पोखरा–१७, भदौ
पोखराको पृथ्वीचोकमा रहेको एक मेनपावर कम्पनीले आफुहरुलाई झुक्याएर विदेश पठाई ठगी गरेको भन्दै कास्कीका केही युवाहरुले गुनासो गरेका छन् । पृथ्वीचोकमा रहेको दि रिभर ओभरसिजको शाखा कार्यालयले मलेसीयाको तेगाँस कम्पनीमा सेक्युरिटी गार्डमा आफुहरुलाई पठाएपनि त्यहाँ सम्झौता अनुसारको काम र रकम नहुँदा फर्किनुपरेको कास्कीको ढिकुरपोखरी गाविस वडा नंं ७, र्यालेका नवराज पौडेलले गुनासो गरे ।
पौडेलसहित गत चैत २७ गते डिलबहादुर शाही, राज गुरुङ, हर्क थापा, कृष्णा तामाङ र मिलन गुरुङले ओभरसिजलाई जनही एक लाख ६० हजार रुपैयाँ तिरेर मलेसिया उडेका थिए । ओभरसिजले सुरुमा मासिक २२ सय रिंगेट तलब हुने भन्दै आफुहरुसँग मोटो रकम असुलेर मलेसिया पठाएपनि त्यहाँको कम्पनीले काम नै नदिएको उनीहरुको गुनासो छ ।
‘कम्पनीले त्यहाँ न काम दियो, न खान नै पाईयो’, उनले भने, ‘उल्टै विभिन्न झन्झट व्योहोर्दै स्वदेश फर्कनु प¥यो ।’ तेगाँस कम्पनीले १० हजार रुपैयाँ खर्च गरेर बनाएको राहदानी पनि आफुलाई फिर्ता नदिएको उनले गुनासो गरे । ५५ दिनको बसाईंपछि यहि जेठ २२ गते मलेसियन दूतावास मार्फत् ४५ हजार रुपैयाँ खर्चेर स्वदेश फर्किनुपरेको उनको भनाई छ ।
पोखराको पृथ्वीचोक शाखाका ब्रान्च म्यानेजर सेर अली ले आफुहरुलाई निकै दुख दिएको र रकम फिर्ता नदिई उल्टै सम्पर्क विहीन भएको पौडेलले बताए । पौडेलले आफुहरु न्याय माग्न जिल्ला प्रहरी कार्यालय कास्की एवम् जिल्ला प्रशासन कार्यालय कास्कीको हातामा रहेको वैदेशिक रोजगार परामर्श केन्द्रमा उजुरी गर्न गएपनि कुनै सुनुवाई नगरिएको बताए । ‘कम्तीमा क्षतिपूर्ती पाइन्छ की भनेर ओभरसिजको केन्द्रीय कार्यालय पनि पुगेँ ।’ डिलबहादुर शाहीले भने– ‘अहिले दिनदिनै पृथ्वीचोक शाखामा धाइरहेका छौं, हामीले न्याय पाएनौं ।’
उनले उचित क्षतिपूर्ती उपलब्ध गराईदिनका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
Comments are closed.