माओवादी पुनःगठनका कुरा


tribhuwan copy

एमाओवादीमा अहिले पार्टी पुनःगठनको कुरा जोडतोडले उठिरहेको छ । माओवादी आन्दोलन नै क्षयीकरण हुँदै गएपछि यसले ब्यापकता पाएको हो । तथापि गत फागुन १६ मा काठमाडौंमा भएको सभाले भने माओवादी नेताहरूलाई लामो सास फेर्ने अवसर दिएको छ, धेरैपछि । सायद कार्यकर्तामा पनि केही उत्साह थपियो । तर त्यसैले मात्र के माओवादी आन्दोलन फेरि नयाँ उचाइमा पुग्छ भन्न मिल्छ त ? मिहिनेत गरेर ‘थेसिस’ लेख्नजस्तो गाह्रो कुरा भएको छ, यसको जवाफ । तर नेताहरू हिजोआज किन्न पाइने ‘रेडिमेड थेसिस’ थमाएर यसको जवाफ दिने प्रयत्न गर्दैछन् ।अहिले माओवादी आन्दोलन, प्रचण्डकै शव्दमा, ‘न उठी खाम, न बसी खाम’ को अवस्थामा छ । न स्पष्ट कार्यनीति छ, नत संगठन । अझ फुटेर छिन्नभिन्न । माओवादीका लागि यो प्रतिकूलता कैयांै चुनौतीका बाबजुद गतिलो अवसर पनि हो । संक्रमणकाल लम्बिएको यस्तो बेला नेता, कार्यकर्ता र समर्थकमा उकुसमुकुसको अवस्था रहन्छ । अवसरवादीहरू लुसुक्कै अन्तै मोडिन्छन् । विचार बोकेर हिँडेकाहरूले भने आफ्नो आस्था र आदर्शमा आँच आउन दिँदैनन् । उनीहरू नेतृत्वको टिमप्रति भरोसा गरेर बस्छन् । तर नेताहरूको व्यवहारले भने इमानदार कार्यकर्ता निराश बन्ने अवस्था सिर्जना गरिरहेको छ । प्रचण्ड र नारायणकाजी मिल्दा बाबुराम नमिल्ने, अनि प्रचण्ड र बाबुराम मिल्दा फेरि नारायणकाजी पाखा लागेजस्तो जब हुन आउँछ, त्यसले विचारबाट निर्देशित कार्यकर्ताहरूमा पनि खिन्नता आउँछ । अहिले माओवादीका कार्यकर्ताहरू यस्तै विलखबन्दमा छन् ।माओवादी नेताहरू स्वयं आफ्नै कार्यकर्ताको मनको परीक्षा उत्तीर्ण हुनुपर्ने संगीन घडीमा छन् । यो बेला जनताको मन जितेर फेरि आफ्नो स्थानलाई नेपाली राजनीतिको उचाइमा विकास गर्न पहाड फोर्नु बराबर छ, उनीहरूका लागि । कार्यकर्ता र जनताले नेताको मूल्याकंन गर्ने कसी भनेको उनीहरूका व्यवहार नै हुन् । जतिसुकै सिद्धान्त र आदर्शका कुरा छाँटे पनि व्यवहार बुर्जुवाभन्दा पनि गएगुज्रेको हुन्छ भने त्यहाँ विश्वास धर्मराउन पुग्छ । काठमाडांै खाल्डोमा नेताहरूको नगिच पुगेर हात मोल्दै गलत रिपोर्ट पेस गर्नेहरू भन्लान्- जिल्लामा एकदम राम्रो छ । हरेक जिल्लामा रहेका नेताका गुटका स्थायी ठेकेदारहरू जाहेर पनि गर्लान्- चुनावभन्दा धेरै बलियो भइसकेका छौं । तर नेताहरूले संविधानसभाको चुनावअघि केन्द्रीय सदस्यहरूले क्षेत्र-क्षेत्रमा खटिएर दिएको रिपोर्टलाई ठन्डा दिमागले सम्झनुपर्छ । रिपोर्ट के थियो ? नतिजा के आयो ? अहिले पनि अवस्था उस्तै हो । नत्र दिनानाथ शर्माहरूले चुनाव क्षेत्रमै नपुगी, बाटाको अस्पतालमा बिरामी भएको नाटक गर्नुपर्ने थिएन ।

अझै पनि हिजो जनयुद्ध लडेका र जनयुद्ध नलडे पनि विचारले दृढ भएर माओवादीमा लागेका ठूलो कार्यकर्ताको पंक्ति माओवादीमा छ, जसले कुनै पद पाएनन्, नेताको दैलो चहारेनन्, सधंै मैदानमै बसेर पार्टीको पक्षमा दृढतापूर्वक लागे । ती कार्यकर्ता माओवादीको बाँकी रहेको प्राणका अक्सिजन हुन् । त्यही अक्सिजन बोकेर माओवादी नेताहरू आफूलाई देशको निणर्ायक शक्ति भनेर काठमाडांैमा अझै दाबा गरिरहेका छन् । तर उनीहरूलाई भ्रम छ, काठमाडांैमा अक्सिजनको महङ्गो सिलिन्डर किनेर दलालहरूले हामीलाई बचाइरहेका छन् । जनयुद्धमा लडेर पनि करोडांै कुम्लाउने नेताका साख्खै हुने तर अरु पार्टीबाट आएका भए पनि सधैं इमानदार भएर राजनीति गरेकाहरू सौताका छोरा हुने प्रचलन अझै पार्टीमा छ । कामको हैन, कसले कति ‘दाम’ चढाउँछ भन्ने कुराले माओवादीमा हैसियत बनाउने घिनलाग्दो अवस्था सुन्नमा आउँछ ।

