महाभूकम्पले सिङ्गो देश शोकमग्न,१ हजार ५ सयभन्दा बढीको दुःखद निधन

शनिबार गएको भूकम्पका कारण नेपालभर १ हजार ५ सयभन्दा बढीको दुःखद निधन भएको छ । हजारौं घाईते भएका छन् भने लाखौं घरमा क्षति पुगेको छ । मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक आसपासलाई केन्द्रविन्दु बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको हो । लगातार दुईमिनेटसम्म गएको भूकम्पको प्रभाव सबैभन्दा बढी काठमाडौं उपत्यका र आसपासमा परेको छ । भूकम्प मापन केन्द्रका अनुसार शनिबार दिनभर ६५ भन्दा बढी भूकम्पका झट्का महसुस गरिएको छ । उद्धार कार्य शनिबार राती पनि जारी रहेको छ । मृतक र घाईतेको संख्या क्रमशः बढिरहेको उद्धारकर्ता, प्रहरी र सरकारले जनाएका छन् । उपत्यकाका सबैजसो अस्पतालहरुले भवन बाहिरै घाईतेहरुको उपचारको व्यवस्था मिलाएका छन् । नेपालमा वि.सं. १९९० पछि गएको सबैभन्दा ठूलो भूकम्प नै यही हो ।

चौबिस घण्टाभित्र घरभित्र नपस्न आग्रह

शक्तिशाली भूकम्प गएको अवस्थामा सकेसम्म २४ घण्टासम्म घरभित्र पस्न नहुने भूकम्पविद्हरुको सुझाव छ ।
देशमा शनिबार गएको भूकम्पपछि, विज्ञहरुले भूकम्पको प्रभाव २४ घण्टासम्म कायम रहनसक्ने भएका कारण सुरक्षाका लागि सकेसम्म घरभित्र पस्न नहुने बताएका छन् ।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका महासचिव आमोदमणि दिक्षितका अनुसार लगातार भूकम्पको धक्का महसुस भइरहेका अवस्थामा कुनै पनि बेला भूकम्प जानसक्ने भएकोले बेलैमा सचेत बन्नुपर्ने बताए ।
खानाका लागि अत्यावश्यकीय खानेपानीलगायतका तत्काल खानसकिने समानको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
भूकम्प जोखिम न्युनीकरणका लागि लामो समयदेखि काम गर्दै आएका कीर्तिपुर रेडक्रस उपशाखाका सभापति हर्षमान् महर्जन भूकम्प प्राकृतिक विपत्ति भएका कारण यसबाट हुनसक्ने क्षतिप्रति बेलैमा सचेत बन्नुपर्ने बताउँछन् ।
भूकम्प आइसकेको अवस्थामा ढोकाको चौकोस, खाट, टेबुल आदि वस्तुको मुनी बस्ने, ग्यास चुलो, बिजुली आदि तत्काल निभाउनुपर्ने, सकेसम्म टाउको छोपी गुडुल्कीएर बस्नुपर्ने उनको भनाई छ ।

पश्चिमाञ्चलका अधिकांश जिल्ला प्रभावित
४९ को मृत्यु, करिब डेढ सय घाईते, ९ सय बढी घर भत्किए

भूकम्पले पश्चिमाञ्चल विकास क्षेत्रका अधिकांश जिल्ला प्रभावित भएका छन् । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाका अनुसार शनिबार राती अबेरसम्म पश्चिमाञ्चलका सबै जिल्लामा गरी ४९ जनाको मृत्यु भएको छ भने डेढ सयभन्दा बढी घाईते भएका छन् । ९ सयभन्दा बढी घर भत्किएका छन् ।
पश्चिमाञ्चलको केन्द्र कास्कीमा २ जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् ।
पोखरा, लेखनाथसहित विभिन्न गाविसमा गरी ३ सयभन्दा बढी घर भत्किएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए । भूकम्पमा परी कास्की रुपाकोट ८ पिपलडालीकी ३५ बर्षकी जुना खड्का र माझठानाका ९३ बर्षीय होमनाथ भूर्तेलको ज्यान गएको हो । घाईतेहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल लगायतमा उपचार भैरहेको छ ।
पश्चिमाञ्चलमा भूकम्पको केन्द्रविन्दु मानिएको गोरखा जिल्लामा मात्रै ४५ जनाको मृत्यु भएको छ । गोरखाको बारपाकमा भूकम्पपछि ८० प्रतिशत घर भत्किएका छन् भने आगलागी पनि भएको छ ।
यसैगरी, नवलपरासी र तनहुँमा १÷१ जनाको ज्यान गएको छ । स्याङजामा तीन महिला घाईते भएका छन् भने सयभन्दा बढी घरमा क्षति पुगेको छ ।
लमजुङमा दुई पुरुष र ७ महिला गरी ९ जना सामान्य घाईते भएका छन् । साढे दुईसयभन्दा बढी घरमा क्षतिग्रस्त भएका छन् । भूकम्पका कारण पर्वत, बाग्लुङ, मनाङ, मुस्ताङ, रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र म्याग्दी, अर्घाखाँचीमा समेत प्रभाव परेको छ ।
विभिन्न ठाउँबाट सबै विवरण आईनसकेको क्षेत्रीय प्रशासन कार्यालय पोखराले जनाएको छ ।

