चैत १, पोखरा
शुक्रबार मध्यरातमा पोखराको गैह्रापाटनमा एक श्रीमान्ले आफ्नै श्रीमतीलाई घरको तीन तले घरबाट धकेलेर हत्या गरेका छन् ।
कास्कीको रुपाकोट घर भई हाल पोखरामा कालिगढ काम गर्दै आएका ३२ बर्षिय सोमबहादुर परियारले आफ्नी ४२ बर्षिय श्रीमती लक्ष्मीको छतबाट धकेलेर हत्या गरेका हुन् ।
सोमबहादुरले आफु भन्दा १० बर्ष जेठी पोखराको अधिकारी टोलकी लक्ष्मीसँग वि.सं. २०५८ सालमा अन्तरजातिय प्रेम विवाह गरेका थिए । सोमबहादुर पोखराको प्रसिद्ध रुपाकोट सुनचाँदी पसलका संचालक दशरथ सुनारका सहोदर भाइ हुन् ।
घटनाको विवरण अनुसार दुवै श्रीमान श्रीमती रातीसँगै सुतेका थिए । राती करिब एक बजे सोमबहादुरले श्रीमतीलाई गर्मी भयो भन्दै छतमा लिएर गएका थिए । छतमा गएर, धकेलेपछि, उनी फर्केर आफ्नै कोठामा आएर सुतेका थिए ।
पोखरा ४ पराजुली मार्गमा रहेको कमला पंगेनीको घरमा डेरा गरी बस्ने सोमलाललाई लक्ष्मीको शव देखेपछि, तत्कालै कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी समक्ष उनले अपराध कबुल गरेको कास्की प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए ।
उनले अन्तरजातिय विवाह र आफु भन्दा श्रीमतीको उमेर बढी भएका कारण बारम्बार झगडा हुने गरेको बयान दिएका छन् । मृतक लक्ष्मीका दुई छोरी रहेका छन् ।
प्रहरीले सोमबहादुरले हत्या गरेको स्विकारेकाले उनलाई कर्तव्य ज्यान मुद्धा चलाउने बताएपछि, लक्ष्मीको शनिबार नै दाहसंस्कार भएको छ । अभियुक्त सोमबहादुर विरुद्ध लक्ष्मीका भतिजाले कास्की प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
Comments are closed.