कास्कीका सचिव प्रकाशचन्द्र सापकोटाले गरेका थिए ।
Comments are closed.