पश्चिमाञ्चल र पूर्वाञ्चलमा कारोबार ठप्प, थप ३६ जनाको सरुवा, काठमान्डाैँ केन्द्रीत कर्मचारी अान्दाेलन
अमृत सुवेदी/पोखरा ६ भदौ
माछापुच्छ्रे बैंकका ६ कर्मचारी बर्खास्तमा परेका छन् । माछापुच्छ्रे बैंकमा कर्मचारी युनियन गठन गर्न लागेका कर्मचारीहरुलाई बैंकले बर्खास्त गरेको हो । कानुनी प्रक्रिया अनुसार यूनियन गठन गर्न खोज्दा बैंक व्यवस्थापनले ४६ जनालाई सरुवा गरेको भन्दै आन्दोलित कर्मचारी केही दिनअघि मात्र काममा फर्किएका थिए ।
बैंकले नियमित प्रक्रिया अनुसार कर्मचारी सरुवा गर्दा आन्दोलन गरी बैंकको छवि विगारेको भन्दै बैंक व्यवस्थापनले पोखराका ४ र दमौलीका दुई जना कर्मचारीलाई बर्खास्त गरेको हो । देशको सबै ठाउँका कर्मचारीको प्रतिनिधित्व हुने गरी यूनियन गठन गर्न १६ साउनमा भेला गरी २१ गते विकास श्रेष्ठको संयोजकत्वमामाछापुच्छ्रे बैंक कर्मचारी यूनियन तदर्थ समिति गठन भएको थियो । बर्खास्तमा पर्नेपनि तिनै तदर्थ समितिको नेतृत्व गरिरहेकाहरु नै छन् ।
बर्खास्तमा पर्नेहरुमा तदर्थ समिति संयोजक विकास श्रेष्ठ, उपाध्यक्ष शैलेस रायमाझी, महासचिव राजकुमार कार्की, सदस्यहरु विनोदनिधी तिवारी, गणेशराज जोशी र सुरेन्द्र श्रेष्ठ बर्खास्तमा परेका हुन् । जसमा गणेशराज र सुरेन्द्र दमोली शाखामा कार्यरत थिए भने अन्य चार पोखरामा कार्यरत थिए । पहिले ४६ जना कर्मचारीलाई सरुवा गरेको बैंक व्यवस्थापनले अहिले फेरि ३६ जनालाई सरुवा गरेको छ ।
बर्खास्त र सरुवाको विषयलाई लिएर माछापुच्छ्रे बैंकका कर्मचारीले शुक्रबारदेखिनै आन्दोलन थालेका छन् । आन्दोलनका कारण पोखरा लगायत पश्चिमाञ्चलका सबै शाखा र पूर्वाञ्चलका बैंकमा कारोबार ठप्प छ । बैंक व्यवस्थापनले विना जानकारी विहीबार बेलुका ईमेल मार्फत कर्मचारी सरुवाको जानकारी गराएको बर्खास्तमा परेका कर्मचारी यूनियन तदर्थ समिति संयोजक विकास श्रेष्ठले जानकारी दिए । अब काठमान्डाैँ केन्द्रीत अान्दाेलन गर्ने कर्मचारीहरुले बताएका छन् ।
कर्मचारी युनियन तदर्थ समिति गठन भएको भोलिपल्टै व्यवस्थापनले संगठन खोल्न सक्रिय बनेका कर्मचारीलाई छानीछानी अपायक र दुर्गम ठाउँमा सरुवा गरेको भन्दै कर्मचारीले आक्रोस पोखेका थिए ।
‘हामीले तदर्थ समिति गठन गरी कानुनी प्रक्रिया अनुसार दर्ता गर्दै थियौं’ संयोजक श्रेष्ठले भने ‘तर, बैंकले यो थाहा पाएर षड्यन्त्र गरी कर्मचारीलाई ठाउँ, पायक नहेरी बिना जानकारी सरुवा गर्यो । अहिले आएर छानीछानी कर्मचारीलाई बर्खास्त गरेको छ । अब हामी कडा आन्दोलन गर्न बाध्य भएका छौं ।’
शुक्रबारदेखि बैंकको कारोबार ठप्प भएपछि सेवाग्राही मर्कामा परेका छन् । आर्थिक कारोबारका लागि आएका सेवाग्राही त्यतिकै फर्किएका थिए । उनीहरुले बैंकमा तत्काल कोरोबार हुने वातावरण सिर्जना गर्न माग गरेका छन् । तीन बर्ष अगाडी पनि माछापुच्छ्रे बैंकमा कर्मचारी युनियन गठन गर्ने प्रयास भएको थियो । तर, बैंकले युनियन गठन गर्न खोज्ने कर्मचारीको बढुवा तथा सुविधा थपेर युनियन गठन गर्न प्रयासलाई तुहाईदिएको थियो । यसपटक पनि बैंकले युनियन गठन गर्न लागेका जानकारी पाउने वित्तिकै सरुवा गरेको जानकारी पठाएको थियो । अहिले आन्दोलन गर्ने र यूनियन गठन गर्न खोज्ने कर्मचारीलाई सरुवा गरेको हो ।
बैंकले नियमित प्रक्रिया अनुसार सरुवा गरेको भन्दै आन्दोलन रोक्न कर्मचारीलाई गर्दापनि बैंकको छवि विगार्ने गरी काम गरको जनाएको छ । माछापुच्छ्रे बैंकको एउटा शाखाले मात्रै दिनमा ५ सय ग्राहकलाई सेवा दिँदै आएको कर्मचारी नै बताउँछन् । दिनमा एउटा शाखाले मात्रै ५ र ७ करोड रुपैयाँको कारोबार गर्ने गरेको छ । माछापुच्छ्रे बैंकमा ६ सय कर्मचारी कार्यरत छन् । बैंकको इतिहासमै यो पहिलो पटक कारोबार छाडेर कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
Comments are closed.