–अर्जुन भण्डारी
जिवित अवस्थामा माता पिताको गरिने सेवा जस्तै मृत्यु पश्चात पनि पितृहरुको सेवा गर्नु सनातन धर्ममा सन्ततीहरुको कर्तव्य मानिन्छ । पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई श्राद्ध भनिन्छ । यो प्रियजन (आफन्त) को मृत्यु भएको तिथिलाइ मान्ने गरिन्छ । यस दिन आफ्ना आफन्त मृत आत्माहरुलाइ श्रदा पुर्वक स्मरण गर्ने र सम्मान अर्पण गर्ने गरिन्छ, घरमा ब्राहम्ण बोलाइन्छ र पुजा गरिन्छ अनि ब्राहम्ण लाइ भोजन गराइ पिण्डदान दिने गरिन्छ । पितृको मृत्यु भएको तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध हो । यस श्राद्धमा जसको तिथि हो उसलाई मात्र आधार वनाएर श्राद्ध गरिन्छ, उसलाई मात्र पिण्ड दिइन्छ । यस बिपरित पार्वण (सोह्र श्राद्ध) मा आफ्ना पितातर्फका तीनपुस्ता र मावलीतर्फका तीन पुस्तालाई पिण्ड दिइन्छ । विभिन्न जाति सम्प्रदायमा तीन पुस्ताभित्रका जेष्ठ मध्यम, कनिष्ठ पितामह, काका, मामालगायतलाई पिण्ड दिने पनि गरिन्छ । श्राद्धको शुरुवातको कुरा गर्दा पितृको श्राद्ध सबैभन्दा पहिले भगवान बिष्णुजीले, त्यसपछि ब्रह्माजीले, त्यसपछि दत्तात्रेयका छोरा निमिले अनि त्यसपछि हिन्दु अरुहरुले गरेको पाइन्छ र आजकल श्राद्धको महिमा बुझेका सवैले श्राद्ध गरेको पाइन्छ ।
सोह्र श्राद्ध
आस्वीन कृष्ण पक्षका १५ वटा तिथिहरुलाइ सोह्र श्राद्ध भनिन्छ । यसलाइ पितृ पक्ष पनि भनिन्छ । यस अन्तरालमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई (पार्वण) सोह्र श्राद्ध भनिन्छ । यस बर्ष भाद्र १७ गते प्रतिपदा तिथी बाट सोह्र श्राद्ध सुरुवात भएर असोज १ गते औँसी तिथीसम्म रहेको छ । यी तिथिहरुमा पितृलाइ तृप्त पार्नू पर्छ भन्ने मान्यता अनुसार आफ्ना वुवा आमाको मृत्यु तिथिमा श्राद्ध गर्ने चलन रहेको छ । समान्य तया श्राद्ध गर्दा वुवाको मृत्यु तिथिमा गर्ने गरिन्छ तर सोह्रश्राद्धमा श्राद्ध गर्दा पिता (बाबु), पितामह (बाजे) वा प्रपितामह (बराजुर) मध्ये कुनै एक जनाको तिथि समाती वर्षेनी उक्त दिन श्राद्ध गर्नु राम्रो हुन्छ । तर जसलाई आफ्ना आफन्तजनहरूको मृत्यु तिथि थाहा हुँदैन, तिनीहरूले पनि यस पक्षको पञ्चमी, अष्टमी, द्वादशी वा अमावस्या तिथिका दिन श्राद्ध गर्ने चलन छ ।
विधीहरु
पितृपक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ् आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी पितृपक्ष भरि नै सात्विक भोजन गर्ने गर्दछन् । यसैगरी यस अवधि भर कुनै देवस्थल दर्शन गर्न नजाने परम्परा रहेको छ। पितृपक्षमा प्रतिपदादेखि औसीभित्र आफ्ना पितृकुलका तीन पुस्ताभित्रकै पुण्य तिथिमा महालय श्राद्ध गर्नुपर्ने हो तर यस पक्षको चतुर्दशी तिथि र संयोगवंश मघा नक्षत्र परेमा श्राद्ध नगर्नु भन्ने शास्त्रीय वचन पाइन्छ। एकोद्दिष्ट श्राद्धमा निश्चत तिथिमै श्राद्ध गर्नेुपर्ने भए पनि यस पक्षको चतुर्दशीलाई भने अकाल गतिले मरेको (शास्त्र, अस्त्रद्वारा झुण्डिएर डुबेर आदि) व्यक्तिको मात्र श्राद्ध गर्ने परम्परा छ। पार्वण श्राद्ध अपराहृनमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ।
