सन्दर्भ – भूपी शेरचनको ७९ औं जन्मजयन्ती, भूपी ! तिमि स्वयं पनि एक ‘हल्ला’ भएका छौ

 

मन क्षेत्री-

मनअसार अंकको भूपी विशेष ‘पाण्डुलिपि’ पढें । नेपाली कथा र समिक्षामा चिनिएका मोहन कोइराला स्कुलका कवि हरि अधिकारीले दावा छ–‘भूपी हल्लैहल्लाले बनेका कवि हुन् । उनको पुस्तापछिका कविहरुका कवितासँग भूपीका कवितालाई दाँजेर हेर्ने हो भने उनि कमजोर कवि लाग्न सक्छन् ।’ आफ्नो कविताको बाटो आफंै खनेर यहाँसम्म आइपुगेका भूपीलाई उनि ओभररेटेड कवि समेत भन्छन् । भूपीका सन्दर्भमा मैले पढेका टिप्पणीहरु मध्य यो चाँही अलिक कडा र तार्किक पनि लाग्यो तर पूर्ण विश्वास गर्न सकिने ठाउँ थिएन । हरि अधिकारी स्वयं मोहन कोइराला स्कुलको पक्षपाती देखिन्छन् । खैर ! भूपीका विषयमा आजपनि विभिन्न कोणबाट टिकाटिप्पणीहरु भैरहेका छन् । टिकाटिप्पणीमा केही थान सत्यताहरु पनि छन् । जीवन आचार्यले आफ्नो किताव ‘अर्थात’ मा लेखेका छन्, “३८ सालतिर वीर अस्पतालमा भूपीले भने ‘मेरो जिउ रोगहरुको हेडक्वार्टर हो र यसको कमान्डर इन चिफचाँहि मैले डाइबिटिजलाई बनाएको छु किनभने यसको प्रत्येक रोगसंग सम्वन्ध रहन्छ ।” सत्यता र हल्लाका दुई डोज इन्जेक्सन एकैसाथ लिन भूपीका शुभचिन्तक र पाठकलाई अप्ठ्यारो छ । हल्लाका अभियन्ताहरुको सक्रियताले सत्य, हल्ला र हल्ला, सत्य बन्ने भय पनि छ । यस्ता हल्लाहरु भूपी र भूपीका समकालीन जीवनसंग जोडीएर पनि आएका छन् । अर्थात, समकालीनहरुको सन्दर्भमा समेत भूपी जोडीन्छन् । जोड्नेहरु निर्दिष्ट छन् । उनिहरुलाई भूपीको कवित्व र त्यसको वजनका वारेमा बोल्नु छैन । बडो रसिलो चुटकिला सुनाएझै शुरु भैहाल्छन् । ऊनीहरुलाई भूपी लेखनको मूल राजमार्ग खासै महत्वको लाग्दैन् । राजमार्ग छोडेर वरपरका सहायक गल्लीमा मदिरा पिइरहेको भूपी विशेषण र त्यसकै वरपरको भूपी परिचयको न्वारनमा व्यस्त छन् ।

थोरै तर मास–अपिलिङ भ्यालुका कविता लेख्ने भूपी शेरचनको परिचय निसन्देह उनका कविताहरु हुन् । उनका कविताहरुको सत् जोगाईराख्ने शक्तिका कारणहरु पनि छन् । नेपाली समाजको प्रतिनिधी समस्याहरुमाथी उनले छानेका कच्चा पदार्थहरु आज पनि ज्यूँका त्यूँ छन् । उनका कविताले बर्षौ अघि उठान गरेका सामाजिक मुद्दाहरु सुल्झिएर जानुको साटो झन–झन विकराल बन्दै गएका छन् । हामी हिजो पनि क्यारमबोर्डका गोटी थियौं र आज पनि क्यारमबोर्डकै गोटी भन्दा भिन्न हुन सकिरहेका छैनौं । कथामा वर्णित ‘गुलिभर’ आज पनि हाम्रो आस्थाको दिपमा पल्टिइरहेको छ । आज पनि हामीले हल्लाहरु भन्दा माथीको देश अनुभव गर्न पाईरहेका छैनौं । समाजको तल्लो तप्काबाटै क्यारमबोर्डका गोटी बन्ने अभ्यासमा हुर्केका हामीहरुको ‘स्ट्राइकर’ कुनै एकको नभै अनेकन गुलिभरहरुको हातमा छ । हामीलाई हल्ला संस्कृति मन पर्न थालेको छ । हल्ला गरिदिने केही र कोहीको जोहो नगरि यहाँ दाल गल्नेवाला छैन् । दुई चार जनाका अगाडी हल्ला नगर्ने हो वा दुई चार जनाले हल्ला नगरिदिने हो भने यहाँ आमा समूहको अध्यक्ष पाउन गा¥हो छ । भूपी, प्रतिनिधी सवालहरुमाथी तिमिले लेखेको कविता आज आम र चलनचल्तिका सवालहरु भैसकेका छन् । कवितामा तिमिले उठान गरेका कच्चा पदार्र्थहरुको आयातन आज यसरी बढेको छ कि आजका कविताहरु स्वयं विषयवस्तुका अगाडी साघँुरा भए झै लाग्छन् । आज स्वयं कवितालाई हल्ला चाहिएको छ । भूपी, यो हल्लै हल्लाको देशमा तिमि स्वयं पनि एक ‘हल्ला’ भएका छौ ।