सरकारद्धारा संकटग्रस्त क्षेत्र घोषणा, सबै घाईतेको निःशुल्क उपचार

मन्त्रिपरिषद्को शनिबार राती बसेको आकस्मिक बैठकले देशभरका भुकम्प प्रभावित क्षत्रलाई संकट ग्रस्त क्षत्र घोषणा गरि राज्यको सम्पुर्ण शक्ति उद्धार कार्यमा लाग्ने निर्णय गरेको छ । केन्द्रीय राहत तथा उद्धार केन्द्र मार्फत सेना, सशस्त्र र जनपथ प्रहरी परिचालन गर्ने तथा हेलिकप्टर प्रयोग गरि उद्धार गर्ने मन्त्रीपरिषद बैठकले निर्णय गरेको हो । काठमाडौंमा ९ स्थान, ललितपुरमा २, भक्तपुरमा २ र प्रभावित सबै जिल्लामा राहात तथा उद्धार केन्द्र स्थापना गर्ने, प्रधानमन्त्री राहत कोष खडागरी तत्काल सरकारको तर्फबाट ५० करोड रकम जम्मा गर्ने, उद्धारका निमित्त विदेशी समुदायलाई आह्वान गर्ने, ६.सामाजिक संस्था, निजी क्षेत्र, नागरिक समाज, राजनैतिक दलहरु सबैलाई उद्धारमा सहभागी हुन आग्रह गर्ने लगायतका निर्णय मन्त्रीपरिषदको बैठकले गरेको छ । यसैगरी, मृत्यु भएको परिवारलाई उचित क्षतिपूर्ति दिने, घाईतेको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने, सम्पूर्ण भत्किएको संरचना पुरिएका व्यक्तीहरुलाई, सेना, प्रहरी, स्वास्थयकर्मिको परिचालन गरि तत्काल सरकारी र निजि डोजर, इक्जाबेटर प्रयोग गरि उद्धार गर्ने, सम्पूर्ण अस्पताल २४ सै घण्टा खुल्ला राख्ने, डाक्टर र स्वास्थकर्मी २४ सै घण्टा परिचालन गर्ने, सरकारको तर्फबाट नियमित सूचना सम्प्रेषण गर्ने र खुल्ला ठाँउहरुमा टेण्ट, स्वास्थ सेवा, खानेपानी, खाद्यान्न सेवा उपलब्ध गराउने निर्णय गरिएको छ ।