श्राद्धका आवस्यक ७ बस्तुहरु
कुनै पनि श्राद्धमा गङ्गाजल, दूध, मह, तोरीको साग, छोरीको छोरो (दौहित्र), कुश र तिल महत्त्वपूर्ण मानिन्छन् । यसबाहेक श्राद्धमा प्रयोग गरिएको तुलसीको मञ्जरीबाट पितृगण प्रलयकालपर्यन्त प्रसन्न रहन्छन् भन्ने गरिन्छ र पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने चलन पनि छ । यसरी मञ्जरीको उपयोग गरेमा पितृगण गरुडमा सवार भई सीधै विष्णुलोक पुग्दछन् भन्ने मान्यता छ ।
श्राद्ध मन्त्र
ऊँ क्रीं क्लीं ऐं सर्वपितृभ्यो स्वात्म सिद्धये ऊँ फट् । ऊँ सर्व पितृ प्रं प्रसन्नो भव ऊँ । ऊँ पितृभ्यः स्वधायिभ्यः स्वधानमः पितामहेभ्य स्वधायिभ्यः स्वधा नमः । प्रपितामहेभ्य स्वधायिभ्य स्वधा नमः अक्षन्न पितरो मीमदन्त पितरोतीतृपन्त पितरः पितरः शुन्दध्वम् । ऊँ पितृभ्यो नमः पितराय नमः ।।
श्राद्धमा गर्न नहुने काम
श्राद्ध गर्दा मन मस्तिस्क देखी नै शुद्ध भइ, गुप्त रूपमा गर्नुपर्छ । दिर्घ उपयोगि बस्तुहरु जस्तै घर जग्गा गर गहना पशु पन्छी किनमेल गर्न अशुभ मानिन्छ भने सो दिन सात्विक भोजन नै शुभ रहन्छ । श्राद्धको दिनमा खन्न जोत्न, दाउरा काट्न र नाचगानका कार्यक्रम गर्नु अशुभ मानिन्छ, पितृपक्षमा कुनै पनि मांगलिक तथा शुभ काम गर्न वर्जित छ । यतिखेर कुँवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन । श्राद्धको दिन घरमा दही नमथ्नु । श्राद्धकै दिन कपाल नकाट्नु । अघिल्लो दिन मुण्डन नगर्नु । भन्टा, गाजर, मुसुरोको दाल, रहर, लौका, हिङ, प्याज, लसुन, बीरे नून, जामुन, सुपारी, सर्स्यौं र चनाको प्रयोग निषेद छ । घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन, उक्त दिन एक छाके को दिनमा शरीरमा सुन, तेल र सावुनको संसर्ग गर्नु हुँदैन । पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन, अनि राती पनि भुइँमा एकसरो ओछ्यान लगाएर शयन गर्नुपर्दछ ।
श्राद्ध गर्ने स्थान, दिशा र समय
श्राद्ध गर्नको लागि सवैभन्दा उपयुक्त स्थान स्व: गृह नै मानिएको छ, । श्राद्ध गर्दा घरको छत, कौशी, बार्दली, पहिलो तल्ला मा गर्न अशुभ मानिन्छ भुइंतलामा मात्र श्राद्धको गर्नु उत्तम मानिएको छ । स्व: गृह भन्दा बाहिर भाडामा वा अरुको घरमा बस्नेहरुले कुनै नदि तथा धार्मिक स्थलमा गइ श्राद्ध गरि तर्पण दिनु उपयुक्त मानिएको छ । देवस्थल, नदि, मन्दिर वा तीर्थक्षेत्र पनि नजिकै छैन भने भुइँमा आँगनमा बनाइएको तुलसीको मठ छ भने गृह मालिकको स्वीकृति लिई त्यहाँ श्राद्ध गरेमा दोष लाग्दैन । सुर्य दक्षिणय भएको बेला सन्ततिले श्राद्ध गरी तृप्त भएका पितृहरूको आत्मालाई मुक्तिको मार्ग प्रशस्त गर्ने गर्दछन् भन्ने विश्वास रहि आएको छ । त्यसैले दक्षिण दिशा फर्केर श्राद्ध गर्नु उत्तम मनिएको छ ।
