कविता -“म डा. गोविन्द केसी”
महाराज
म, डा. गोविन्द केसी
म, हजुरको राज्यको सबैभन्दा ठूलो अपराधी
म, हजुरको राज्यको सबैभन्दा ठूलो भ्रष्टाचारी
वा, म हजुरको राज्यको सबैभन्दा ठूलो टाउको दुखाई
हो महाराज
मैले, गरेकै हुँ अपराध
जस्तो कि,
हजुरको गरिबीदर घटाउने मनशाय जानिन
उल्टै गरिबहरुलाई सिटामोल र जीवनजल बाँढिदिएँ
हजुरको कपाल दुख्दा हजुर त गैजानुभो उडेर
म दौडिदै गएँ भेरी, कर्णाली र अनकन्टारतिर
कती घाउहरु निचोरेँ, निकालेँ पिप, रगतका धारा
र दलिदिएँ, हृदयको मल्हम घाउ घाउमा
कति मलमुत्र छामे हातैले र बाढिँदिए खुसिका औषधीहरु
कतीलाई आफ्नै आयुको एक टुक्रा उपहार दिएँ र
पुछिदिएँ आँखाका आँशुहरु
महाराज
मैले यस्ता अपराध कति गरेँ गरेँ
आफैँले कम खाएर भोकको दबाई, खुवाएँ भोका बिरामीहरुलाई
आफ्नै हौसलाको सिरीन्जबाट झिकेर, आशाको रगत
बाढीदिएँ ओइलाई झर्न लागेका कोपीलाहरुलाई
र भनेँ यो देशका लागि बाँच्नुपर्छ तिमी
यो देश तिम्रोपनि हो
महाराज,
मलाई हजुरको जस्तो सुनको शौचालयमा शौच गर्ने शोख भएन
स्वर्ण दरबारको बार्दलीबाट तल आफ्ना आसेपासेहरुलाई हेर्ने रहर भएन
भतिजा भान्जा र ज्वाईका नाममा विदेशमा अर्वौ राख्ने चाहनापनि भएन
न सयर गर्नै मन लाग्यो सररररर जहाजमा
म त आफ्नै जीवन भाँचेर, भर्न चाँहे गरिबहरुका हृदय
हो महाराज,
म बाट गल्ति भो
यि हेर्नु न, मैले त यिनै औषधीहरुसँग बिताईदिएँ जिन्दगी र
जीवनभर बिरामीहरुको आँखामा आफ्ना लालाबाला देखेँ
जीवनभर यहि देशलाई आफ्नो घर देखेँ
प्रत्येक बिरामीहरुलाई आफन्त देखेँ
र लागिरहेँ जीवनभर आफ्नै मक्किएको हाड घोट्न
तैपनि
घट्दै घटेनन् तन दुखेका बिरामी
झन् झन् बढिरहे मन दुखेका बिरामी
त्यसैले, ति बिरामी भन्दा बरु मै मर्छु भनेर मैले
अलिअलि नियमका कुरा गरेँ
विधी, विधान र गरिब भलाइका कुरा गरेँ
अकालमै दुखीहरु नमरुन भनेँ
यहि सबैभन्दा ठुलो अपराध भो
हो महाराज, म अपराधी हुँ
“मरे मरोस्” भन्दै त्यसै नछाडिदिनुस् मलाई
होलान्, सिहंदरबारमा पुराना तोपहरु
मेरै छातीमा ताकेर पड्काउनुस्
होलान्, पुराना जँगे तरबारहरु
मेरै घाँटिमा निशाना बनाउनुस्
वा तातोतेलले डामेर अनुहार
सिफलमा लगी झुन्ड्याइदिनुस्
किनकी
म, डा. गोविन्द केसी
म, हजुरको राज्यको सबैभन्दा ठूलो अपराधी
म, हजुरको राज्यको सबैभन्दा ठूलो भ्रष्टाचारी
वा, म हजुरको राज्यको सबैभन्दा ठुलो टाउको दुखाई
मजस्तो अपराधी बाँच्न पाउने कुनै अधिकार छैन
(यो कविता लेखकको फेसवुक वालबाट र फाेटाे गुगलबाट साभार गरिएको हो )
Comments are closed.