कास्की भरतपोखरीका दिपक अधिकारीलाई पहिले माटो परिक्षण गरेर मात्र व्यावसायिक खेति सुरु गर्नुपर्छ भन्ने थाहा थिएन । लामो समय विदेश बसेर आएका अधिकारीले विदेशको कमाई व्यावसायिक तरकारी खेतिमा लगाए । तर, सोंचे अनुसार प्रतिफल लिन सकेनन् । परामर्शका लागि जिल्ला कृषि विकास कार्यालय पुगेका अधिकारीलाई कार्यालयकै आग्रहमा क्षेत्रीय माटो परिक्षण प्रयोगशाला पोखरामा माटो परिक्षण गराएपछी मात्रै कारण पत्ता लाग्यो । माटोमा अम्लीय तत्व बढी भएका कारण सोंचेजस्तो उत्पादन नभएको रहेछ । कृषि कार्यालयमा भेटिएका अधिकारीले भने,‘सुरुमा माटो परिक्षण गरी खेति सुरु गर्नुपर्छ भन्ने ज्ञान थिएन । माटो उपचार गरी खेति गर्न थालेपछि अहिले राम्रो आम्दानी हुन थालेको छ ।’
मिजुरेडाँडाका दिलबहादुर थापासँग पनि यस्तै अनुभव छ । पहिले लहैलहैमा गोलभेंडा खेती गरेपनि त्यसका लागि कस्तो माटो चाहिन्छ भन्ने उनलाई थाहा थिएन । ‘गाउँमै आएको शिविरमा माटो परिक्षण गरि प्राविधिकको सल्लाह अनुसार गोलभेडा लगाउन थालेपछि त्यस्तो समस्या देखिएन,’ थापाले भने । धेरै किसानलाई माटो परिक्षण गराउनुपर्छ भन्ने ज्ञान नहुँदा सोंचे अनुसारको प्रतिफल लिन सकिरहेका छैनन् ।
कास्कीमा बल्ल व्यावसायिक खेति गर्नु अगाडी माटो परिक्षण गर्ने किसानहरुको संख्या बढेको छ । क्षेत्रीय माटो परिक्षण प्रयोगशाला पोखराका प्रमुख तथा माटो विज्ञ इन्द्र बहादुर ओली भन्छन्, ‘विस्तारै किसानहरुमा माटो परिक्षण गराउनुपर्छ भन्ने ज्ञानको विकास भएको छ ।’ कास्कीमा व्यावसायिक खेति गर्ने किसान दिनानुदिन बढिरहेका छन् तर अझै पनि धेरैलाई माटो परिक्षण गराउनुपर्छ भन्ने ज्ञान छैन ।
कास्कीको माटोमा अम्लीय तत्व वढि तथा नाइट्रोजन तत्व कम भएको माटो विज्ञ ओलीको भनाई छ । उनी भन्छन्, ‘विभिन्न माटो परिक्षणवाट कास्कीमा ६० प्रतिशत अम्लीय तत्व भएको भेटिएको छ ।’ कास्कीको मिजुरेडाँडाँ, घाचोक, निर्मलपोखरी, भदौरे तमागी, लेखनाथ, पामे स्रोत अन्तर्गत विभिन्न समयमा कायाल्यले माटो परिक्षण गरेको थियो । जसमा अम्लीय तत्व बढी भेटियो । अत्याधिक रुपमा रासयनिक तथा विषादीको प्रयोगले खेतीयोग्य माटोमा अम्लीय वढ्दै र नाइट्रोजन तत्वको कम हुँदै गएको हो । जसका कारण किसानले सोंचे अनुसार प्रतिफल लिन सकेका छैनन् । माटोमा भएको उत्पादकत्व जोगाइ राख्न तथा अम्लीय घटाउनका लागि खेतबारीमा प्राङ्गारिक मल हाल्नुपर्छ । माटोमा प्राङगारीक पदार्थको कमी हुँदै कृषि योग्य भूमी नाँसिदै गएकोले गोठे मल, कम्पोष्ट मल र हरियो मल हाल्न कृषि विज्ञहरुले सुझाव दिएको छ । माटोमा अम्लीय तत्व वढ्दै गएको र नाइट्रोजन तत्वको कमी हुँदै जाँदा माटोमा भएको फस्फोरस र पोटास तत्व पनि सुन्तुलन हुन नसकेको परिक्षणले देखाएको छ । जसको कारणले उत्पादन घट्दै गएको छ ।
माटो सन्तुलनमा राख्न कृषि चुन तथा प्राङ्गारीक मलको प्रयोग वढाउँदै रासायनिक मलको प्रयोग वढाउँदै लैजान माटो विज्ञहरुले सुझाव दिएका छन् । धेरै पानी पर्ने ठाउँको माटोमा अम्लीय तत्व वढ्दै जाने र नाइट्रोजन तत्वको ह्रास हुँदै गएकोे परिक्षणले देखाएको छ । माटोको भौतिक गुण छ्रिद्र तथा खुकुलो हुने र प्राङगारिक गुण भएमा मात्र खेतीबालीले उत्पादन राम्रो दिने ओलीले बताउँछन् । ६ दशमलप ५ देखि ७ पिएच मान खेती वाली उत्पादनको लागि राम्रो मानिन्छ । माटोमा ७ देखि माथि मान भएमा क्षारीय र ५ देखि तल मान भएमा अम्लीय तत्व वढि छ भनेर वुझ्नुपर्छ ।
Comments are closed.