युआरएल पत्रकारिता पुरस्कार स्थापना

पोखरा, २३ मंसिर। पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले युआरएल पत्रकारिता पुरस्कार स्थापना गरेको छ।युआरएलले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा पुरस्कार स्थापना गरेको हो। आगामी वर्षबाट हरेक वर्ष प्रदेश नं ४ मा स्वास्थ्यसम्बन्धी बिटमा क्रियाशील एक पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिनेछ। पुरस्कारको राशी नगद १५ हजार, ताम्रपत्र र दोसल्ला छ।कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत नाट्या प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले वाङ्मय र स्वास्थ्य क्षेत्रको निकटसम्बन्ध गरेको बताए। उनले पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला स्थापना गरी उच्च स्तरको सेवा दिनु प्रशंसनीय भएको उल्लेख गरे। उनले भने–‘सेवाका साथसाथै पत्रकारिता पुरस्कार स्थापना हुनु निकै राम्रो कुरा हो।’उनले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरू जिम्मेवार र सेवा भावबाट निर्देशित हुनुपर्ने विचार राखे। उनले भने–‘प्राचीनकालमा समेत हिपोक्राटस ओथले स्वास्थ्यकर्मीलाई निर्देशित गरेको थियो। यसले हानी नगर्न र सही उपचारमा जोड दिएको छ।’कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा तारानाथ पौडेलले स्वास्थ्य संस्थाले पारदर्शी भएर सेवा दिनुपर्ने बताए। उनले भने–‘अहिले राज्य कमजोर भएकाले विभिन्न कमाजोरी गर्नेले पनि छुट पाएका छन्, विस्तारै यो क्षेत्र पनि सुधार हुँदै छ।’
कार्यक्रममा युआरएलका निर्देशकसमेत रहेका मेडिकल ल्याबोरेटरीमा सिक्स सिग्मा ब्लाक बेल्ट तथा आइएसओ लिड अडिटर सुशील थापाले गुणस्तरलाई ध्यान दिएर पोखरामा ल्याब स्थापना भएको बताए। उनले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरी भविष्यमा पनि अरु नयाँ परीक्षण थप हुने बताए।वरिष्ठ फिजिसियन डा. मुकुन्दप्रसाद आचार्यले भिटामिन डी लगायतका संवेदनशील परीक्षण पोखरामा नै हुँदा उपचारमा सहज भएको बताए।नेपाल मधुमेही समाज कास्की नेपालका अध्यक्ष कृष्णप्रसाद बरालले निजी क्षेत्रको ल्याबले सामाजिक उत्तरदायित्व वोध गरी निःशुल्क शिविर सचेतना जस्ता कार्यक्रम गर्नु सराहनीय रहको बताए। युआरएलले पोखरा र आसपासमा हालसम्म २७ शिविर गरिसकेको छ। १४ हजार बढीले निःशुल्क शिविरबाट सेवा लिएका छन्।कार्यक्रममा मार्फा थकाली सेवा समितिका पूर्व अध्यक्ष समाजसेवी नरेन्द्र लालचनले पनि बोलेका थिए।प्रालिको वार्षिकोत्सवको अवसरमा हरेक वर्ष पुरस्कार प्रदान गरिने युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए। उनले युआरएलले नाफाको २५ प्रतिशत सामाजिक क्षेत्रमा लगानी गरिएको जानकारी दिँदै यो अवधिमा ६० हजार बढी सेवाग्राहीलाई सेवा दिइसकेको जानकारी दिए।पन्तले युआरएलमा हुने परीक्षण, यसको गुणस्तर, कर्मचारीको दक्षता, प्रयोग भएको प्रविधि र सेवाग्राहीको विश्वासले आफूहरु यहासम्म आएको बताए। उनले भने–‘यी सबै कुराले हामी चार नं प्रदेशको अग्रणी प्रयोगशालामा दर्ज भएका छौं।’युआरएलका निर्देशक दिनेशबाबु खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार ऋषि खतिवडाले गरेका थिए।

Comments are closed.