- सिक्लेस(कास्की), माघ २ – बेलायतबाट माघे संक्रान्ति मेला हेर्न सिक्लेस आएका मीनप्रसाद गुरुङलाई प्रदर्शन तथा विक्रीमा राखिएका चित्रमध्ये सवै मन पर्यो । अन्ततः उनले सबैभन्दा महंगो १६ हजार रुपैयाँ मुल्य पर्ने चित्र रोजे । तमू धीँ यूकेका अध्यक्ष समेत रहेका गुरुङले आफ्नो जन्मभूमिप्रति कलाकारले पोखाएको कलालाई सम्मान गर्न आफूले गाउँ र हिमाल देखिने गरी बनाएको चित्र रोजेको बताए ।
पोखराका कलाकार सूर्य बराईलीले बनाएको चित्रमा सिक्लेस गाउँ, बाटोमा गुरुङ पोषाक लगाएर हिँड्दै गरेको अधबैँसे र गाउँ पछाडि अन्नपूर्ण अनि लमजुङ हिमाल देख्न सकिन्छ ।
बेलायतस्थित एक अस्पतालका स्टाफ नर्स ईन्द्रा गुरुङले कलाकार किरण रञ्जितले कोर्न भएको चित्र रोजे। १५ हजार मुल्य पर्ने चित्रमा गाउँको बीचबाटोमा पानी भरेर जाँदै गरेकी गुरुङसेनीलाई देख्न सकिन्छ । पछाडि गाउँ र हिमालको चित्र छ ।
अहिले पोखरामा बस्दै आएका कूलप्रसाद गुरुङलाई आफ्नै घरसहित कोरिएको चित्र मन पर्यो । कलाकार बुद्धि गुरुङले बनाउनु भएको चित्र उनकाे मनमा बस्याे । आफ्नो बारीसहित देखिएको चित्र देखाउँदै उनले भने, ‘यो मेरो पुर्खाको नासो हो, यसलाई जोगाएर राख्छु ।’
सिक्लेस पार्चे बहुउद्देशीय निर्माणाधिन भवनमा प्रदर्शनमा राखिएको चित्रमा स्वदेशी तथा विदेशी पर्यटकको मन गढेको छ । बेलायतबाट आएका पर्यटक जेरेमी डी रुम्मोण्डले, कलाकार थमन सुनारले कोरेको परालको टौवा, गाउँ, हिमाल साथै हिमालमा बादलुको घुम्टो देखिएको चित्र रोज्नु भयो । उहाँले चित्र साह्रै राम्रो लागेको भन्दै चित्रकारलाई धन्यवाद समेत दिए ।
सिक्लेस पुगेका पत्रकार अाश गुरुङ लेख्छन् , ‘क्यानभासमा सिक्लेस’ नाम दिएर ५० भन्दा बढी कलाकारले सिक्लेसको सचित्र उतारेका हुन् । २ साताअघि उतारिएका चित्रले माघे संक्रान्ति मेलामा आएका आन्तरिक तथा बाह्य पर्यटकको मन तानेको छ । नेपाल प्रहरीका पूर्व आईजीपी हेमबहादुर गुरुङले प्रदर्शनीको उद्घाटन गरेपछि स्वदेशी तथा विदेशी पर्यटकले सिक्लेसको चित्र हेर्ने अवसर पाएका हुन् ।
जापानबाट सिक्लेस आएकी नानाको योशिमोतोले सिक्लेस गाउँको चित्रण चित्रमा देख्न पाउँदा निकै खुसी लागेको बताए । ‘मलाई सिक्लेस मन पर्छ’, नेपाली भाषामा बोल्दै उनले भने ‘सिक्लेस भन्दा अझ धेरै चित्र मन परेको छ ।’ उनले कलाकारले कोरेका स्थानीय रहनसहन, गाउँको चित्र, संस्कृति लगायत सवै मन परेको बताए । चित्र देखेर स्वदेशी तथा विदेशी पर्यटक मात्रै हैन, स्थानीय समेत दंग छन् । ८१ वर्षीया हाईसुब्बा गुरुङले आफ्नो अनुहार चित्रमा हेरे । कलाकार आलोक गुरुङले कोरेको चित्र हेर्दै उनले भने, ‘मेरो अनुहार त मुजामुजा परेछ, अब त डाँडामाथिको घाम भईगयो ।’
पोखरा वाटरकलर सोसाईटीको सहकार्यमा पुस ९, १० र ११ गते ३ दिन लगाएर पोखरा र काठमाण्डौँका कलाकारले कोरेका चित्रलाई सिक्लेसमा आयोजना गरिएको माघे संक्रान्ति मेलामा प्रदर्शन गरिएको मेला आयोजक समितिका संयोजक देवीजंग गुरुङले बताए । क्यानभासमा सिक्लेस एवं चित्र प्रदर्शनीका संयोजक दलबहादुर गुरुङले प्रदर्शनीमा राखिएका अधिकांश चित्रको विक्री तथा बुकिङ भईसकेको बताए । ‘चित्रले स्वदेशी तथा विदेशी पर्यटकको मन तानेको छ’ कलाकार समेत रहेका दलबहादुरले भने, ‘सिक्लेसमै पहिलोपटक आयोजना गरिएको चित्रकला उत्सव २०७१ बाट तयार पारिएको चित्रले सिक्लेसको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ ।’
सिक्लेस युवा क्लवको आयोजनामा माघ १ गतेदेखि ४ गतेसम्म संचालन भईरहेको माघे संक्रान्ति मेलामा चित्रकला प्रदर्शन स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बनेको क्लवका सल्लाहकार गेहेन्द्र गुरुङले बताए ।
पोखराको काहुँखोलाबाट ४२ किलोमिटर उत्तरपूर्वी क्षेत्रमा पर्ने गाउँसम्म मोटरबाटो पुगेपछि अहिले स्वदेशी तथा विदेशी पर्यटकको गन्तब्यस्थल सिक्लेस बनेको स्थानीयबासिन्दाले बताएका छन् ।
Comments are closed.