अन्तराष्ट्रिय विमानस्थल बन्द हुँदा प्रधानमन्त्री आउन सकेनन्

इन्डोनेसियामा एक अन्तराष्ट्रिय सम्मेलनका लागि पुगेका प्रधानमन्त्री सुशील कोइराला त्रिभुवन विमानस्थल बन्द भएपछि आउन सकेनन् । नेपालमा विनासकारी भूकम्प आएको खबरलगत्तै स्वदेश फर्किन लागेका प्रधानमन्त्री बैंककमा रोकिएका छन् । इन्डोनेसियाबाट थाइल्याण्ड पुगेका प्रधानमन्त्री सुशिल कोइराला नेपालमा भूकम्प आएपछि शनिबार राती नै नेपाल फर्किन लागेका थिए । इन्डोनेसियामा कोइरालाले स्वास्थ्य परिक्षण गराउने कार्यक्रम थियो । उनले राष्ट्रिय विपत्तिमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । देशमा आएको भूकम्पको विपत्तिमा परेका आम नेपाली जनतालाई यस विपद् घडीमा धैर्य धारण गर्न र घटनाबाट प्रभावित व्यक्तिलाई सहयोग गर्न आग्रह गरे । यस दुःखद प्राकृतिक प्रकोपको व्यवस्थापनका लागि युद्धस्तरमा काम गर्न टेलिफोन मार्फत कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई पनि प्रधानमन्त्री कोइरालाले निर्देशन दिएका थिए । भूकम्प आएपछि आइतबारसम्मका लागि सबै अन्तराष्ट्रिय विमान रोकिएको छ । नेपाल एयरलाइन्ससहित सबै अन्तराष्ट्रिय विमान कम्पनिले सूचना निकालेर शिशेष कारणवश उडान रद्द गरिएको जनाएका छन् । एयरलाइन्स कम्पनीले आइतबार बिहान ७ बजे सम्पर्क गर्न भनेका छन् । विदेश जान ठिक्क परेर विमानस्थल पुगेकाहरुको विमान नउडेपछि विचल्ली भएको छ ।

सगरमाथा चढ्न गएका १० को मृत्यु, सयौं सम्पर्कविहीन

शनिबार बिहान आएको भूकम्पका कारण सगरमाथा क्षेत्रमा पनि हिमपहिरो गएको छ । हिमपहिरोमा परी शनिबार रातीसम्म १० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ । सगरमाथा आरोहण गर्न सगरमाथा आधार शिविरमा रहेका अन्य सयौं मानिस सम्पर्कविहीन भएका छन् । पर्यटन मन्त्री ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आरोहण गर्नका लागि ४ सय विदेशी सहित एक हजार जना भन्दा बढि आरोहीहरु वेस क्याम्प तथा आसपासका क्षेत्रमा गएका थिए ।

आइतबारदेखि मोबाइल सेवा प्रभावित हुनसक्ने

भूकम्पले काठमाडौं उपत्यकाको विद्युत सेवा सेवा अवरुद्ध भएपछि त्यसको असर मोबाइल सेवामा पर्ने भएको छ । स्वीचाटारस्थित भार प्रेसण केन्द्रमा क्षति पुगेपछि राजधानीमा बिद्युत सेवा अवरुद्ध भएको छ । केन्द्रका महानिर्देशक मुकेशराज काफ्लेले विद्युत वितरण प्रणालीमा क्षति पुगेको बताए । उनले सेवा सूचारु केही समय लाग्नसक्ने बताए । यसले गर्दा मोबाइलका बीटीएस टावरको पावर प्याकअप सकिदै गएपछि सेवा प्रभावित हुने भएको हो । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले विद्युत सेवा सूचारु नहुने हो भने टेलिफोन सेवा प्रभावित हुनसक्ने बताइन् । उनले भनिन्, आइतबार पनि विद्युत आएन भने हाम्रो प्याकअप पावर सकिन सक्छ । जसले गर्दा टेलिफोन सेवा प्रभावित हुनेछ । उपत्यकामा टेलिकमका डेढ बढी टावर छन् । शनिबार गएको भूकम्पका कारण मोबाइल सेवा दिनभर अवरुद्ध भएको थियो ।

भारतको बिशेष सहयोग, चीनले आइतबार टोली पठाउने

प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट भएको क्षति र उद्धार कार्यमा सहयोग गर्न भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेपछि भारतले उद्धार र सहयोगका लागि ५० जना चिकित्सकसहितको टोली नेपाल पठाएको छ । भारतीय सेनाको बिशेष विमानमार्फत् ४ सय टन औषधि सहित चिकित्सकको टोली नेपाल आएको हो । एसिया–अफ्रिका सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा रहेका प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्पर्क गरेर सहयोगको आग्रह गरेका थिए । त्रिभुवन विमानस्थलका महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले भारतीय टोली शनिबार साँझ पौने ६ बजे नै विमानस्थल आईपुगेको जानकारी दिए ।
यसैबीच, चीनले आइतबार करिब ६५ जना तालिमप्राप्त उद्वार टोली र अत्यावश्यक बन्दोबस्तीका सामाग्रीसहितको विशेष विमान पठाउने भएको छ । चिनियाँ विदेश मन्त्रालयले शनिबार बेइजिङस्थित नेपाली दूतावासलाई जानकारी गराएको हो । छेन्दुस्थित एक गैरसरकारी संस्थाले समेत उद्वार टोलीसहितको छुट्टै विमान पठाउने तयारी गरिरहेको दूतावासका काउन्सिलर रामप्रसाद सुवेदीले जनाए ।

