माछापुच्छ्रे बैंक खुल्ने, कर्मचारी आन्दोलन भने यथावत्

पोखरा, २८ साउन/ कर्मचारी आन्दोलनका कारण ठप्प भएको माछापुच्छ्रे बैंक आज (बिहीबार) देखि खुलेकाे छ । आन्दोलन नरोकिएपनि ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै यस क्षेत्रका सबै शाखा कार्यालयबाट बिहीबारदेखि हातमा कालोपट्टी बाँधेर काम सुरु गरेकाे माछापुच्छ्रे बैंक युनियन कर्मचारी तदर्थ समितिका संयोजक विकास श्रेष्ठले जानकारी दिए ।

समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी सेवा सुरु गरेपनि बैंक व्यवस्थापन पक्ष आफुहरुका मागका सन्दर्भमा गम्भिर नभएकाले आन्दोलन भने जारी रहने जनाएको छ । कर्मचारीको हकहितको लागि युनियन स्थापना गर्न खोज्दा ४६ जना कर्मचारीलाई पूर्वाग्रह राखेर सरुवा गरिएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको कर्मचारीहरुले बताएका छन् ।

machhapuchchhre-bank-staff-press-meet-in-pokhara-media-club
“पूर्वको कर्मचारीलाई पश्चिम र पश्चिमको लागि पूर्वतर्फ पठाउने गरी सरुवा गरेकोले यसको विरोधमा हामी आन्दोलित भएका हौं ।” संयोजक श्रेष्ठले भने– “कर्मचारीको हकहितको लागि युनियन खोल्न लाग्दा सरुवा गरियो । बरु हाम्रो जागिर खारेज होस् हामी सरुवा भएर जादैनौं ।”
बिहीबारदेखी पोखराको नयाँबजारमा रहेको प्रधान कार्यालय सहित, न्यूरोड, बगर, लेकसाईड, रामबजार र लेखनाथ गरी ६ वटै कार्यालयबाट सेवा सुरु हुनेछ । गत शुक्रबारदेखी नै यी सबै शाखाहरुको कारोबार प्रभावित भएको थियो । शुक्रबार र आईतबार पोखरा क्षेत्रका सबै शाखाहरुको कारोबार पूर्णरुपमा ठप्प भएको थियो भने सोमबार दिउँसो १ बजेपछि कर्मचारीहरुले काम रोक्दै आएका थिए ।

बैंक बन्द हुँदा औसतमा दैनिक एउटा कार्यालयबाट करिब ५ सय सेवाग्राही फर्किने गरेका थिए । बैंकले एकैपटक देशभरीबाट ४६ जना कर्मचारीको सरुवा गरेको थियो । देशभरी ६ सय जना कर्मचारी कार्यरत रहेकोमा ४० प्रतिशत कर्मचारी युनियन स्थापना गर्ने पक्षमा रहेको माछापुच्छ्रे बैंक युनियन कर्मचारी तदर्थ समितिका संयोजक श्रेष्ठले बताए ।

उनले सरुवाको निर्णय तत्काल खारेज गरी कर्मचारी युनियन गठन गर्ने वातावरण मिलाए आन्दोलन रोक्ने बताएका छन् । यता बैंकले भने आन्दोलन गरेर बैंकको छवि नबिगार्न कर्मचारीहरुलाई आग्रह गरेको छ । कर्मचारी सरुवाको निर्णय परिर्वतन नहुनेसमेत बैंकले जनाएको छ । देशभरी ४६ जना कर्मचारीको सरुवा गरेकामा ४४ जना कर्मचारी सरुवा भएको ठाउँबाट काम थालेको भन्दै बाँकी ४ जनाको बिषयलाई लिएर सरुवा खारेज हुन नसक्ने बैंकले जनाएको छ । यदी आन्दोलन त्यागेर काममा नफर्किए कानुनी कारवाही अघि बढाउने व्यवस्थापनले चेतावनी दिएपछि, कर्मचारीहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्नेगरी काम सुरु गर्ने जनाएका हुन् ।

बैंकका सूचना अधिकृत सन्तोष कोइरालाले आन्दोलनमा उत्रिएका कर्मचारी काममा फर्किएपछि व्यवस्थापन पक्षले छलफल गरी आन्दोलनरत कर्मचारीको बारेमा निर्णय गर्ने बताए । उनले भने “बैंक जस्तो अत्यावश्यक सेवा बन्द गर्नु कानुनी रुपमा पनि अवैधानिक हो, कर्मचारीहरुले सेवालाई प्रभाव नपारेपछि उनीहरुको बिषयमा व्यवस्थापन पक्षले अब सोच्नेछ ।”

Comments are closed.