बेनी (म्याग्दी), १८ असार । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा बिहीबार जङ्गलबाट ल्याएको विषालु च्याउ पकाएर खाँदा १२ जना गम्भीर बिरामी भएका छन् ।
चितवनको शक्तिखोर–२ घर भई हाल रत्नेचौरमा कुलो निर्माण गर्दै आएका मजदुरहरुले बिहानको खानासँगै पकाएको विषालु च्याउ खाँदा उनीहरु बिरामी परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बिरामी पर्नेमा ३० वर्षीय कमल चेताङ, २० वर्षीय दलबहादुर चेताङ, ६५ वर्षीय रामजी चेताङ, १५ वर्षीय वीरबल चेताङ, १४ वर्षीय शङ्कर चेताङ, २२ वर्षीया सुस्मिता चेताङ, उनकी एक वर्षीया छोरी रजनी रहेको प्रहरी नायब उपरीक्षक हिराबहादुर गिरीले बताए । त्यसैगरी चितवनको शक्तिखोरकै मजदुर १६ वर्षीया सङ्गीता चेताङ, उनकी दुई वर्षीय छोरा, १९ वर्षीय केशव राई, १३ वर्षीय सञ्जय मगर र आठ वर्षीय कुमार मगर बिरामी परेको उनले जानकारी दिए ।
बिरामी परेका सबैलाई हिजै मात्रै धौलागिरी अञ्चल अस्पताल बागलुङ पुर्याएकामा त्यहाँ उपचार हुन नसेकपछि थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ । उनीहरुकाे अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचार भैरहेकाे छ । च्याउ खानेमा सबै मजदुर र उनीहरुका छोराछोरी रहेका छन् भने उनीहरु सबैको अवस्था गम्भीर रहेको बताइएको छ ।
Comments are closed.