यसरी ज्यान लियाे गहुँकाे राेटीले एकै परिवाका ६ जनाको

timthumbपाेखरा २६ फागुन । विष मिसिएको गहुँको रोटी खाँदा धादिङ पिडा गाविस वडा नम्बर ८ मा एकै परिवारका ६ जनाको ज्यान गएको छ । स्थानीय सन्जबहादुर तामाङका घरमा सोमबार बिहान खाजामा गहुँको रोटी पाकेको थियो । घरका सबैले खाजा खाए र सबै एकैसाथ बिरामी परे । सोही गाविसमा गहुँ र कोदोको रोटी खाएका २० जना सिकिस्त बिरामी भए । त्यसमध्ये ६ जनाको ज्यानै गयो । ज्यान गुमाउनेमा ६२ वर्षीय सन्जबहादुर तामाङ, उनका माइली बुहारी २८ वर्षीय फूलमाया तामाङ, नाति–नातिनीहरू ५ वर्षीय अर्जुन तामाङ, ७ वर्षीया छोरी सविता तामाङ, २ वर्षीया छोरी अनिता तामाङ र ५ वर्षीय रमेश तामाङ छन् ।

बिरामीहरूलाई स्थानीय राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि काठमाडौँ लगिएको छ । काठमाडौँ लगिएकामध्ये ११ जनाको मनमोहन मेमोरियल अस्पतालमा र ४ जनाको शिवज्योति अस्पतालमा उपचार भइरहेको बताइएको छ । किराले नखाओस् भनेर विषादी हालेर बिउका लागि राखिएको गहुँ पिसेर रोटी पकाई खाँदा उक्त घटना भएको गाउँले बताउँछन् ।
घट्टधनी तिलकबहादुर तामाङले आइतबार सन्जबहादुरको घरमा रहेको गहुँ पिनी सकेपछि लगत्तै कोदो पिसेको र त्यही कोदोको रोटी खाँदा आफ्नो परिवारसमेत बिरामी भएको बताएका छन् । रोटी खाने जति सबै बिरामी परेको भन्ने खबर आएपछि घरमा बाँकी रहेको गहुँको पिठो परीक्षणका लागि लगिएको गजुरी प्रहरीका प्रहरी निरीक्षक हेमन्त भण्डारीले बताए । अधिकांश किसानले गहुँको बिउ जोगाउन सल्फास चक्की किटनाशक र भाइटव्याक्स ढुसीनाशक औषधी प्रयोग गर्ने गरेको कृषि सेवा केन्द्र गजुरीका अधिकृत वेदप्रसाद रेग्मी बताउँछन् ।

Comments are closed.