मोह–मुमुक्षा

अर्थले इंगित गरेका सुक्ष्म संकेतहरुमा सत्य लुकेर बसेका हुन्छ ।


दीपक पराजुली
तिनताका ऊ प्रायः धर्मदर्शन र अध्यात्मका किताबहरु मात्र पढ्थ्यो । ऊ यस्तै ज्ञान बाँड्ने संगठित संस्थामा आबद्ध थियो । ऊ त्यहाँको जल्दोबल्दो अनुयायी थियो । संस्थाले बाँड्ने ज्ञान बाहेक दुनियाँका सबै धर्मका ग्रन्थहरुप्रति पनि उसको उत्तिकै समभाव थियो ।
त्यस बाहेक पठन मामिलामा उसको रुचिको दोस्रो नम्बरमा इतिहास र सँस्कृति पर्दथे । त्यसमध्येमा पनि इतिहास र सँस्कृतिको ती सन्दर्भहरुमा मात्र उसको चाख रहन्थ्यो जहाँ तन्त्रमन्त्रयन्त्रजस्ता रहस्यमयी कुराहरु जोडिएका हुन्थे ।
अनि साहित्यिक किताबप्रतिको रुचि कस्तो थियो नि ? भनेर तपाईँले सोध्नुहोला ।
ज्ञान बाँड्ने संस्थामा लाग्नु अघि उसले साहित्यिक किताब नपढेको होइन तर त्यहाँ लागेपछि उसले त्यसलाई व्यर्थ ठानेर त्यागिदियो ।
‘किन पढ्नु साहित्य ? के छ र त्यसमा ? छ त केवल तत्व कम र बकवास ज्यादा ।’ उसको मनको कुनमा भन्नुस् वा मस्तिष्कको कुनै विचारवाहिनी केन्द्रमा यस्तो आग्रह बरफ झैँ जमेर बसेको थियो । त्यो आग्रह आध्यात्मिक आदर्शबाट निर्मित थियो । त्यस्तो आदर्शको निर्माणमा त्यही ज्ञान बाँड्ने संस्थाको हात थियो ।
यसै त यो मानव जीवन दुर्लभ छ । यस्तो दुर्लभ चोला प्राप्त गरेपछि उसले आफ्नो जीवनको तत्वलाई पहिल्याउनु पर्छ । ऊ स्वयम्को सत्व के हो भनेर जान्नु पर्छ । सत्यलाई खोज्नुपर्छ । यी र यस्ता मूल्यवान कुराहरु केवल धर्मदर्शन र आध्यात्मिक किताबहरुमा मात्र भेटिन्छन् । ती पवित्र पुस्तकका शब्दहरुमा, शब्दले बनेका सूत्रहरुमा, सूत्रका अन्तर्निहित अर्थहरुमा, अर्थले इंगित गरेका सुक्ष्म संकेतहरुमा सत्य लुकेर बसेका हुन्छ ।
त्यसरी दुधमा घ्यू झैँ लुकेर बसेको सत्यलाई आत्म–मन्थन गरेर निकाल्नुपर्छ । जसका लागि आवश्यक छ निरन्तरको कठोर साधना । ध्यान, योग, यज्ञ, जप र तप । यसको निरन्तर साधनाले मात्र चौरासी लाख जुनी कटाएर भाग्यवशः जुरेको एकबारको जुनी सार्थक हुन्छ । जीवनले गति प्राप्त गर्छ र मोक्षमा उपलब्ध हुन्छ । यस्तै साधना र वेदान्तका सूत्रहरुको अध्ययन र चिन्तनमा उसका दिनहरु वित्दथे । भर्भराउँदो उमेरको करिब एकदशक जति उसले यस्तै आदर्श बाँचेर सिध्यायो ।
‘अनि साहित्य नि… ?’ भनेर फेरि कसैले प्रश्न सोध्ने दुस्साह ग¥यो भने ऊ भन्थ्यो–
‘उफ्, यो त मनमस्तिष्कलाई दिग्भ्रमित गर्ने तुच्छ साधन हो । यो व्यर्थ छ । यो केवल मिथ्या चिन्तन हो । यो यस्तो वाहियात र बकवास कुरो हो जसले मानव मस्तिष्कको अपरिमित ऊर्जालाई गलत दिशातर्फ मोड्छ । यो भट्केका मान्छेहरुको कुण्ठा मोचनको साधनमात्र हो । असलमा यसलाई पढ्नु भनेको अमूल्य समयलाई नष्ट गर्नु मात्र हो ।’
हो, यस्तैखाले मान्यताले अभिभुत थियो, ऊ त्यो बेला ।
तर, समयले पल्टा खायो ।
