प्रा. शिवकान्त दुबे, भूगोलविद्
भूकम्पपछि जमिन भासिने र चिरा पर्ने हुन्छन् । अहिले हाम्रोमा खासगरी मुस्ताङमा जमिन भासिएर केही घर भत्किएको कुरा आएको छ । विशेषगरी, भूसतहमुनिको संरचना कमजोर भएका ठाउँमा भूकम्प अर्थात् कम्पनले थप कमजोर बनाउँछन् र ती ठाउँ भासिन सक्छन् । दरार पर्न सक्छन् । केहीअघि पोखराको अर्मलेमा भासिएको थियो, जहाँ क्याल्सियम कार्बोनेट लाइमको मात्रा केही बढी भएको बुझिएको थियो । लाइम भनेको चुना हो । चुनायुक्त चट्टानमा पानी पस्यो भने गल्छ ।
भूकम्पपछि जुन जमिन भासिने कुरा छ, त्यो भूसतहमुनिको भाग कमजोर भएकै कारण हो । यदि त्यो भाग कमजोर छ भने भित्रको तरल पदार्थ र वाफ बाहिर निस्कन सक्छन् ।
भूकम्पपछि जमिन भासिनुमा केही खास कारण हुन्छन् । माथिल्लो भाग बढी थर्कमान हुने र तलको भाग कमजोर भएको अवस्थामा जमिन भासिने हुन सक्छ । भूकम्पको केन्द्र भूसतहदेखि नजिक भयो भने कम्पन बढी हुन्छ । अहिले हाम्रोमा भूकम्प उत्पन्न भएको केन्द्र सतहदेखि त्यस्तै १०–१२ किलोमिटरभित्र रहेको छ । त्यसैले हामीले बढी कम्पनको महसुस पनि गर्यौँ ।
अहिले काठमाडौंमा पनि केही भागमा दरार देखिएका छन् । हाम्रोमा भूसतहको अवस्था कहाँ–कस्तो छ, त्यति धैरे अध्ययन भइसकेको छैन । त्यसैले भासिन्छ कि भनेर अत्तालिनु मात्रै पर्दैन । भूसतहमुनि कमजोर रहेको ठाउँ भासिन सक्छन् । यत्तिका वर्षसम्म हामी रहँदैबस्दै आएको ठाउँ कमजोर नहोला । तर, अध्ययन, अनुसन्धानपछि सतर्कता अपनाउन आवश्यक हुन्छ ।
यस्तै, सिंहदरबार प्रवेशद्वार बाहिरको सडक धाँजा परेको छ । त्यसवरपर निथुन ग्यास रहेको हल्ला पनि छ । तर, यसबारे अनुसन्धान भइसकेको छैन । त्यसैले हल्लामा परेर डराउनु आवश्यक छैन । त्यसबारे अनुसन्धान हुन जरुरी छ ।
Comments are closed.