उपत्यकाका प्राचीन मठमन्दिर ध्वस्त
धरहरा र वसन्तपुर दरवार इतिहासमा सिमित

शनिबारको भूकम्पले हनुमानढोका दरबार क्षेत्रका चार प्राचीन मन्दिर र देवालयलाई पूणतः नष्ट पारेको छ ।
दरबार क्षेत्रको मध्य भागमा रहेको काष्ठमण्डप भत्किएर नष्ट भएको छ भने दशअवतार देखाउने मन्दिर पनि भत्किएर नष्ट भएको छ । त्यस अतिरिक्त गद्दी बैठकको पश्चिमतिरको विशाल मन्दिर र शिव पार्वती मन्दिरको बगलमा रहेको जीर्णोद्धार हुँदै गरेको अर्को मन्दिर पनि नष्ट भएको छ ।
भूकम्पका कारण ऐतिहासिक धरहरा र वसन्तपुर क्षेत्र पूर्णरुपमा क्षतिग्रस्त भएको छ । भूकम्पले ऐतिहासिक नौतले दरबारको दक्षिणी भाग, काष्ठमण्डप, सँगैका तीनवटा सांस्कृतिक मन्दिरहरु क्षतिग्रस्त भएका छन् ।
वसन्तपुरको तलेजु मन्दिरको उत्तर, दक्षिण र पश्चिम गेट क्षतिग्रस्त भएको छ भने गद्दी बैठकको दक्षिण पश्चिम क्षेत्र भत्किएकोे र लक्ष्मीनारायण मन्दिर, अष्टकर्ण मन्दिर, कालभैरव अगाडिको कागेश्वर शिवमन्दिर ध्वस्त भएका छन् । वसन्तपुरमा रहेका अन्य संरचनासमेत क्षतिग्रस्त भएका छन् ।
यस्तै, भूकम्पले गर्दा ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रुपमा रहेको धरहरा पनि क्षतिग्रस्त भएको छ । साथै, त्रिपुरेश्वरमा रहेको मन्दिर पनि क्षतिग्रस्त भएको छ ।
यसैगरी, दशरथ रङ्गशाला अगाडि रहेको त्रिभुवनको सालिक पनि क्षतिग्रस्त भएको छ भने थापाथली र त्रिपुरेश्वरमा रहेका पुराना घर भत्किएका छन् भने सडकमा धाँजा फाटेको छ ।
सैनिक मञ्चको गेट भूकम्पका कारण भत्किएको छ भने राजधानीमा ठमेललगायतका स्थानमा रहेका पुराना घरसमेत भत्किएका छन् ।
यस्तै, अरनिको राजमार्गअन्तर्गतको छ लेन सडकखण्ड लोकन्थली कौशलटारखण्डमा सडक भासिएको छ । सडक भासिएका कारण राजमार्ग भएर सञ्चालन हुने सवारी साधन केही समय अवरुद्ध हुन पुगेको थियो । भासिएको सडक तत्काल नेपाली सेना, नेपाल प्रहरी, स्थानीय स्वयम्सेवकले खुलाएका थिए । सडक सञ्चालनमा ल्याउन डोजरको प्रयोग गरिएको थियो ।
यस्तै, मध्यपुर थिमी नगरपालिकामा रहेका कैयौं पुराना घर तथा टहरा, मठ मन्दिर भत्किएका छन् ।