ऊ आबद्ध ज्ञान बाँड्ने संस्थामा फुट आयो । संस्थाका नेताहरु तीनतिर बाँडिए । तीनवटा संस्था खडा भए । अब अध्यात्मको वैतरणी तर्न कुन पार्टीको टिकट काट्ने ? भन्ने कुरामा भयानक अन्योलको स्थिति सिर्जना भयो । उसले टेकेको जमिनमा यस्तो शक्तिशाली भुइँचालो आएको थियो जसले ऊभित्र स्थापित मान्यताको धरहरालाई गल्र्याम्गुर्लुम्मै ढालिदिएको थियो ।
आफुँ हिँड्दा हिँड्दैको बाटो तीनतिर फाटेर गएपछि कुन बाटो असली हो ? कुन नक्कली हो ? कि हो सबै नक्कली ? यस्तै प्रश्नहरुले उसलाई घेर्न थालेका थिए । जसबाट उम्कन ज्यादै मुस्किलको काम थियो । हो, त्यो बेला ऊ अत्यन्त अन्योलको स्थितिबाट ऊ गुज्रिरहेको थियो ।
उसले सिकेका, जानेका, घोकेका, अपनाएका र प्रयोग गरेका सारा साधन र विधानहरुमाथि धारिला प्रश्नहरु धसिन थालेका थिए । साधन स्वयं सत्य होइन । थिएन र छैन पनि । तर सत्य कहाँ छ ? थाहा थिएन ।
वषौँदेखि विश्वास मानेर हिँड्दै आएको आर्दश आध्यात्मिक मार्गमा पहिरो आएपछि उसले बाटो बदल्यो र हिँड्यो पुनर्विचार अनि आत्मसमीक्षाको आफ्नै बाटो । उसले आफ्नै जिन्दगीको चौबाटोमा उभिएर आत्मसमीक्षा ग¥यो र पुनः नयाँ शीराबाट सत्यको खोजीमा हिँड्यो । जो आज पर्यन्त पनि जारी छ । ऊ भित्रको आगो निभेको छैन । ऊ भित्रको प्यास बुझेको छैन ।
तर, विचलित समयको धारबाट नयाँ दिशाको पहिचान गर्नु सजिलो पक्कै थिएन । विचलनलाई पार लगाउन उसले अनेक उपायहरुको खोजी गरिरहेको थियो । त्यही सिलसिलामा ऊ फेरि नयाँ–नयाँ ठाउँमा नयाँ–नयाँ गुरुहरुको संगतमा गयो । र नयाँ नयाँ कुराहरु पनि सिक्यो ।
असलमा, ती नयाँ कुराहरु थिएनन् । बस्, उसले गर्दै आएको पुराना विधि विधानहरु नै नयाँ ढंगबाट दोहोरी रहेका थिए । तर जति दोहो¥याए पनि ती कुनै पनि कुराले उसको अन्तरआत्माको प्यासलाई बुझाउन सकेका थिएनन् । उसलाई तावाबाट निस्केको माछो भुंग्रोमा गएर फसेजस्तै भएको थियो ।
यस्तैमा, दुर्घटनावश एकदिन उसले हर्मन हेसको सिद्धार्थ पढ्न पुग्यो । यो एउटा उपन्यास हो भन्ने जानेर होइन, महामना बुद्धको जीवनी वा उनको पवित्र वचनहरुले भरिएको कुनै पुस्तक होला भन्ठानेर किनेको थियो उसले । बुद्ध वाणीले उसको विचलित अनि ज्वरग्रस्त आत्मालाई शीतलता प्रदान गर्ने अपेक्षा थियो ऊसँग ।
तर उसको पूर्वानुमान गलत रहेछ भन्ने कुरा पढ्न शुरु गर्दैखेरी उसलाई ज्ञात भइगयो । अब नकिन्नु किनि सकेपछि, अनि पाना पल्टाएर दुईचार लाइन पढिसकेपछि किन अधुरो छोडौँ भन्ने लाग्यो । पुस्तक ज्यादा ठुलो नभएको र यसमा त्यति धेरै आयु खर्चिनु नपर्ने हुनाले पठनलाई अगाडि बढायो ।
पढ्दै जाँदा शनैः शनैः सिद्धार्थमा उसले आफैँलाई भेटायो । उसको अलिखित अनि अप्रकाशित आत्मकथाको महत्वपूर्ण अंश त हर्मन हेसले उहिल्यै लेखेर राखेको रहेछ भन्ने थाहा पाएर ऊ चकित भयो । आफ्नो कथा आफुले लेख्नु भन्दा पहिल्यै कसैले लेखिदिएको सम्झेर ऊ हेसदेखि अलिअलि रिसायो पनि । उसलाई डाहाजस्तो पनि केही भयो ।
