यस्तो छ पश्चिमाञ्चलकाे एसएलसी नतिजा, मनाङ र कास्की अब्बल

पोखरा, ६ असार
कास्की जिल्लाले यसपटकको एसएलसी परीक्षामा पनि सबैभन्दा बढी परीक्षार्थी उत्तिर्ण गराई पश्चिमाञ्चलमा आफ्नो साख जोगाउन सफल भएको छ । एसएलसी परीक्षामा उत्तिर्ण हुने जिल्लामध्ये क वर्गमा पर्ने कास्की जिल्ला यसपटक पनि यस क्षेत्रमै अब्बल सावित भएको छ । पश्चिमाञ्चलका १६ जिल्लामध्ये कास्कीमा सबैभन्दा बढी ७१.९ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । यो गएको बर्षको नतिजा भन्दा ३ दशमलव ५ प्रतिशतले बढी हो भने राष्ट्रिय नतिजा भन्दा २४ दशमलव ४७ प्रतिशतले बढी हो । यसैगरी, मनाङबाट ७४ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । मनाङमा विद्यार्थी संख्या कम भएकाले पनि प्रतिशलाई आधार मान्दा धेरै विद्यार्थी उत्तिर्ण भएका हुन् । पश्चिमाञ्चलका सबै जिल्लाहरुको नतिजा यस्तो छ ।

कास्की
कास्कीबाट ७१ दशमलव ९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । कास्कीबाट यसपटकको एसएलसी परीक्षामा नियमिततर्फ विशिष्ठ श्रेणीमा १ हजार १ सय ९८, प्रथम श्रेणीमा ४ हजार २ सय ७, द्धित्तीय श्रेणीमा एक हजार ४ सय ३३ र तृत्तीय श्रेणीमा २९ जना उत्तिर्ण भएका कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिका आचार्यले जानकारी दिए । ३१ जनाको परीक्षा भने रोकिएको छ । पूरकतर्फ भने करिब ३० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका उनले बताए । एक हजार ९४ जना परीक्षामा सहभागी भएकोमा तीन सय ३१ जना उत्तीर्ण भएका छन् । कास्कीबाट नियमिततर्फ प्राविधिक ६२ सहित ९ हजार ५ सय ५८ र एक्जाम्टेड तर्फ एक हजार एक सय ८९ तथा प्राविधिक परीक्षार्थी सहभागि भएका थिए ।

तनहुँ
तनहुँमा ५३ दशमलव ९९ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । जिल्ला शिक्षा कार्यालयले तनहुँले जनाए अनुसार यसबर्ष तनहुँमा गतवर्षको तुलनामा ६ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका हुन् । सहायक जिल्ला शिक्षा अधिकारी सूर्य क्षत्रीका अनुसार ५ हजार ५ सय ३७ जना परीक्षामा सामेल भएकोमा २ हजार ९ सय ८९ विद्यार्थी उत्तीर्ण भए । तनहुँका दुई सामुदायिक विद्यालयको नतिजा भने शून्य आएको छ । घिरीङसुन्धारास्थित महेन्द्रज्योती माध्यमिक विद्यालय र माझकोटस्थित पार्वती माध्यामिक विद्यालयले एकजना पनि परीक्षार्थी उत्तिर्ण गराउन सकेनन् ।

स्याङ्जा
स्याङ्जामा नियमतितर्फ ४३.०८ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् भने पूरकतर्फ १५.३३ प्रतिशत उत्तिर्ण भएका छन् । नियमिततर्फ ६ हजार १ सय ७ जना सहभागि भएकोमा २ हजार ६ सय ३१ जना उत्तिर्ण भएका हुन् ।

पर्वत
पर्वतवाट ४७ दशमलव ८३ प्रतिशत परीक्षार्थी उत्तिर्ण भए । नियमीततर्फ परीक्षामा सहभागि सहभागि २ हजार ८ जना मध्ये १ हजार ४ सय ३९ जना उत्तिर्ण भएका छन् । एक्ज्याम्टेड तर्फ सहभागि १ हजार ७३ जना मध्ये १ सय २९ जना उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ । नियमीत तर्फ विशिष्ट श्रेष्णीमा १ सय २ जना उत्तिर्ण भएका छन् ।

बाग्लुङ्ग
नियमिततर्फबाट बागलुङ ४० दशमलव ३८ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । चैत २ गते लिइएको प्रवेशीका परीक्षामा ५ हजार २९ परीक्षार्थी सहभागि मध्य दुई हजार ३१ जना उत्तिर्ण भएका हुन् ।

गोरखा
गोरखाका २ हजार ६ सय ७० जना उत्तीर्ण भएका छन । सहभागी परीक्षार्थीको संख्यालाई आधार मान्ने हो भने गोरखामा ५७ दशमलव ९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको गोरखाका जिल्ला शिक्षा अधिकारी हरिप्रसाद अर्यालले जानकारी दिए । एसएलसी परीक्षामा गोरखाबाट ४ हजार ४ सय ४६ जना सहभागी भएका थिए ।