 ६५ वटा भूकम्पका झट्का

काठमाडौं उपत्यका सहित देशभर शनिबार ६५ वटा भूकम्प गएको छ । बिहान ११ बजेर ५६ मिनेट जाँदा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएदेखि पछिल्लोपटक बेलुका ६ बजेर एक मिनेटसम्ममा देशका विभिन्न भागमा २० वटा र त्यसपछि अन्य झट्का महसुसु गरिएको हो । यो अवधिमा तीन वटा भूकम्प नेपाल र चीनको सीमा क्षेत्रमा गएका हुन् भने अरु १७ वटा भूकम्प नेपालकै विभिन्न क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्प सम्बन्धी जानकारी दिने युरोपियन मेडिमेरेनियन सेस्मोलोजिकल सेन्टरले जनाएको छ ।
शनिबार साढे चार घण्टाको अवधिमा गएका भूकम्पको विवरण
बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केल
दिउँसो १२ बजेर २३ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केल
दिउँसो १२ बजेर ४१ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केल (चीन नेपालको सीमाना)
दिउँसो १२ बजेर ४५ मिनेटमा ६ दशमलव ७ रेक्टर स्केल
दिउँसो १२ बजेर ५३ मिनेटमा ५ दशमलव १ रेक्टर स्केल
दिउँसो १२ बजेर ५८ मिनेटमा ५ रेक्टर स्केल
दिउँसो १ बजेर १६ मिनेटमा ५ रेक्टर स्केल (चीन र नेपालको सीमाना)
दिउँसो १ बजेर २४ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केल
दिउँसो १ बजेर ३२ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केल
दिउँसो १ बजेर ५० मिनेटमा ४ दशमलव ७ रेक्टर स्केल
दिउँसो २ बजेर एक मिनेटमा ५ रेक्टर स्केल
दिउँसो २ बजेर पाँच मिनेटमा ४ दशमलव ७ रेक्टर स्केल
दिउँसो २ बजेर १४ मिनेटमा ५ रेक्टर स्केल
दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केल
दिउँसो ३ बजेर तीन मिनेटमा ४ दशमलव ९ रेक्टर स्केल
दिउँसो ३ बजेर ३० मिनेटमा ५ रेक्टर स्केल
दिउँसो ४ बजेर आठ मिनेटमा ४ दशमलव २ रेक्टर स्केल
दिउँसो ४ बजेर २५ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केल
दिउँसो ४ बजेर ३८ मिनेटमा ४ दशमलव ४ रेक्टर स्केल
बेलुका ६ बजेर एक मिनेटमा ४ दशमलव २ रेक्टर स्केल (चीन र नेपालको सीमाना)
यसपछि पनि गएराती दर्जनौं बढी अन्य भूकम्पको धक्का महसुस गरिएको थियो ।

