रहेन्न विजयनाथ !

के, ईश्वर ! मिलनसार, मृदुभाषी र सरलताको डाहाडे छन् ? के असल व्यक्तिको भूलोक जीवन छोटो हुन्छ र ? मंगलबार बिहान सेती नदीको किनारामा भेला भएका शोकाकुल मनहरु एकअर्कासँग यही प्रश्न गर्दै थिए । र, सबै आद्र आँखासहित मौन थिए । पोखरा–११, फूलबारी निवासी बिजयनाथ बाँस्तोलाको असामायीक निधनले स्तब्ध उनीहरु ‘शाश्वत सत्य मृत्यु’लाई पत्याउन सकिरहेका थिएनन् । कहिलेकाँहि मान्छे असम्भव कुराको पनि कल्पना गर्छ । यो मानेमा, विजयनाथ जुरुक्क उठ्लान् र आत्मियतासाथ बोल्लान् कि भन्ने सोच्नु अत्युक्ति थिएन पनि ।
तर, सत्य कटु हुन्छ । विजयनाथ बाँस्तोलाले ५० वर्षकै उमेरमा मंगलबार बिहान साढे ४ बजे आफ्नो नश्वर चोला छोडे र स्वर्गको अनन्तयात्रामा निस्किए । आफै अध्यक्ष रहेको सयपत्री वचत तथा ऋण सहकारीको वार्षिक कार्यक्रम अन्तर्गतको प्रशिक्षण शिविर उनको अन्तिम औपचारिक कार्यक्रम बन्नपुग्यो । गएको शनिबार अचानक हृदयघात भोगेका उनलाई आधुनिक चिकित्साको सबै उपायले पनि जगाउन सकेन । हेलिकोप्टरबाट राजधानीको सुविधासम्पन्न अस्पतालमा पु¥याइए पनि अहँ, उनले आँखा खोलेनन् , ईश्वरले त्यो बाटो नै देखाएनन् । सबै सम्भावनाहरुको अन्त्यसँगै पोखरा फर्काइएसँगै दशदान÷ बैतरणी भयो । प्राणपखेरु फुत्त उड्यो ।
bijaya nath bastolaनैनं छिन्दन्ति शस्त्राणी नैनं दहती पावक ः ।
न चैनं क्लेदयान्त्यापो न शोषयती मारुत ः ।।
भागवत् गीतामा भगवानले कृष्णले भनेकै त छन् नि ! विजयनाथले पनि मात्र नश्वर शरीर छाडे । २०२१ साल पुस २१ गते पिता पण्डित विश्वनाथ र माता रेवती बाँस्तोलाको जेष्ठ सुपुत्रको रुपमा पृथ्वीमा अवतरण गरेका थिए, विजयनाथले । सानैदेखि मिलनसार स्वभावका उनले जीवनको कालखण्डमा पोखराकै तालवाराही र महेन्द्र उच्च माविमा शिक्षण पनि गरे । पछिल्लो समय आफ्नै ब्यवसायमा रमाउँदै गर्दा पनि समाजसेवाकै लागि रेडक्रस, फूलवारी क्लव, एम्नेष्टी इन्टरनेसनल, सामुदायीक सेवा केन्द्र, माटेपानीको आजीवन सदस्य बने । पछिल्लो समय सयपत्री वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षको रुपमा क्रियाशिल बाँस्तोलासँग समाजसेवाकै क्रममा शिवशक्ति क्याम्पसको व्यवस्थापन समितिको उपाध्यक्ष,महाकालेश्वर मार्ग निर्माण उपभोक्ता समितिको पूर्व कोषाध्यक्ष,फूलवारी सिंचाइ उपभोक्ता समितिको सचिव लगायतका पदहरु जोडिन आइपुगे । उनले धार्मिक, सामाजिक,खेलकुद लगायतका सबै क्षेत्रमा आफूसक्दो योगदान दिए । उनको पार्थिव शरीरको मंगलवार नै दाहसंस्कार गरियो । सुपुत्र विश्रान्तले पितालाई दागबत्ति दिए र स्वर्गको अनन्त यात्राको लागि बिदाई गरे ।
‘आँखामा राखे पनि नबिझाउने स्वभाव’ का कारण उनी आफ्नो क्षेत्रमा अत्यन्त लोकप्रिय थिए । उनको परिवारमा पितामातासहित श्रीमति सुशीला , सुपुत्र विश्रान्त , सुपुत्री गार्गी , दिदीहरु शान्ति र लक्ष्मी, भाई रवीन्द्र र बहिनी सारदा रहेका छन् । विजयको महापन्थ गमनसँगै हिमदूत राष्ट्रिय दैनिकका प्रकाशक÷सम्पादक रवीन्द्र बाँस्तोलालाई भातृशोक परेको छ । उनको निधनमा नेपाली काँग्रेस कास्कीका सचिव युवराज कुँवर, सयपत्री वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विश्वराज बाँस्तोला लगायतले शोक विज्ञप्ति जारी गरी दुःख प्रकट गरेका छन् ।

Comments are closed.