युवा जनशक्तिलाई स्वदेशमा नै अवसर – मन्त्री थापा

पोखरा, २३ कात्तिक  ः कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले युवा जनशक्तिलाई स्वदेशमा नै विभिन्न अवसरको सिर्जना गर्नु आजको अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ पाटनबेँसीमा चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्घाटन गर्दै उहाँले भन्नुभयो – “अवसरको खोजीमा युवा जनशक्ति वर्षेनी बाहिरिएको वास्तविकतालाई दृष्टिगत गरी सरकारले उद्योगधन्दा र कलकारखानाको विकासका माध्यमबाट उनीहरूको ज्ञान सीप र क्षमतालाई स्वदेशमा नै उपयोग गर्ने गृहकार्यमा जुटेको छ ।”
कास्की क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका मन्त्री थापाले अबको राजनीति विकासका लागि हुनुपर्नेमा जोड दिदैं नेपाली जनताको लामो संघर्षका उपलब्धिस्वरुप प्राप्त लोकतान्त्रिक संविधान र लोकतन्त्र विरुद्ध वाम गठबन्धनका नाममा हुन लागेको षड्यन्त्रप्रति प्रत्येक नेपाली सचेत बन्नुपर्ने बताउनुभयो ।

कास्की निर्वाचन क्षेत्र नं १ प्रदेश (ख) का उम्मेदवार कृष्णबहादुर केसीले पर्यटन, जलविद्युत् र कृषिको आधुनिकीकरणबाट जनताको जीवनस्तर माथि उकास्न सकिने बताउँदै जनताका मर्म र भावनालाई आत्मसात् गरी स्थानीय सम्भावना र आवश्यकताअनुरुप विकासका काम अघि बढाउन आफ्नो उम्मेदवारी भएको स्पष्ट पार्नुभयो ।(रासस)

Comments are closed.