जीवनको उर्जाशील युवावयमा ऊ पनि सिद्धार्थ झैँ सत्यको खोजीमा अनेक ठाउँमा बरालिँदै हिँडेको थियो । आध्यामिक क्षेत्रका अनेकन क्रम एवं उपक्रमहरुमा ऊ भट्किरहेको थियो । तन्त्र, मन्त्र, ध्यान, योग साधना सिद्ध गर्न अनेक गुरुहरुका संगतिमा ऊ धाइरहन्थ्यो । त्यस्तो उग्र आध्यात्मिक भट्कावको कालखण्डमा अनेक थरीका गुरुहरु उसले नभेटेको होइन । तर त्यति हुँदा पनि त्यस कालखण्डमा सिद्धार्थकी नायिका कमलाजस्तो गुरु किन नभेटिएको होला भन्दै ऊ अहिले पनि खिन्न भइ बस्छ ।
हो, सिद्धार्थको पठनपछि नै उसलाई ‘साहित्य पनि केही हो’ भन्ने लागेको हो । हो सिद्धार्थ–प्रकरण नै उसको पठन यात्राको एउटा यस्तो स्वर्णीम दुर्घटना थियो जसले उसको मस्तिष्कमा जमेको बर्फिलो पूर्वाग्रहलाई पगालेर पानी–पानी बनाइदिएको थियो । त्यसपछि ऊ साहित्यको सागरमा पौडिन पल्किएको हो । त्यसपछि नै उसको तथाकथित आर्दश–भ्रम चकनाचुर भएको हो । र त्यसपछि नै उसको संकिर्ण विचार परिवर्तित भइ अनन्त भएको हो ।
आजको मितिमा धर्मग्रन्थका ज्ञान एवं त्यसभित्रका वैज्ञानिक÷अवैज्ञानिक तथ्य, तकनिकी र विधिविधानहरुको बारेमा गरिने सार्वजनिक चर्चामा उसलाई कुनै रुची छैन । किनभने, ती सबैलाई उसले उहिले जमानामा भोगेर, खाएर चपाएर थुकिसकेको थियो ।
उसले जसो भने पनि, जेसुकै दावि गरेपनि अझै पनि उसको लेखनी त्यस्तो धार्मिक प्रभावबाट मुक्त भएको देखिँदैन । त्यसलाई ऊ दाँतमा अड्केका रयलपयल र थुक्न बाँकी चिजहरु भन्छ । यसो भनेर उसले कुनै ज्ञानको अपमान गर्न खोजेको होइन । किनभने सत्य भन्ने कुरा किताबमा लेखिएको तथाकथित ज्ञानभन्दा कयौँ कोष टाढा र उत्तिकै नजिक छ । यो उसको अनुभवले बताएको कुरा हो । किताबमा लेखिएका ज्ञानहरु काम चलाउका औजार मात्र हुन् । ती औजारहरु बढिसे बढि सांसारिक ताप हर्न मात्र काम लाग्छन् । तर ती सत्यको खोजीका लागि भरपर्दा साधन भने होइनन् ।
अहिले ऊ आफैँले निर्माण गरेको धर्ममा बाँचेको छ । ऊ पुनः प्रारम्भीक एवं प्राकृत चिन्तनमा फर्किएको छ । अहिले ऊसँग आफ्नै धर्म छ । नाउ हि इज जस्ट एक्जिस्टिङ ।
अब यति गन्थन गरेपछि उसलाई कसैले ‘साहित्यिक किताबहरुमध्ये सर्वाधिक मन परेको कुन हो ? भनेर सोध्यो भने त्यसको जवाफ दिन उसलाई गाह्रो मात्र होइन असंभव नै हुन्छ ।
त्यसो हो भने, सर्वाधिक मन परेको धार्मिक किताबको बारेमा प्रश्न सोधियो भने उसले दुईवटा नाम दिनेछ । एक, अष्टावक्र गीता । दुई, शंकराचार्यको विवेक चुणामणि ।
त्यो त परापूर्वकालमा लेखिएका किताब भए । के अहिले समकालमा त्यस्तो कुनै धार्मिक किताब छ जसलाई तपाईँ रुचाउनु हुन्छ ? भनि सोधिएको प्रश्नमा उसले एउटा किताबको नाम दिनेछ– मोक्षान्त ः काठमान्डु फिभर ।
तपाईँ त्यही मोक्षान्त ः काठमान्डु फिभरको कुरा गरिरहनुभएको छ जसलाई कुमार नगरकोटीले लेखेका थिए । भनेर पुनः सोधियो भने उसले जवाफ दिनेछ,
हो, त्यही मोक्षान्त ः काठमान्डु फिभर, जो नगरकोटीको अन्तिम धार्मिक किताब हो । तपाईँले त्यसलाई साहित्यिक किताब ठान्नु भयो होला । त्यसो हुँदै होइन । त्यसअघि नगरकोटी अनेक अण्टसण्ट लेखेर साहित्यिक पाठकहरुको दिमाग खराब गर्दै आइरहेको कुरा भने साँचो हो ।

Comments are closed.