एजेन्सी – ८४ वर्षको उमेरमा सोमबार बेलुका भारतका पूर्वराष्ट्रपति तथा क्षेप्यास्त्र वैज्ञानिक एपिजे अब्दुल कलामले जीवनको अन्तिम सास फेरे । भारतका ११ औ राष्ट्रपति कलाम पदका कारणले मात्रै होइन आफैमा एक विराट व्यक्तित्व थिए । उनको उचाई राष्ट्रपति नभइदिएको भए पनि शायद यत्तिकै हुने थियो । उनको जीवनकालेका अनेकौ किस्साहरु छन् जसले मानवता प्रकट गर्छ । उनको उच्च विचार र व्यवहार त्यस्ता किस्साहरुले प्रकाश पार्छ ।
१) मानिसहरु पर्खाल नाघेर कोही भित्र नपसोस भनेर फुटेका शीशाका टुक्राहरु पर्खालमा लगाउने गर्छन् । कलाम डिआरडिओ नामक अनुसन्धान संस्थामा काम गर्दा सो संस्थाको भवनको पर्खालमा फुटेका शीशा लगाउने तयारी भयो । तर कलामले त्यसो गर्न दिएनन् । उनले भने पर्खालमा शीशा लगाउँदा चराहरु कसरी त्यहाँ बस्न सक्छन ?
२) राष्ट्रपतिको धेरैजसो समय वरिष्ठ मानिसहरुसँगको भलाकुसारीमै वित्ने गर्छ । तर कलामको धेरै समय बालबालिका र किशोर किशोरीहरुसँग बित्ने गथ्र्यो । जब बच्चाहरुले उनीसँग भेट्ने समय माग्थे तब उनी सहजै भेट दिन्थे । त्यति मात्रै हैन बालबालिकाहरुको विचारहरु ध्यानपूर्वक धेरै समय लगाएर सुुन्ने गर्थे ।
३) जब भारतमा आगामी राष्ट्रपति कलाम हुने पक्का भयो, त्यो खबर सुनेपछि कलाम एक मामुली विद्यालयमा प्रवचन दिन पुगेका थिए । त्यो बेला उनको सुरक्षाको प्रबन्ध खास राम्रो बनाइएको थिएन । जब उनी प्रवचन दिदै थिए, त्यो बेलो बिद्युत आपूर्ति बन्द भयो । त्यो बेला उनी ४ सय विद्यार्थीहरुको बीचमा गए र सबैले सुन्ने गरी प्रवचन थिए ।
४) कलामले जीवनभर कमाएको सम्पत्ति सबै ‘पुरा’ नामक ट्रस्टलाई दान दिए । यसो किन गरेको भन्ने प्रश्नमा कलामले भनेका थिए, ‘ म राष्ट्रपति भइसके, अब बाँकी मेरो जीवनको जिम्मेवारी सरकारले लिइसकेको छ भने मलाई यो सम्पत्ति के को लागि चाहियो ?
५) एक पटक एकजनाले कलामको फोटो उनको भनाइ कलात्मक बनाएर राष्ट्रपतिलाई पठायो । कलामले धन्यवाद पत्र आफैले लेखेर पठाए । सामान्यत राष्ट्रपतिले यस्ता काम गरिरहन पर्दैन । किनभने त्यस्तै कामका लागि सरकारी कमर्चारीहरु खटाइएको हुन्छ ।
६) जब कलाम राष्ट्रपति थिएनन्, एक कलेजले उनलाई प्रमुख अतिथी बन्नकालागि अनुरोध ग¥र्यो । कार्यक्रमको तयारी पनि व्यापक हुन थाल्यो । कलाम त्यो कार्यक्रम हुनु अघिल्लै दिन कार्यक्रम स्थलमा भइरहेको तयारी हेर्न एक्लै पुगेका थिए ।
७) एक कार्यक्रममा जाँदा कलामलाई आसन ग्रहण गर्न भनिएको कुुर्सीमा उनी बस्नै मानेनन् । कारण थियो, उनका लागि राखिएको कुर्सी अन्य कुर्सी भन्दा ठूलो र विशेष थियो ।
८) एक पटक उनले काम गर्ने डिआरडियो संस्थामा एक वैज्ञानिकले उनीसँग विदा मागे । विदा माग्नुको कारण ति वैज्ञानिकले बच्चाहरुलाई एक प्रदर्शनीमा लैजानु छ भने । कलामले विदा स्वीकृत गरिदिए । तर, डिआरडियोको कामको चाप यति धेरै हुन्थ्यो कि वैज्ञानिकहरु काम बाहेक सबै कुरा भुलिदिन्थे । भयो त्यस्तै । ति बैज्ञानिकले विदा त लिए तर भोलिपल्ट कामको चापका कारण बच्चाहरुलाई प्रदर्शनमा लिएर जान विर्सिए । बडो निराश र दोषी महशुस गर्दै उनी घर पुगे । तर त्यहा बच्चाहरु थिएनन् । उनकी पत्नी मात्रै थिइन । भएको के रहेछ भने कलाम आफैले ति उनीहरुलाई प्रदर्शनी घुमाउन लिएर गएछन् ।
९) नजानेको कुरा सोधखोज गर्ने याहु एन्सर चल्तीमा छ । एक पटक कलामले पनि संसारबाट आतंकवादमुक्त गर्न के गर्नुपर्छ भनेर याहु एन्सरमा प्रश्न पोस्ट गरे । त्यो बेला उनी राष्ट्रपति नै थिए । त्यसमा हस्ती हस्तीहरुले जवाफ लेखेका थिए ।
