रहेनन् वरिष्ठ तथा जनपक्षीय पत्रकार, शक्ति लम्सालको

२५ कात्तिक, काठमाडौं । वरिष्ठ पत्रकार शक्ति लम्सालको ७९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा उनको निधन भएको हो ।

Sakti-Lamsalगत विहीबार स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि नसा सम्वन्धी रोगबाट पनि पीडित थिए ।

लम्सालको पार्थीव शरिरलार्इ बिहान साढे ८ बजे एमाअाेवादीको पार्टी कायार्लय पेरिसडाँडा कोटेश्वरमा लगिने छ । पेरिसडाँडामा एमाअाेवादी र वैद्य माअोवादीले संयुक्त श्रद्धाञ्जली कार्यक्रम गर्ने भएका छन् ।

को हुन् शक्ति लम्साल ?

विक्रम सम्वत् १९९२ साल चैत १४ गते चारुमती टोल चाबहिल काठमाडौंमा बुबा कृष्णप्रसाद लम्सालका दुई श्रीमतीमध्ये कान्छी श्रीमती राधादेवी लम्सालको कोखबाट उनको जन्म भएको थियो । लम्साल नेपालको वामपन्थी राजनीति, जनपक्षीय पत्रकारिता र प्रगतिवादी समालोचनाका क्षेत्रमा प्रखर, निर्भिक, अविचलित र सम्मानित प्रतिभा मानिन्छन् ।

उनलाई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले पार्टी सदस्यता दिलाएका थिए । पार्टी सदस्यता लिने क्रममा लम्सालले बुढी औंला चिरेर रगतको छाप लगाएका थिए ।

उनी जनादेश साप्ताहिकको सम्पादकसमेत थिए । पत्रकारिताको क्रममा उनी २०२१ सालमै तत्कालीन समयमा भैरहवाबाट प्रकाशित दैनिक निर्णयको सम्पादक, आर्थिक बुलेटिनका रुपमा प्रकाशित हुने योजना पत्रिकाको सम्वाददाता तथा सोही पत्रिका २०३० सालपछि समाचारमूलक बनेपछि त्यसको सम्पादक र प्रकाशक, मशाल पत्रिकाको सम्पादक, डेली डायरीका अध्यक्षसमेत बनेका थिए ।

रुचिले वामपन्थी राजनीति र पेसाले जनपक्षीय पत्रकारिता अँगालेर अगाडि बढेका लम्सालले साहित्यमा विशेषतः समालोचना विधामा कलम चलाएका छन् ।

उनले २०५२ सालमा अखिल नेपाल जनसाँस्कृतिक संघको अध्यक्ष बनेर नेपालको प्रगतिशील साँस्कृतिक आन्दोलनको नेतृत्व गर्नेक्रममा उनले विभिन्न समयमा जेलजीवन समेत व्यतीत गरेका थिए । २०१८ सालमा मोहनविक्रम सिंहसँगै तौलिहवामा १८ महिना जेल जीवन बिताएका थिए भने २०२२ सालमा नवलपरासीको किसान विद्रोहमा सहभागी भएका कारण भैरहवा जेलमा परेका थिए । यस्तै उनी २०४५, २०४६, २०५२, २०५३ र २०५५ साल गरी पटक-पटक गिरफ्तार हुँदै जेल परेका थिए ।

इतिहासका विभिन्न कालखण्डमा अनेकौंपल्ट जेलजीवन र यातना भोग्दै निरन्तर सार्थक परिवर्तनका पक्षमा उभिदै आएका  लम्साल केही समययता भने हिँडडुल गर्न र बोल्नसमेत नसक्ने अवस्थामा आफ्नै घरमा निष्क्रिय जीवन व्यतीत गरिरहेका थिए ।

नेपालीबाहेक अंग्रेजी र हिन्दी भाषामा लेख्न पढ्न सक्ने लम्सालले मूलतः नेपाली भाषामै आफ्ना सिर्जनाहरु सार्वजनिक गरेको देखिन्छ । तत्कालीन समयमा बनारसबाट प्रकाशित हुने दीपक मासिक पत्रिकामा छापिएको स्पुतनिक नानी जून (२०१४) नामक लेख नै उनको प्राप्त पहिलो रचना हो । राजनीति, साहित्य र पत्रकारिताको त्रिकोणात्मक आयामबाट निर्मित शक्ति लम्सालको जीवनी, व्यक्तित्व र कृतित्वबारे कमला सिग्देलले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा शोधपत्र तयार पारेकी छन् ।

Comments are closed.