राजनीति सुध्रिए देश सुध्रिन्छः सहमहामन्त्री बद्री पाण्डे

पोखरा,

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराले तेह्रौँ वार्षिक साधारण सभाको अवसरमा ‘राज्य, राजनीति र साहित्य’ शीर्षको विचार गोष्ठी आयोजना गरेको छ । नेपाली कांग्रेसका युवा नेता तथा सहमहामन्त्री बद्री पाण्डे प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको उद्घाटनमा विष्णुप्रसाद शर्माले सिर्जनशील कविता वाचन गरेका थिए ।
सहमहामन्त्री पाण्डेले विश्वेश्वरप्रसाद कोइरालाको भनाइलाई कोड गर्दै भनेः धेरै व्यवहारवादी मानिसले उत्कृष्ट काम नगर्न सक्छ, त्यसैले उसमा संवेदनशील भावुकता पनि अन्तर्निहित हुनु आवश्यक छ । राज्य र राजनीतिलाई सही बाटोमा डा¥याउनका लागि मानिसमा तिन तत्त्वको विकास हुनु आवश्यक छ ती हुन् ः नैतिकता, संवेदनशीलता र तर्क । यी तिन तत्त्वमध्ये संवेदनशीलताको घनत्व साहित्यमा ज्यादा रहन्छ भने नैतिकताको घनत्व राजनीतिक नेतृत्वमा बढेर गयो भने राजनीतिमा सुधार आउँछ । राननीतिक चिन्तनमा सुधार आयो भने देशले नै मुहार फेर्छ भन्ने विचार व्यक्त गरे । उनले जनताको मुहारमा खुुुसी र हाँसो जहिलेबाट देखिन्छ राजनीति त्यहिलेबाट सफल हुन्छ भन्दै राजनीतिमा शुद्धीकरणको अभियान सञ्चालन गर्न ढिला भएको विचार प्रस्तुत गरे ।
संस्थाका उपाध्यक्ष सुलोचना खनालले शुभकामना मन्तव्य प्रकट गरेपछि आरम्भ भएको सो कार्यक्रममा प्रा.हुमाकान्त पाण्डे र वेदहरी तिमल्सिनाले शुभकामना दिएका थिए । योगराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन आरुणि आचार्यले गरेका थिए ।

Comments are closed.