१०) सडक छेउमा बस्ने जुत्ता सिउने मोची राष्ट्रपति कलामका अतिथी बनेका थिए एक पटक । केरलामा रहँदा कलाम एक मोचीसँग चिनजान भएको थियो । उसले पछि सानो खाना खाने होटल खोल्यो । उनी त्यहाँ गएर खाना खान्थे । राष्ट्रपति भएपछि प्रथम केरला भ्रमणको एक कार्यक्रममा ति मोचीलाई अतिथीको रुपमा निम्ता गरेका थिए ।
११) कलामको पुरा नाम अबुल पकिर जैनउलाद्दिन अब्दुल कलाम हो । उनी मुसलमान थिए । तर सरस्वतीको मूर्ति पुजा गर्थे । दैनिक गीता पाठ गर्थे । उनी भन्ने गर्थे ‘गीतामा जीवनको सार छ ।’
मुसर्रफसित ३० मिनेट
सन् २००५ मा तत्कालीन पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफ भारत भ्रमणमा आउँदा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहका साथै राष्ट्रपति अब्दुल कलामसित पनि भेटेका थिए । बीबीसी हिन्दीमा रेहान फजलका अनुसार भेटघाटको अघिल्लो दिन कलामका सचिव पीके नायर बिफ्रिङका लागि उनीकहाँ पुगे ।
नायरले भने, ‘सर, भोलि मुसर्रफ तपाईंसित भेट्न आउँदै हुनुहुन्छ ।’
कलामले जवाफ दिए, ‘हो मलाई थाहा छ ।’
नायरले भने, ‘उनले पक्कै पनि कश्मिरको मुद्दा उठाउने छन् । तपाईं यसका लागि तयार हुनुपर्छ ।’
कलामले भने, ‘चिन्ता नगर, म सम्हाल्छु ।’
अर्को दिन बिहान साढे सात बजे मुसर्रफ राष्ट्रपति भवनमा पुगे । कलामले उनको स्वागत गरे । उनको कुर्सीसम्म गए र छेउमै बसे । भेटघाट ३० मिनेटको भनिएको थियो । कलामले बोल्न थाले, ‘राष्ट्रपतिज्यू, भारतमा जस्तै तपाईंको देशमा पनि ग्रामीण क्षेत्रहरु छन् होला । तपाईंलाई त्यस्ता क्षेत्रको विकासमा केही गरौं जस्तो लाग्दैन ?’
मुसर्रफले हो, हो भने । त्यसपछि कलामले ग्रामीण क्षेत्रको विकासका सम्वन्धमा आफ्नो सिद्धान्त पूरा (प्रोभाइडिङ अर्बन फेसिलिटिज टु रुरल एरियाज) को विषयमा मुसर्रफलाई प्रवचन दिन थाले । भेटघाटका लागि जम्मा ३० मिनेट छुट्याइएको थियो । २६ मिनेट कलाम एक्लै बोले ।
त्यसपछि मुसर्रफले भने, ‘धन्यवाद राष्ट्रपतिज्यू । तपाईंजस्तो वैज्ञानिक राष्ट्रपति पाउने भारत भाग्यमानी छ । भेटघाट यत्तिमै सकियो ।
त्यसपछि नायरले आफ्नो डायरीमा लेखे, ‘कलामले आज देखाउनुभयो कि वैज्ञानिक पनि कुटनीतिक हुन सक्छन् ।
तीन लाख ५२ हजार रुपैयाँ
सन् २००६ को मे महिनामा कलामको सारा परिवार उनीसित भेट्न दिल्ली पुगेको थियो । सबै गरी ५२ जना थिए । त्यसमा उनका ९० वर्षीय दाजुदेखि डेढ वर्षीया पनातिनीसम्म थिए ।
उनीहरु आठ दिनसम्म राष्ट्रपति भवनमै बसे । कलामले आफ्नो परिवार राष्ट्रपति भवनमा बस्दाखेरिको भाडा आफ्नो खल्तीबाट दिए । यति मात्रै होइन, प्रत्येक दिन खाएको चियाकोसम्म हिसाब गरे । उनीहरु सबैजना गएपछि कलामले आफ्नो खाताबाट ३ लाख ५२ हजार रुपैयाँको चेक काटेर राष्ट्रपति कार्यालयमा पठाए । उनी राष्ट्रपति हुँदासम्म यो कुरा बाहिर आएन ।
कलामका केही चर्चित भनाई
–तपाईंको सपना साकार हुनका लागि पहिले तपाईंले सपना देख्नुपर्छ ।
–श्रेष्ठता एउटा प्रक्रिया हो, कुनै घटना होइन ।
–समस्या मानिसको जीवनमा जरुरी छ, किनकि समस्याबिना सफलताको आनन्द लिन सकिँदैन ।
–यदि देशलाई भ्रष्टाचारमुक्त बनाउने हो भने समाजका तीन सदस्यको यसमा अति महत्वपूर्ण भूमिका हुनेछ । यी तीन सदस्य हुन्, आमा, बुबा र शिक्षक ।
–सरलता र परिश्रम नै सफलताको एक मात्र मार्ग हो ।
–सबै प्रकारका समस्या निवारण गर्ने तथा सबै प्रकारका घाउहरु बिसेक पार्ने चिकित्सकहरु समय, धैर्य र प्रकृति हुन् ।
Comments are closed.