११ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको सदस्यचिवमा सुनसरीका केशव विष्टलाई नियुक्त गरेपछि खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको मन्त्री पद धरापमा परेको छ । एमाले अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलको उपस्थितिमा मन्त्री पौडेललाई स्पष्टीकरण सोधिएको छ ।
पार्टीसँग सल्लाह नगरी विवादित व्यक्तिलाई सदस्यसचिव बनाएको भन्दै एमाले पदाधिकारीले मन्त्री पौडेललाई यो निर्णय तत्काल सच्याउन भनेका छन् । निर्णय नसच्याए राजीनामा दिन भनिएको एमालेको एक उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।
निर्णय पनि नसच्याउने र राजनीनामा लागि पनि तयार नहुने हो भने त्यसपछिको परिस्थितिको सामना गर्न एमाले संसदीय दलको कार्यालयमा बोलाएर मन्त्री पौडेललाई एमाले पदाधिकारीले चेतावनी दिएको स्रोतले बतायो ।
मन्त्री पौडेलले यसबारे शनिबार बिहान निर्णय दिने भन्दै समय मागेको बताइएको छ । त्यो समयमा उनले विष्टलाई सचिवबाट हटाउँछन् या आफैंले मन्त्री पदबाट राजीनामा दिन्छन्, त्यो चाँहि स्पष्ट भएको छैन ।
मन्त्री पौडेलले विहीबार राखेपको सदस्य सचिवमा केशव विष्टलाई नियुक्त गरेपछिएमालेभित्र यसले भाँडभैलोको रुप लिएको हो । राखेप सदस्य सचिवका लागि एमालेमा धेरैजना दाबेदार थिए ।
विष्टमाथिको आरोप
नवनियुक्त सदस्य सचिव विष्टमाथि कोरियामा खेलाडी पठाउँदा अनियमितता गरेको आरोप लागेको भन्दै असन्तुष्ट पक्षले उनको विरोध गरेको छ । विष्ट एमालेको खेलकुद विभाग हेर्ने भातृ संगठन खेलकुद महासंघका उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष हुन् । उनी सुनसरीको इटहरी निवासी हुन् ।
महासंघमा अध्यक्ष पौडेल मन्त्री बनेपछि विष्टलाई कार्यबाहक अध्यक्ष बनाइएको थियो । तर, यसअघि मन्त्री पौडेलकै अध्यक्षता बसेको एमाले भातृ संगठन खेलकुद महासंघको बैठकले विष्टलाई फेब्रुअरीसम्म विदेश जान नपाउने गरी कारवाही गरेको थियो ।
मन्त्री पौडेललाई संसदीय दलको कार्यालयमा बोलाएर एमाले नेताले प्रश्न गरे-‘कोरियामा खेलाडी लुकाएको आरोपमा तपाईको आफ्नै अध्यक्षतामा बसेको बैठकले कारवाही गरेको व्यक्तिलाई के आधारमा सदस्यसचिवमा नियुक्त गर्नुभयो ?’
पदभारकै दिन धक्कामुक्की
विहीबार मन्त्रिपरिषदको निर्णयबाट राखेपको सदस्यसचिव बनेका एमाले नेता विष्टमाथि विहीबार खेलकुद मन्त्रालयमै धक्कामुक्की भयो । सदस्य सचिवका अर्का दाबेदार टेण्डी लामा शेर्पाले विष्टमाथि हातपातको प्रयाससमेत गरेका थिए ।
राखेपको उपाध्यक्ष भएकैबेला सुन तस्करीको अभियोग लागेका टेण्डी निलम्बनमा परेका थिए । तर, युवराज लामाको पदावधि सकिएसँगै समितिका १९ मध्ये १७ सदस्यको हस्ताक्षर बोकेर टेण्टी सदस्य सचिवमा दाबा गरिरहेका थिए । सुन तस्करीको अभियोग खेपिरहेका टेण्डी पनि एमालेकै कार्यकर्ता हुन् ।
Comments are closed.