यस्ताे छ दसैंतिहार सुरक्षा योजना,आपराधिक घटनामा संलग्नको प्रोफाइल तयार

–पोखरामा मात्रै ६ सय प्रहरी परिचालन
–सरकारी तथा गैरसकारी कार्यालयमा आलोपालो पहरा
–कमाण्ड पोष्ट स्थापना गरी विभिन्न माध्यमबाट प्रहरी गस्ती
–विगतमा आपराधिक घटनामा संलग्नको प्रोफाइल तयार
–मुख्य बजार तथा आवसिय क्षेत्र र राजमार्गहरुमा विशेष निगरानी


पोखरा १ कार्तिक 
दशैं तिहारमा हुने अपराधिक क्रियाकलाप रोक्न कास्की प्रहरीले विशेष सुरक्षा योजना ल्याएको छ । दसैं तिहारमा हुने अपराधिक क्रियाकलाप रोक्न कास्की प्रहरीले सर्तकता अपनाउने तथा विशेष सुरक्षा निगरानी बढाउने भएको हो ।  ‘हुन त प्रहरीले नियमित गर्दै आएको काम हो तर दसैं तिहारलाई भनेर विशेष योजना सार्वजनिक गर्नुपरेको हो’ कास्की प्रहरी प्रमुख एसपी हरिबहादुर पालले भने, ‘सुरक्षाकर्मीलाई अझ बढी जिम्मेबार बनाउनका लागि पनि योजना सार्वजनिक गरिएको हो ।’

दसैं तिहारको समयमा चोरी डकैती, हत्या हिँसा हुनसक्ने संभावनलाई मध्यनजर गर्दै कडाईका साथ लाग्ने प्रहरीले जनाएको छ । विगतमा यस्ता आपराधिक घटनामा संलग्न व्यक्तिहरुको प्रोफायल तयार गरिरहेको पनि प्रहरीले जनाएको छ । कास्कीमा ९ सयको हाराहारीमा प्रहरी रहेकोमा पोखरामा मात्रै दसैं तिहारका लागि ६ सय बढी प्रहरी परिचालन हुनेछन् भने बाँकी लेखनाथ र कास्कीका ग्रामीण भेगमा परिचालन हुने एसपी पालले जानकारी दिए ।

hari-badhur-pal
प्रहरी मातहतका निकायलाई सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिईएको पालले जानकारी दिएका छन् । पोखरा र लेखनाथ उपत्यका, राजमार्ग र ग्रामिण भेगको सुरक्षा ब्यवस्थालाई थप ब्यवस्थित एवं सुदृढ गराउन बिगत बर्षहरुको अपराधिक घटनाहरुको बिश्लेषण एवं अध्ययनबाट यो बर्ष विशेष सुरक्षा दस्ता खडा गरिएको पालको भनाई छ ।

प्रहरीले कमाण्ड पोष्ट स्थापना गरी विशेष प्रहरी परिचालन गर्ने जनाएको छ । बैंक, वित्तिय क्षेत्र तथा व्यापारिक क्षेत्रमा गस्ती, पैदल गस्ती, ग्रामिण गस्ती, राजमार्ग सुरक्षा गस्ती, साईकल तथा मोटरसाइकल गस्ती, मोवाईल सिआरभी, आकस्मिक चेकजाँच, तथा सदा पोषाकमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्थालाई कडा पार्ने प्रहरीले जनाएको छ । सरकारी तथा गैरसरकारी कार्यालयहरु र शैक्षिक संस्थाहरु दसैं तथा तिहारको अवसरमा लामो समयसम्म बन्द रहने हुँदा ति कार्यालयहरुको सुरक्षा तथा पालो पहराहरु चेकिङ तथा अनुगमनको लागि छुट्टै टोली परिचालन गर्ने प्रहरीले जनाएको छ ।