कार्यविभाजन अलपत्र छ । कमिटी प्रणाली त छँदैछैन भने हुन्छ । दुई अंकभन्दा ठूलो केन्द्रीय समिति नबनाउने हेटौंडा महाधिवेशन र विराटनगरको राष्ट्रिय सम्मेलनको मार्गनिर्देशन विपरीत पार्टीका प्रमुख तीन नेताको गुट मिलाउने नाममा बनाइएको जम्बो केन्द्रीय समितिका कारण काम गर्नेहरू पाखा लगाइएका छन् । दसौं वर्ष जेल बसेका, जनयुद्धमा फिल्डमा खटेर जनतासँग जोडिएर बसेकाहरू कामविहीन भएका छन् । हिजो प्रचण्ड, बाबुराम र नारायणकाजीहरूले समेत जसको त्याग र बलिदानको कुरा गर्थे, जो उनीहरूसँगै पार्टीमा लागेका थिए, जो जनयुद्ध सुरुवात हुनु अगावै पूर्णकालीन थिए र जनयुद्धसँगै पार्टीले सुम्पेका हरेक मोर्चामा खरो उत्रिए, ती नेताहरू आज पाखा लगाइएका छन् । उपल्ला नेताहरू जिल्लामा आउँदा ती जिउँदा सहिदहरूलाई जानकारी हुन्न । उनीहरूलाई रेडियो सुनेर, टिभी हेरेर र झन् विडम्बना नजिकैका छिमेकी कांग्रेस र एमालेबाट आफ्नो पार्टीको कार्यक्रम थाहा पाउनुपर्ने अवस्थामा पुर्‍याइएको छ ।

हो, माथिकै कारण पार्टीमा बिग्रेको धेरै छ, सप्रेको थोरै । तर पनि नेताहरूमा दृढ इच्छाशक्ति हुने हो भने सुधार्नै नसक्नेगरी बिगि्रसकेको भने छैन । नेताहरूले आफैंबाट सुरु गर्नुपर्छ, गल्ती सुधार्न । हामी सुधि्रयौं भनेर भाषण गर्दैमा केही हुँदैन । साँच्चै नेताहरू सुधि्रए भन्ने कुरा कार्यकर्ता, समर्थक र जनताले अनुभूत गर्ने अवस्था आउनुपर्छ । गाउँहरूमा कार्यकर्ताले माओवादीका ठूला नेताहरूको अनुहार नदेखेको धेरै भइसक्यो । अरब गएको छोराले किनेर पठाएको मोबाइलमा गुगल सर्च गरेर, नेताहरूको फोटो हेरेर उनीहरूको सम्झना गर्नुपर्ने अवस्थामा माओवादी कार्यकर्ता पुगेका छन् । माथि भनिएझैं माओवादीका अक्सिजन भनिएका पुराना कार्यकर्ता अझै जनताकै माझमा छन् । उनीहरूसँग काठमाडौंमा नेताहरू भेट्न आउने बसभाडा र होटलमा बस्ने पैसा छैन । नेताहरूले आफ्नो वरिपरि आएको नदेख्दा ती उनीहरूमाथि पलायनताको आरोप लगाउन सक्लान् । तर ती योद्धाको आस्था र समर्पण डग्मगाएको छैन ।

अन्त्यमा, पार्टी संगठन निर्माणको आधार भनेको जनतासँग जोडिनु हो । माओले कार्यकर्ता र जनतालाई पानी र माछाको संज्ञा दिएका थिए । जनताको पार्टीले जनताका दुःखसुखमा साथ दिन सक्नुपर्छ । पार्टी नेताहरू ‘रोल मोडल’ बन्न सक्नुपर्छ । नेताहरूका आचरण, व्यवहार, कार्यशैलीले नै जनतामा प्रभाव पर्ने हो । पछिल्लो क्रममा जसरी माओवादी नेताहरू काठमाडौंमै डेरा जमाएर जनतामाझ गएका छैनन् । झन् प्रतिपक्षमा गएपछि त गाउँ-गाउँमा गएर सरकार पक्षले गरेका नराम्रा कामको भण्डाफोर गर्नुपर्नेमा सहयोगी प्रतिपक्षजस्तो भएर उभिएको अवस्था छ । यसरी माओवादी उँभो लाग्दैन । बेलैमा ठन्डा दिमागले सोचौं ।

साभार- कान्तिपुर दैनिक । (लेखक पाेखरा हटलाइन दैनिकका सम्पादक हुन् । 

Comments are closed.