नेपालमा अहिलेसम्म गएका भूकम्पहरु
वि.सं. १३१० सालमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प जाँदा तत्कालिन राजा अभय मल्लसहित काठमाडौं उपत्यकाका एक तिहाईको मृत्यु ।
वि.सं. १३१६ मा काठमाडौंका अधिकांश घर र मन्दिर नष्ट । केहीको मृत्यु । भूकम्पपछि महामारी फैलिएको ।
वि.सं. १४३६ मा भूकम्प जाँदा रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त । कैयौं सम्पदा र घरहरु नष्ट ।
वि.सं. १७३७ मा गएको भूकम्पमा परी काठमाडौंका अधिकांश घर ध्वस्त । धेरैको मृत्यु ।
सन् १७६७ को जुलाईमा एकैदिन २१ पटक भूकम्पको झट्का महसुस । क्षतिको यकिन विवरण नभेटिएको ।
वि.सं. १८६६ र १८८० मा पनि ठूलो भूकम्प । क्षतिको विवरण कहिँकतै नभेटिएको ।
वि.सं. १८९० मा एकैदिन दुईवटा ठूलाठूला भूकम्प । १८ हजारभन्दा बढी घर ध्वस्त । धरहरा समेत भत्किएको ।
वि.सं. १८९१ मा भूकम्पछि बाग्मतीमा बाढी आउँदा ठूलो धनजनको क्षति ।
वि.सं. १९९० मा समभवत अहिलेसम्मकै सबैभन्दा ठूलो महाभूकम्प । देशभर गरी ८ हजार ५ सय ९१ जनाको मृत्यु । ८० हजार घर पूर्णरुपमा क्षतिग्रस्त । १ लाख २६ हजार घरमा आंशिक क्षति ।
वि.सं. २०३१ सालमा गएको भूकम्पमा परी नुवाकोटमा एकजनाको मृत्यु ।
वि.सं. २०३७ सालमा सूदुरपश्चिममा गएको भूकम्पमा परी १ सय २५ जनाको मृत्यु । २ सय ४८ घाईते । ११ हजार ६ सय ४ घर ध्वस्त । १३ हजार ४ सय १३ घरमा आंशिक क्षति ।
वि.सं. २०४५ साल भदौमा उदयपुरलाई केन्द्र मानेर गएको भूकम्पमा ७ सय २१ को मृत्यु । ६ हजार ५ सय ५५ घाईते । पूर्वी नेपालका २२ जिल्ला नराम्ररी प्रभावित ।
वि.सं. २०५० सालमा मध्य तथा पश्चिम क्षेत्रमा आएको भूकम्पमा १ को मृत्यु, ११ घाईते, करिब ६ सय घरमा क्षति । तत्कालिन ५ करोडको क्षति ।
वि.सं. २०५१ मा मध्यपश्चिममा गएको भूकम्पमा १२ घाईते । ८४ हजार २ सय ८७ घरमा क्षति ।
वि.सं. २०५२ मा दैलेखमा १८ घाईते । ४ घरमा आंशिक क्षति ।
वि.सं. २०५४ मा गएको भूकम्पमा १ जना घाईते, १ हजार ४ सय ८९ प्रभावित । साढे ५ करोडको क्षति ।
वि.सं. २०५८ मा गएको भूकम्पमा मध्य तथा पश्चिम क्षेत्रमा २ को मृत्यु । ३ घर नष्ट । डेढ करोडको क्षति ।
वि.सं. २०५९ मा महोत्तरीमा पनि भूकम्प । मध्य नेपालका ४९ जना घाईते । त्यति बेलै गएको भूकम्पमा स्याङ्गजामा १ जनाको मृत्यु, २ जना घाईते ।
वि.सं. २०६८ असोज १ मा गएको भूकम्पमा ५ को मृत्यु । २७ जना घाईते ।
वि.सं. २०७१ सालका विभिन्न महिनाहरुमा पनि भूकम्प । केही क्षति ।
वि.सं. २०७२ साल बैशाख १२ गते ७.६ रेक्टर स्केलको महाभूकम्प । एकैदिन २५ भन्दा बढी झट्का । हजारौंको मृत्यु । थप विवरण आउन बाँकी ।

नेपालमा वि.सं १९९० पछि गएको सबैभन्दा ठूलो भूकम्प नै आइतबारको हो । यसअघि २०४५ सालमा पनि ठूलो भूकम्प गएको थियो ।

अन्तराष्ट्रिय
नेपालमा भूकम्प गएपछि भारतमा करिब डेढ सयको मृत्यु
नयाँ दिल्ली, १२ वैशाख ।
नेपालमा शक्तिशाली भूकम्प गएपछि छिमेकी देश भारतमा पनि करिब डेढ सय व्यक्तिको मृत्यु भएको तथा दर्जनौ घाइते भएको जानकारी अधिकारीहरूले दिएका छन् ।
भूकम्पको प्रभाव पूर्वी राज्य बिहारमा बढी पुगेको छ । यस राज्यको प्रकोप व्यवस्थापन विभागका अधिकारी व्यासजीले सरकारका सबै चिकित्सकको बिदा रद्द गरिएको बताए ।
उत्तर प्रदेशका सरकारी अधिकारी योगेश्वर मिश्रले दर्जनौं घाईते भएका र केहीको मृत्यु भएको बताएका छन् ।

भूकम्पको प्रभाव बङ्गलादेशमा पनि
बङ्गलादेश, १२ वैशाख ।
बङ्गलादेशमा पनि भूकम्पको प्रभाव परेको छ । भूकम्पका कारण दुई व्यक्तिको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
सोमोय टीभी केन्द्रले राजधानी ढाकामा एक व्यक्तिको मृत्यु भएको र उत्तरपश्चिमी जिल्ला पब्नामा अर्का व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ । भुकम्पको धक्का भारत, तिब्बत, पाकिस्तान तथा बङ्गालादेशमा पनि अनुभव भएको थियो ।
सोमोयले व्यक्तिहरू आफ्नो घर तथा पसलबाट बाहिर निस्कन खोज्दा घाइते भएको जानकारी दिएको छ । यस टेलिभिजनले मर्ने व्यक्तिको विस्तृत विवरण दिएको छैन ।

Comments are closed.