दसैं तिहारको अवसरमा बजारमा दैनिक उपभोग्य सामानको आपूर्तिमा कमि हुन नदिन कालोबजारीको नियन्त्रण तथा गुणस्तरीय सामानको आपूर्तिलाई सुनिश्चित गराउन स्थानीय प्रशासनसँगको समन्बयमा नापतौल तथा गुणस्तर कार्यालय, उद्योग बाणिज्य संघ लगायतका सरोकारवाला निकायहरुसँग सहकार्य गरी त्यस्ता अवैध कार्यलाई नियन्त्रण गर्ने र यस्ता घटनामा संलग्न व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रहरीले प्रतिवद्धता जनाएको छ । साथै चन्दा, चिठ्ठा, सहयोगको नाममा सर्वसाधरण र ब्यापारीबाट रकम असुल्न सक्ने संभावनालाई मध्यनजर राखी कुनै पनि हालतमा यस्तो कार्य हुन गर्न नदिन बिशेष सुरक्षा योजना बनाउने र यस्तो गर्नेलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउने र चन्दा नदिन र चिठ्ठा बिक्री बितरण नगर्न सार्वजनिक सूचना प्रकाशित गर्ने प्रहरीले जनाएको छ ।
अपराधको नियन्त्रण र घटित अपराधको प्रभावकारी अनुसन्धानको ब्यवस्था मिलाउने, सुरक्षामा खटिने प्रहरी (सादा पोशाकका प्रहरी तथा ट्राफिक प्रहरी) लाई समन्वयात्मक ढंगबाट परिचालन गर्ने, उपलब्ध प्रहरी जनशक्ति र साधनहरुलाई समन्वयात्मक रुपमा परिचालन गरी पोखरा नगर, लेखनाथ नगर र ग्रामिण क्षेत्रहरुको सुरक्षा अवस्थामा ध्यान दिन, चाडपर्वको समयमा सर्वसाधरणहरु भेला हुन सक्ने स्थानहरुको सुरक्षा स्थिती ध्यान दिने लगायतका योजना कास्की प्रहरीले ल्याएको हो ।

न्यूरोड, चिप्लेढुंगा, नयाँबजार, सिद्धार्थचोक, सृजनाचोक, जाल्पारोड, महेन्द्रपुल, भैरवटोल, गणेशटोल, मोहरियाटोल, पस्र्याङ, हरिचोक, बाग्लुङ बसपार्क, बगर, लामाचौर, अमरसिंहचोक, बुद्धचोक, भद्रकाली, बिरेन्द्रचोक, अर्घौंचोक, बुढीबजार, खुदी, तालचोक, बेगनास बसपार्क, गगनगौडा, बिरौटाचोक, रामबजार, हेम्जाको मिलनचोक लगायतका क्षेत्रलाई मुख्य निगरानीमा राख्ने प्रहरीले जनाएको छ ।
आम्बोट, बराहचोक, हल्लनचोक, डिहीकोपाटन, खहरे, खपौदी, गैराकोचौतारा, शान्तिनगर, ६ नं. वडा कार्यालय क्षेत्र, ड्यामसाईट, सराङकोट, डेविड फल्र्स लगायतका क्षेत्रलाई प्रहरीले सुरक्षा योजनामा विशेष चासो दिएको छ । यसैगरी प्रमुख आवसिय क्षेत्र काजीपोखरी, नयाँगाउ, खाल्टे मसिना, कुंडहर, शितलादेवी, तेर्सापट्टी, बाटुलेचौर, बगालेटोल, सिमलचौर, रत्नचोक, अन्नपूर्ण टोल, मालेपाटन, माछापुछ्रे टोल, छोरेपाटन, दिप, फुलवारी लगायतका क्षेत्रमा पनि प्रहरीले विशेष टोली खटाउने भएको छ ।

सुरक्षा सतर्कताको लागि सामुदायिक प्रहरी, सामुदायिक सेवा केन्द्र, आमा समूह, स्थानीय क्लव लगायत बिभिन्न सामाजिक संघ संस्थाहरुसंग समनव्य र सहकार्य गरी बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने प्रहरीले जनाएको छ । बिभिन्न संचारका माध्यमहरुद्दारा अपराधिक प्रवृतिको सम्बन्धमा सर्वसाधरणलाई जानकारी गराई सुरक्षाका उपायहरु अवलम्वन गर्न अनुरोध गर्ने । बिगतमा भएका अपराधिक घटनाहरुको अनुसन्धना गरी फरार अभियुक्तहरु पक्राउ गर्न प्रहरी बिशेष टोली परिचालन गर्ने प्रहरीले विशेष योजनामा राखेको छ ।

दसैं तिहारमा प्रहरीले छुट्टी नपाउने

दसैंतिहारमा प्रहरीले छुट्टी नपाउने भएका छन् । दसैंतिहारमा हुनसक्ने संभावित घटनालाई मध्यनगर गर्दै विशेष सुरक्षा प्रदान गर्नुपर्ने भएपछि प्रहरीले दसैंतिहार विदा नपाउने भएका हुन् । ‘हामीले चाडवाडमा सर्वसाधाराणको सुरक्षा नै मुख्य चुनौती भएका कारण विशेष सुरक्षा योजना ल्याउनुपरेको हो’, कास्की प्रहरी प्रमुख हरिबहादुर पालले भने, ‘प्रहरीलाई नै विदा दिने हो भने सुरक्षा दिन गाह्रो छ ।’ चाडवाडको बेलामा कार्यक्षेत्रमा खटिएर अरुबेला प्रक्रिया अनुसार विदा मिल्ने पालले बताए । तर, पोखरा नजिकै घर हुनेहरुले भने आलोपालो गरी दसैं र तिहारको दिन टिकापाती गरेर फर्कन सक्ने पालले बताए ।

Comments are closed.