पिण्डदान
पिण्डदान श्राद्धको मुख्य कार्य हो । पिण्ड गाईको दूधमा पकाएको खीर वा गाईको दूधमा मुछिएको जौको पिठोको डल्लो हो । पिण्ड त्यस्तो वस्तु हो जुन् अग्नौकरण (होम) गरी शेष रहेको श्राद्धपाक र पितृस्वरुप आमन्त्रित ब्राह्मण भोजन शेषबाट निर्मित डल्लो वस्तु हो । श्राद्धभन्दा पहिले नै श्राद्धकर्ताकी पत्नी रजस्वला भएर सात दिन बितेको छैन भने श्राद्धमा पिण्डदान गर्न हुँदैन ।
खानपिन तथा पाहुना
श्राद्धमा श्राद्ध भन्दा एकदिन अगावै नङ, केश आदि काटी एकछाक मात्र सात्विक भोजन गरी चोखोनीतो गर्नु पर्दछ । श्राद्धको एक दिन अगाडिको दिनलाई एकछाके भन्ने गरिन्छ । एकोद्दिष्ट श्राद्धमा एकछाकी र श्राद्धका दिन तथा सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछामासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन । त्यस्तै मुसुरीको दाल, लौका, चिचिन्डो, लसुन, प्याज, कोदो, तीते फापर लगायतका खाद्यवस्तुहरुको प्रयोग गर्नु हुँदैन । एकछाकी र श्राद्धका दुबै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन । यस कर्मका क्रममा विशेष गरी जसको श्राद्ध गरिंदैछ उसका छोरीपट्टिका नातिनातिना, गोतियार बन्धुबान्धव, ज्वाइँ र भान्जाभान्जीलाई निमन्त्रणा गर्नु अनिवार्य मानिन्छ । पितृकर्मका दिन पतित व्यक्तिहरूलाई आमन्त्रण गर्नु हुँदैन । श्राद्धकार्य समापन भएपछि ब्राहमणलाइ भोजन गराएपछि काग लाइ भोजन दिइ श्राद्धमा बोलाइएका पाहुना र आँफुले खाना खाने चलन पनि रहि आएको छ ।
यस बर्ष सोह्र श्राद्दका तिथिहरु:
प्रतिपदाः भदौ १७ गते ९ः३८ पछि गर्न मिल्ने नवमीः भदौ २६ गते शुक्रवार गर्न मिल्ने
द्धितियाः भदौ १८ गते १०ः५१ पछि गर्न मिल्ने दशमीः भदौ २७ गते शनिवार गर्न मिल्ने
तृतीयाः भदौ १९ गते १२ः५९ पछि गर्न मिल्ने एकादशीः भदौ २८ गते आइतवार गर्न मिल्ने
चतुर्थीः भदौ २१ गते आइतवार गर्न मिल्ने द्धादशीः भदौ २९ गते सोमवार गर्न मिल्ने
पँचमीः भदौ २२ गते सोमवार गर्न मिल्ने त्रयोदशीः भदौ ३० गते मंगलवार गर्न मिल्ने
षष्ठीः भदौ २३ गते मंगलवार गर्न मिल्ने चर्तुदर्शीः भदौ ३१ गते बुधवार गर्न मिल्ने
सप्तमीः भदौ २४ गते बुधवार गर्न मिल्ने औँसीः असोज १ गते विहिवार गर्न मिल्ने
अष्टमीः भदौ २५ गते विहीवार गर्न मिल्ने
यस बर्ष विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) कारणले धार्मिक क्रियाकलापहरुमा पनि प्रभावित बनाएको छ । दाजुभाइहरु एकै स्थानमा जम्मा भइ पण्डीतद्धारा गरिने श्राद्द पनि संक्रमण फैलने डरले भर्चुअल माध्यमवाट संचालन गर्नु पर्ने समयको माग देखिएको छ । जस्ले नयाँ प्रविधिहरुसंग परिचित नभएका पण्डितहरु भर्चुअल माध्यम प्रयोग गर्ने सम्बन्धमा भने असहज रहेको पाइएको छ । श्राद्दको रुपमा फैलन सक्ने कोरोना भाइरसको संक्रमण कम गर्न भर्चुअल माध्यमवाट श्राद्द गरौँ । आँफु पनि बाचौँ अरुलाई पनि बचाऔँ ।
Comments are closed.