बागलुङ, चैत २९-
बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा भएको संविधानसभा उप–निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार चम्पा खड्का विजयी भएकी छन्। शनिबार भएको निर्वाचनको आइतबार बिहानदेखि भएको मतगणनाको अन्तिम परिणाममा खड्का १७ हजार १ सय ५४ मत ल्याएर विजयी भएकी हुन् ।
२०७० सालको निर्वाचनमा विजयी सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो । यसपटक विजयी चम्पा खड्का दिवंगत खड्काकी पत्नी हुन् । खड्काकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनकुमारी केसीले १५ हजार ६८ मत ल्याइन् । यस्तै एकीकृत नेकपा माओवादीका कृष्णबहादुर केसीले २५ सय ५ मत ल्याए ।
विद्यूतिय उपकरण मार्फत मतदान भएकाले मतपरिणाम चाँडो सार्वजनिक भएको हो । शनिबार राति अबेरमात्र मतपेटिका बागलुङ सदरमुकाम ल्याइएको थियो। आइतबार बिहान ११ बजेपछि मतगणना सुरु भएको हो ।
७३ प्रतिशत मतदान भएको थियो । कूल ५२ हजार २ सय २ जना मतदाता रहेको क्षेत्रमा करिब ३८ हजार भन्दा बढि मत खसेको निर्वाचन अधिकृत हरिप्रसाद जोशीले जानकारी दिए । १९ गाविस र एक नगरपालिका रहेको बागलुङ क्षेत्र नम्बर १ मा निर्वाचनमा ७० मतदान केन्द्रको व्यवस्था गरिएको थियो ।
Comments are closed.