महिला जनप्रतिनिधि उत्पादनसंग जोडिनु पर्दछ —उपसभामुख सिर्जना शर्मा

पोखरा,
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिला जनप्रतिनिधिहरु जनसेवामा समर्पित हुँदै आयआर्जनसंग जोडिनु पर्ने बताउनु भएको छ ।
नवलपुर जिल्लास्थित मध्यविन्दु नगरपालिकाद्धारा आयोजित महिला जनप्रतिनिधिसंगको अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले आर्थिकरुपमा सवल बन्नका लागि उत्पादनसंग जोडिनुको विकल्प नभएको बताउनुभयो ।
बजार आवश्यकताको अध्ययनका आधारमा वस्तु उत्पादन गर्नुपर्ने र उत्पादित वस्तुको बजारीकरणमा स्थानीय सरकार जिम्मेवार हुनु पर्नेमा उपसभामुख शर्माको जोड थियो ।
पालिकामा महिला तथा वालवालिका सम्वन्धित धेरै शिर्षकमा रकमान्तर गरिएको हुन्छ उहाँले भन्नुभयो त्यसको भरपुर उपयोगमा जनप्रतिनिधि महिलाहरु सचेत हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।
स्थानीय निर्वाचनमा गठबन्धनको कारण महिला जनप्रतिधिको संख्यामा कमि आएकोमा दुःख व्यक्त गर्दै आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्येक्षतर्पm महिलाको संख्यामा बृद्धि गर्न सवै राजनैतिक पार्टी गंभीर हुनु पर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मी सुनारले समाजमा हुने प्रत्येक विभेदको अन्त्यका लागि टोलटोलमा सचेतना कार्यक्रमको खाँचो औल्याउँदै चेतनामूलक अभियानमा सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
मध्यविन्दू नगरपालिकाका उपप्रमुख पूर्णकला चौधरीले पालिकाले जनप्रतिनिधिका लागि नेतृत्व विकास एवम् सिपमूलक तालिममलाई जोड दिंदै आएको जानकारी दिंदै न्याय संपादनमा योग्य जनशक्तिको खाँचो औल्याउनुभयो ।
महिला जनप्रतिनिधि र विभिन्न संधसंस्थामा आवद्ध महिला गरि कूल ५० जनाको सहभागिता रहेको कार्यक्रमका सहभागिहरुले समाजमा हुने जातीय, लैङ्गिक र क्षेत्रीय विभेदको अन्त्यका लागि कानूनी तथा आर्थिक समृद्धिका अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

Comments are closed.