मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नयाँ गठबन्धनका लागि नेपाली काँग्रेस, माओवादी केन्द्रर जनता समाजवादी पार्टीले बिहीबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्तावसँगै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
प्रतिपक्ष दल नेपाली काँग्रेसको अगुवाइमा अविश्वासको प्रस्ताव पेश हुदै छ भन्ने जानकारी पाएपछि प्रदेश सरकारले बुधबार राती १२ बजेदेखि सातौं संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । चैत २५ बाट सुरु भएको संसद अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखबाट सचिवालयलाई पत्र रातारात पठाएर अन्त्य गरिएको थियो ।सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरेपछि सरकारले संसद अधिबेशननै अन्त्य गरेपछि आजै तीन दलको बैठक बसेर छलफल गरेपछि अविस्वास प्रस्ताव दर्ता गरिएको हो ।
प्रदेशसभाका ६० सांसदमध्ये मुख्यमन्त्री गुरुङको पार्टी एमालेका पक्षमा २७ सांसद मात्र छन् । स्वतन्त्रमा मनाङ ‘ख’ बाट निर्वाचित दिपक मनाङेले यस अघि गुरुङ नेतृत्वको सरकारलाई समर्थन गरेको भएपनि अब, उनलाई समर्थन नगर्ने बताएका छन् ।
गुरुङ नेतृत्वको सरकार बिरुद्ध अहिले प्रदेशमा माओवादी केन्द्रका १२, काँग्रेसका १५,राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद खुलेर लागेका छन् । नयाँ सरकार गठनका लागि ३१ सांसदको समर्थन आवस्यक पर्छ । तर, चार पार्टी मिल्दा उनीहरुको पक्षमा ३२ सांसद हुन्छन् । चार दलको मोर्चा मुख्यमन्त्री विरुद्ध उभिएपछि उनी अल्पमतमा परेका हुन् ।

अंक गणितीय हिसाबले अहिले मुख्यमन्त्री गुरुङ प्रष्ट अल्पमतमा परेपछि उनले चालु संसद अधिवेशन अन्त्य गरेर सरकारको आयु केही दिन लम्याएका छन् ।

 

Comments are closed.