bhupi
तन्नेरी वयका कवि अथवा कवि जस्तैहरुका माझ तिम्रा कविताभन्दा तिम्रा तिलस्मी किस्साहरु चर्चित छन् । आफूलाई न्यू जेनेरेसनको मोर्डन कवि भन्न रुचाउने आजका स्वनाम कविहरुले समेत आँट्न र गर्न नसकेको कुरो तिमिले उहिल्यै उ जमानामा सुँइक्यायौ भन्ने बजारमा हल्लाहरु छन् । मध्यरातमा ढिलपिल ढिलपिल गर्दै कोही गुज्रियो भने राजमार्गमा ‘को हिँडेछ भूपी शेरचन झै….’ भन्नेहरु छन् । तिमि, चेनस्मोकरहरुका माझ चर्चित छौ । ठट्यौला कविहरुमाझ पनि तिम्रो प्रसङ्ग उठ्छ । सरावीहरु पनि तिमिलाई आइडल मान्छन् । जिन्दगीको बेपर्वाह र लापर्वाहसंग पनि तिम्रो साईनो जोडिन्छ । यि, सवै किस्साहरुको नायक बनाएर तिमीलाई मञ्चन गर्ने निर्देशक वा स्कृप्ट राइटरहरु आज पनि तिम्रै जन्म जयन्ती वा तिमीसंग सम्वन्धित कुनै कार्यक्रमहरुमा सगौरव सुनाइरहेका हुन्छन् तिमीसँग जोडीएको कुनै एक तिलस्मी किस्सा र हाँसीरहेको हुन्छ दर्शकदिर्घा । भूपी, यो हल्लै हल्लाको देशमा तिमी, तिमीलाई चिन्ने, जान्ने वा अलिअलि बुझ्नेहरुबाटै हल्ला भएका छौ ।
भूपीमा सम्वन्धित कतिपय कार्यक्रमहरुमा म आफैं उपस्थित भएको हुन्छु । भूपीको कवित्व र सोसँग सम्वन्धित विषयका वारे केही आउला भनेर । तर, किन सुनाइरहेको हुन्छ कोही कि भूपीले पिउने चुरोटको ब्रान्ड र अक्सर भेला हुने भट्टीको पुरानो ठेगाना ? यो शहरमा, केही थान थकाली हातहरु मात्र किन बाँडिरहन्छन् अझै भूपी बिशेष कार्यक्रमका निम्तोपत्रहरु ? किन तर्साइरहन्छ भूपीको छाँयाले यहाँका डन कविहरुलाई ? कानमा इयरफोन लगाउनुपर्ने बहिराहरुलाई संगित प्रतियोगीताको जज् राखेर कतिञ्जेल आत्मरतिमा रमाउलान् भूपीका फ्यानहरु..?
भूपीलाई ओभररेटेड भूपीका परिवारले बनाएका होईनन् । मुस्ताङ्ग, पोखरा वा राजधानीले पनि होइन । नेपाली कविताका पाठकहरुको प्रेम र चाहले उठेका भूपी ओभररेटेड हुन सक्तैनन् । ओभररेटेड भूपीका कविताहरु होइनन् । भूपीसंग जोडिएका तिलस्मी किस्साहरु हुन् । महाकवीलाई पागल र पागललाई महाकवी बनाउने पुरेतहरुको पछिल्लो श्रृङ्खलाले भूपीलाई सराबी बनाओस्, प्रेमी बनाओस् या अरु नै केही तर, भूपीलाई उनका कविताहरुले नै कवि बनाएका हुन् । भूपी बनाएका हुन् । हल्लैहल्लाका विचबाट सत्यता र सत्यताका विचवाट हल्लाहरु जन्मने शहरमा पुनः भूपी शेरचनको ७९ औं जन्मजयन्तीको निम्तो पत्र हात परेको छ । जाने वारेमा सोच्दै छु, र यो पनि कि, यसपटक मैले सुन्नुपर्ने छैन, भूपीका अन्य थप केहि तिलस्मी किस्साहरु । उनि र उनका कविताहरु माथी बोल्नेछन् बक्ताहरु र थप बुझाईका लागि बज्नेछ दर्शकदिर्घा । अन्त्यमा, अप्रकाशित भनेर कतै प्रकाशित भूपीको उतराद्र्धकालिन एक कविता ।

शुभकामना देऊ शुभचिन्तकहरु
कि म चाँडोभन्दा चाँडो मर्न सकूँ,
यति चाँडो कि पण्डित नआई पुग्दैमा
म आफैँ बैतरणी तर्न सकूँ ।

साहु हुने बैंस बाँची सकेँ,
असामी बुढ्यौली कति बाँचूँ !
रिनमा डुब्दै जानु पर्नेछ,
दिन, महिना र वर्ष जति बाँचू !
मलाई मेरै मुखमा आगो झोस्न देऊ,
कि म आफ्नै किरिया गर्न सकूँ ।
बाँच्नु भन्ने आँसु साँच्नु रहेछ ,

कति गाग्री पानी आँखालाई बोकाऊँ ?
नाच्नु भन्ने सँसोलाई भाँच्नु रहेछ,
कति आफ्नै पाउमा आफैँलाई ढोगाऊँ ?
मेरै हातमा देउ जौ तिलहरु
कि म आफैँलाई सतबीज छर्न देऊ !
रचना मिति – २३÷६÷२०४४
विहान २ -४५ बजे

manndai30@gmail.com

Comments are closed.