माछापुच्छ्रे बैंक कर्मचारी आन्दोलनले ठप्प

कारोबार गर्ने वातावरण सिर्जना गर्न सेवाग्राहीको माग


पोखरा २४ साउन
माछापुच्छ्रे बैंकमा कर्मचारी आन्दोलनले कारोबार ठप्प भएको छ । कर्मचारी यूनियन गठन गर्ने तयारी गरीरहेका कर्मचारीलाई वैंक व्यवस्थापनले सरुवा गरेपछि आन्दोलनले पोखराको नयाँ बजारमा रहेको मुख्य कार्यालयसहित पोखराका शाखा तथा पश्चिमाञ्चलका विभिन्न शाखामा कारोबार ठप्प भएको छ । शुक्रबारदेखि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
कानुनी प्रक्रिया अनुसार यूनियन गठन गर्न खोज्दा बैंक व्यवस्थापनले ४६ जनालाई सरुवा गरी कर्मचारीको नैसर्गिक अधिकारलाई बैंकले दवाउन खोजेको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले हातमा कालोपट्टी बाँधेर बैंकको काम छाडेर शुक्रबार ११ बजेदेखि आन्दोलनमा उत्रिएका हुन् ।

machhapuchre-bank_tanab
कर्मचारी युनियन गठन  र ४६ कर्मचारी सरुवाको निर्णय फिर्ता नभएसम्म आन्दोलन रोकिन्न –कर्मचारी
तत्काल काममा नफर्किए कानुनी कारवाही हुन्छ–बैक व्यवस्थापन


देशका सबै ठाउँका कर्मचारीको प्रतिनिधित्व हुने गरी यूनियन गठन गर्न १६ साउनमा भेला गरी २१ गते विकास श्रेष्ठको संयोजकत्वमा माछापुच्छ्रे  बैंक कर्मचारी यूनियन तदर्थ समिति गठन गरेका थिए । त्यसको भोलिपल्टै व्यवस्थापनले संगठन खोल्न सक्रिय बनेका कर्मचारीलाई छानीछानी अपायक र दुर्गम ठाउँमा सरुवा गरेको भन्दै कर्मचारीले आक्रोस पोखेका छन् । उनीहरुले सरुवाको निर्णय फिर्ता गरी यूनियन गठन गर्न दिन माग गर्दै आँदोलन जारी राखेका छन् भने व्यवस्थापन पक्षले काममा नफर्किए कानुनी कारवाही गर्ने चेतावानी दिएको छ ।

‘हामीले तदर्थ समिति गठन गरी आइतबार कानुनी प्रक्रिया अनुसार दर्ता गर्दै थियौं’ संयोजक श्रेष्ठले भने ‘तर, बैंकले यो थाहा पाएर षड्यन्त्र गरी कर्मचारीलाई ठाउँ, पायक नहेरी बिना जानकारी सरुवा गरेको छ । यो निर्ण र्फिता नभएसम्म आन्दोलन जरी रहन्छ ।’ बैंकको कारोबार ठप्प भएपछि सेवाग्राही मर्कामा परेका छन् । आर्थिक कारोबारका लागि आएका सेवाग्राही त्यतिकै फर्किएका थिए । आइतबार केही सेवाग्राहीले बैंकमा आएर आन्दोलन तरिका परिवर्तन गर्न दवाव समेत दिएका थिए । उनीहरुले बैंकमा तत्काल कोरोबार हुने वातावरण सिर्जना गर्न माग गरेका छन् । ‘बैंकमा भएको आन्दोलनले हजारौं सेवाग्राही मर्कामा परेका छन्’, बैंकमा आएका सेवाग्रही विकास आचार्यले भने ‘बैंकको कारोबार नै ठप्प हुने भएको आन्दोलनको तरिका परिवर्तन गरी सहज बनाउनुपर्‍यो । बैंकले पनि कर्मचारीको माग पुरा गरी ससेवाग्राहीलाई सास्ती दिनुभएन ।’

तीन बर्ष अगाडी पनि माछापुच्छ्रे  बैंकमा कर्मचारी युनियन गठन गर्ने प्रयास भएको थियो । तर, बैंकले युनियन गठन गर्न खोज्ने कर्मचारीको बढुवा तथा सुविधा थपेर युनियन गठन गर्न प्रयासलाई तुहाईदिएको थियो । यसपटक पनि बैंकले युनियन गठन गर्न लागेका जानकारी पाउने वित्तिकै सरुवा गरेको जानकारी पठाएको छ । बैंकले भने कर्मचारी सुरुवा युनियन गठनका कारणले नभई नियमित प्रक्रिया अनुसार सरुवा गरेको बताएको छ । कानुनतः बैंक बित्तिय संस्थामा हड्ताल निषेध गरिएकाले कारोवार ठप्प पर्ने कर्मचारीको बिरुद्ध कारबाही प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।

कर्मचारीहरुले कर्मचारी यूनियन गठन र कर्मचारी सरुवाको निर्णय नहटाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । ‘हामीले के गल्ती गरेका छौं र हामीलाई दुर्गम ठाउँमा सरुवा गर्नै निर्णय गरियो’ कर्मचारी राजकुमार कार्कीले भने ‘हामीले कानुनसम्वत काम गरेका छौं । व्यवस्थापनले आफ्नो निर्णय नसच्याए आन्दोलन सबै कार्यालयमा जारी रहन्छ ।’ उनीहरुले कर्मचारी युनियन गठन गर्न लागेको जानकारी पाएपश्चात विभिन्न प्रलोभन देखाएको र त्यसलाई अश्वीकार गर्ने वित्तिय वित्तिकै सरुवाको निर्णय गरेको आरोप लगाएका छन् ।

माछापुच्छ्रे बैंकको एउटा शाखाले मात्रै दिनमा ५ सय ग्राहकलाई सेवा दिँदै आएको कर्मचारी नै बताउँछन् । दिनमा एउटा शाखाले मात्रै ५ र ७ करोड रुपैयाँको कारोबार गर्ने गरेको छ । माछापुच्छ्रे  बैंकमा ६ सय कर्मचारी कार्यरत छन् । बैंकको इतिहासमै यो पहिलो पटक कारोबार छाडेर कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीहरुले साेमबार पनि १ बजेदेखि पेन डाउनगरी अान्दाेलनलार्इ निरन्तरता दिने भएका छन् ।

Comments are closed.