लमजुङ
लमजुङबाट ५६ दशमलव २७ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । राष्ट्रिय नतिजा भन्दा यो ९ प्रतिशतले जिल्लाको नतिजा अगाडी रहेको छ । यो नतिजा अघिल्लो बर्षको भन्दा ४ प्रतिशतले बढी हो । २०७० मा लमजुङमा ५२ दशमलव ९६ प्रतिशत उत्तिर्ण भएका थिए । नियमित तर्फ ३ हजार २ सय ७७ जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा १ हजार ८ सय ४४ जना उत्तिर्ण भए ।

मनाङ
हिमाली जिल्ला मनाङका ७४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । मनाङका जिल्ला शिक्षा अधिकारी मित्रलाल गर्तौलाका अनुसार लोकप्रिय उच्च मावि खुल्लातर्फ ६ जनासहित ५८ जनाले परीक्षा दिएकोमा ४३ जना उत्तीर्ण भएका छन् । खुल्लाका सबै अनुत्तीर्ण भएको र खुल्ला नभए प्रतिशत बढ्ने स्थिती रहेको उनले बताए ।

रुपन्देही
रुपन्देहीमा लुम्बिनी अञ्चलबाट सबैभन्दा धेरै विद्यार्थी उत्तिर्ण भएका छन् । जिल्ला शिक्षा कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार रुपन्देहीमा नियमति र एक्जाम्टेड गरी ५९ दशमलव ४२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । परीक्षामा रुपन्देहीबाट नियमित तर्फ १३ हजार ५८ र एक्जामटेड तर्फ १७ सय ४ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

पाल्पा
पाल्पामा नियमित तर्फ ३७ दशमलव ७५ प्रतिशत र एक्जामटेड तर्फ १५ दशमलव ४० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । नियमित तर्फ ४ हजार ६ सय ८ सहभागि मध्ये ८३ जना विशिष्ट श्रेणी, प्रथम श्रेणीमा ७ सय ३७, दोस्रो श्रेणीमा ८ सय ७१ र तेस्रो श्रेणीमा ३२ जना विद्यार्थी उत्तिर्ण भएका छन् ।

अर्घाखाँची
अर्घाखाँचीमा ३८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

नवलपरासी
नवलपरासीमा ५३ प्रतिशत अर्थात ५ हजार ३ सय १६ जना विद्यार्थीहरु उत्तिर्ण भएका छन् । जिल्ला शिक्षा कार्यालयका परीक्षा फाँटका प्रमुख हेमराज अर्यालका अनुसार उत्तिर्ण विद्यार्थीहरुमध्ये विशिष्ठ श्रेणीमा ४ सय १०, प्रथम श्रेणीमा २ हजार ६ सय ८६, द्धितिय श्रेणीमा २ हजार १ सय ५८ र तृतिय श्रेणीमा ६२ जना उत्तिर्ण भए ।

कपिलवस्तु
कपिलवस्तुमा गतबर्षको तुलनामा यसबर्ष परीक्षा उत्तिर्ण हुने विद्यार्थीको संख्या ७ प्रतिशतले वृद्धि भएको छ । जिल्लामा यस बर्ष नियमित तर्फ ३० दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका जिल्ला शिक्षा कार्यलय कपिलवस्तुले जनाएको छ । जिल्लाबाट कुल ५२ सय १२ विद्यार्थीले परीक्षा दिएका थिए । ति मध्ये १६ सय १४ जना विद्यार्थी उत्तिर्ण भए ।

गुल्मी
गुल्मी जिल्लामा ४६ दशमलव ७९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । जिल्लाबाट परिक्षामा सहभागि ४ हजार १ सय ९७ विद्यार्थी मध्ये १ हजार ९ सय ६४ परिक्षार्थी उत्तिण भएका हुन् ।

म्याग्दी
म्याग्दी जिल्लाबाट ६४ दशमलव ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुन सफल भएका छन् । खुला एक र ६५ वटा विद्यालयबाट २ हजार २ सय ३२ जना विद्यार्थीले एसएलसी परिक्षामा सहभागिता जनाएकोमा एक हजार ४ सय ४४ जना उतिर्ण हुन सफल भएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले जानकारी दिए ।

मुस्ताङ्ग
जिल्ला शिक्षा कार्यालयले पठाएको प्राक्टिकलको नम्बर परीक्षा नियन्त्रण कार्यालयको लापर्वाहीका कारण हराउँदा मुस्ताङ जिल्लाको परीक्षाको नतिजा शून्य आएको छ । जिल्लाभरकै नतिजा नआएपछि मुस्ताङका विद्यार्थी र अभिभावक आक्रोशित भएका छन् । एकमात्र परीक्षा केन्द्र रहेको जिल्लाबाट १ सय १७ विद्यार्थी सहभागी भएका थिए ।

Comments are closed.