राजनीति छाडेर हाइड्रोतिर लागेका नेता

कास्की, १७ चैत । कास्कीका सूर्यबहादुर केसी पूर्व सभासद् हुन् । पहिलो संविधानसभाको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई समानुपातिकतर्फबाट सभासद् बनायो । उनी राजनीतिक रुपले अहिले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध छन् । तर, आजकल उनको राजनीतिप्रति खासै मोह छैन । उनी यतिबेला राजनीति छाडेर ‘हाइड्रो’तिर लागेका छन् । “म अहिले सक्रिय राजनीतिमा छैन, हाइड्रोतिर लागेको छु”, केसीले भने “देशले चरम ऊर्जा सङ्कट भोगेको बेला नागरिकको हैसियतले विद्युत् उत्पादन गरी देशलाई सेवा गर्न कस्सिएको हुँ ।”

पार्टीको सक्रिय राजनीतिबाट केही समययता टाढा देखिएका उनले सभासद् भएको पाँच वर्षको अवधि आफ्नो जीवनभरको व्यर्थ समय भएको बताए । “सभासद् हुँदाको अवधि उपलब्धिविहीन हुनगयो” उनले भने । अहिले केसीले अन्य लगानीकर्तासँग मिलेर कास्कीमा तीन वटा जलविद्युत् योजना सम्पन्न गरिसकेका छन् । एउटा जलविद्युत योजना निर्माणको अन्तिम चरणमा पुगेको छ । उनको यो अभियानमा पूर्व उद्योग राज्यमन्त्री हरि पाण्डेलगायतले साथ दिएका छन्।

केसीले निर्माण गरेको कास्की जिल्लाको पोखरा उपमहानगरपालिकाको विजयपुर हाइड्रो ४.५ मेगावाट, कास्कीकै मर्दी हाइड्रो ४.८ र टाक्स हाइड्रोबाट १ मेगावाट बिजुली उत्पादन भइरहेको छ । त्यस्तै १३ मेगावाटको सिक्लेस हाइड्रोको काम ७० प्रतिशत सम्पन्न भएको उनले बताए ।  “यो हाइड्रोमा रु दुई अर्ब पाँच करोड लगानी लाग्ने देखिन्छ” केसीले भने । यसैगरी विजयपुर गाविस–२ र लवाङघलेल गाविसको सिदिङमा इदिमर्दी हाइड्रोपावर निर्माण प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए ।  “दुईवटै हाइड्रोपावरको छ महिनापछि काम सुरु हुन्छ” केसीले भने ।

ती परियोजनामा रु दुई अर्ब १५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । विजयपुर–२ बाट ४.५ मेगावाट र इदिमर्दीबाट सात मेगावाट बिजुली निस्कने छ । विजयपुर–२ मा ९५ करोड र इदिमर्दीमा रु एक अर्ब २० करोड लागनी हुने उनको अनुमान छ । केसीले सेती नदीमा समेत तीन वटा हाइड्रोपावर निर्माण गर्ने योजना रहेको सुनाए ।  ठेकेदारीबाट व्यवसाय सुरु गरेका उनले दक्षिण एसियामा नै पहिलो पटक चाउचाउ कम्पनीको स्थापना गरे । रारा ब्रान्डको चाउचाउ अहिले पनि उत्पादन हुँदै आएको छ । रासस

Comments are closed.